अब बन्ने सरकारमा जान राप्रपा र राजपा पनि इच्छुक

0
287

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएलगत्तै नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनको गृहकार्य सुरु गरेको छ। प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने पूर्व सहमतिअनुसार बुधबार राजीनामा दिएसँगै कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठनको तयारीमा जुटेको हो। कांग्रेस नेता रमेश लेखकले राष्ट्रपतिले सरकार गठनको आह्वान गरेलगत्तै छलफल अगाडि बढ्ने बताए। ‘राष्ट्रपतिबाट आह्वान भएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ, उनले भने ‘राष्ट्रिय सहमति जुटे सहमतिको प्रयास हुनेछ नभए बहुमतकै आधारमा प्रक्रिया अघि बढ्छ।’ कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस र माओवादी केन्द्र लगायतको सत्ता गठबन्धनबाटै नयाँ सरकार गठन हुने बताए। आगामी गठबन्धनमा अहिले सरकारमा सहभागी सबै दल कांग्रेस नेतृत्वको सरकारमा रहनेछन्। हाल नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेपाली कांग्रेस, फोरम लोकतान्त्रिक, नेकपा संयुक्त, समाजवादी जनता पार्टी, स्वतन्त्रसहितको गठबन्धन छ।  अब बन्ने कांग्रेस नेतृत्वको सरकारमा राष्ट्रिय जनता पार्टी र राप्रपालाई पनि सरकारमा सहभागी गराउन पहल गरिने कांग्रेसले जनाएको छ। तत्काल मधेसी मोर्चा सरकारमा सहभागी नभए पनि राप्रपा भने सरकारमा सहभागी हुने बढी सम्भावना रहेको कांग्रेसको बुझाइ छ। पहिलो चरणको स्थानीय तह निर्वाचनको परिणामपछि राप्रपाभित्रका केही नेता वर्तमान सत्ता समीकरणको पक्षमा देखिँदै आएका छन्। दलहरुले अब बन्ने गठबन्धनमा कुन कुन दल रहने भन्नेबारे गृहकार्य सुरु गरे पनि मन्त्रालयको विषयमा छलफल भने प्रधानमन्त्री चयन भएपछि मात्र गर्ने जनाएका छन्।

LEAVE A REPLY