अमेरिकामा त्यत्रो १९ वटा सिरियस चार्ज लागेर पनि कसरी सफाइ पाए तेक्वान्दो गुरु शुद्धोदन रञ्जितले?

0
63

पहिला अमेरिकाका टप क्रिमिनल डिफेन्स लयरहरुसित भेट्न खोज्दा टाइम पनि दिँदैन थिए। भेटे पनि अहो, चाइल्ड एब्युज, सेक्सुअल ह्यारेसमेन्टका यति धेरै १९/१९ वटा आरोप ! नो होप भन्दै पन्छिन्थे। अहिले उनीहरु नै यो मुद्दामा मेरो जित कसरी भयो भनी मसित कुरा गर्न खोजिरहेका हुन्छन्। मसित टाइम मागिरहेका हुन्छन्। अनि मलाई मेरा साथीहरुले सल्लाह दिएका छन्- पहिला उनीहरुले भेट्नका लागि मिनेटको कति सय डलर चार्ज लगाउने भन्थे। अब तिमीले उनीहरुलाई चार्ज लिनुपर्छ।

५१ वर्षीय शुद्धोदन रञ्जितले जैसिदेवल छेवैको किलाबहालमा रहेको आफ्नो पुरानो घरको कोठामा हाँस्दै मलाई सुनाए। उनको हाँसो बल्ल खुलेको हो। त्यसअघि एक वर्ष त उनले अमेरिकामा नरकको जस्तो जीवन बिताउनु परेको थियो। यसबारे कुरा गरेर केही फिचर बन्न सक्छ कि भनेर म फोटो खिच्ने साथीलाई लिएर गएको साता त्यहाँ पुगेको थिएँ। त्यसअघि मलाई उनका भान्जा सुमन रञ्जितले यसबारे सबै जानकारी दिइसकेका थिए।

सुमनले नै यसबारे माइसंसारमा ब्लग पनि लेखेका थिए- अमेरिकामा नेपालीलाई यौन दुर्व्यवहारको केस : आरोप लाग्दा सबले समाचार लेख्‍ने, सफाइ पाउँदा लेख्नु पर्दैन? उनको यो ब्लग पढेपछि नै मलाई उनले भोगाइ सुन्न मन लागेको थियो।

झण्डै डेढ घण्टा हामीले कुरा गर्‍यौँ। उनले आफूले भोगेको सबै कुरा बताए। कस्तो फिल्मी कथा जस्तो लाग्ने हामीलाई। तर उनले वास्तविक जीवनमा भोगेका कुरा। उनका कुराहरु समेटेर मैले पहिलोपोस्टमा स्टोरी पनि लेखेँ- ‘अमेरिकामा एक वर्ष नर्क जस्तो जीवन बिताएँ’ : यौन दुर्व्यवहारका १९ आरोप खेपेका नेपालीको कहालिलाग्दो अनुभव।

१५ वर्ष मुनिका तीन किशोरीहरुले उनले यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए। कानुनी रुपमा उनलाई १५ वटा चार्ज लागेको थियो। पछि अर्का दुई आरोपी थपिएपछि कूल १९ वटा चार्ज थियो जसमध्ये एउटामात्रै दोषी साबित भएको भए ७५ महिना जेलमा बस्नुपर्थ्यो।

युएस वर्ल्ड क्लास तेक्वान्दो स्कूलका सञ्चालक शुद्धोदनमाथि लागेका आरोप यो राज्यको ‘मेजर ११’ अपराध भित्र पर्थ्यो। मतलब, न न्यायाधीशले सजाय तोकिएको भन्दा कम दिन सक्ने, न राम्रो व्यवहार देखायो भन्दै घटाउन नै मिल्ने।

१९/१९ वटा चार्ज। सबै गम्भीर। सबै बाल यौन दुराचारका जसमा प्रमाण भन्ने नै हुँदैन। पीडित बालबालिकाको बोली नै प्रमाण हुन्छ। अनि अहिले यौन दुर्व्यवहारविरुद्ध अमेरिकामात्र हैन विश्वमा चलिरहेको लहर। हलिउडमा कत्रा कत्रा धनी कलाकारहरुसमेत जेलमा पर्नुपरेको स्थिति।

कसरी चाहिँ उनले सबै आरोपबाट सफाइ पाए त? मैले देखेका पाँच कारण

१) गर या मरको स्थिति
शुद्धोदनसित अरु केही विकल्प थिएन। अहिले ५१ वर्ष भइसके। एउटा मात्र आरोप प्रमाणित भए पनि उनी ८/१० वर्ष जेल त बस्नै पर्ने हुन्थ्यो। सबै आरोप प्रमाणित भयो भने त झन् जिन्दगी नै जेलभित्रै। त्यसैले उनको लागि आफूलाई डिफेन्ड गर्नुको अर्को विकल्प थिएन। लाइफ एन्ड डेथको सिचुएसन थियो मेरो भनेर उनले मलाई भने। त्यसैले आरोप स्वीकार, सजाय कम हुन्छ भनेर वकीलहरुले भने पनि उनले मानेनन्। यहाँसम्म कि उनकै छोरीले समेत ‘ड्याडी तपाईँ किन जिद्दी गर्नुहुन्छ, वकीलहरुले नै त्यस्तो सल्लाह दिइरहेका छन्’ भन्दा उनले नकारे र साथमा हकारे, अहँ छोरी, मैले केही गलत गरेकै छैन भने म कसरी गल्ती स्वीकार्नु?

‘मलाई पनि थाहा छ ड्याडी तपाईँले त्यसो गर्नुभएको छैन। तर यहाँको नियमै त्यस्तो छ,’ छोरीले भनिन्।

तर उनले मानेनन्। भने, ‘नियम छैन भने नियम बनाउनु पर्‍यो। मैले केही गरेकै थिइनँ। नखाएको विष त लाग्दैन नि।’ उनको लागि गर या मरको स्थिति थियो त्यो। उनी गलेनन्, आत्मविश्वासले साथ दियो। उनलाई पत्नीले पनि एकदमै साथ दिइन्।

२) कमजोर मुद्दा
बाल यौन दुर्व्यवहार गरेको भनी ४ जना किशोरी र एक बालकले उजुरी गरेका थिए। दुई तीन वर्ष पुरानो घटना। पीडितहरुले राम्रोसँग आफूलाई भएको भनिएको आरोपका कुरा भन्नै सकेनन्। ‘भएको कुरा भए पो भन्थे त, सिकाएको कुरा त बच्चाहरुले कति सम्झोस् कति भनोस्’, शुद्धोदनले सुनाए। अनि उनीहरुको साक्षी पनि कमजोरहरु भए। यता शुद्धोदनको पक्षमा उनी राम्रा तेक्वान्दो शिक्षक हुन्, यस्तो व्यवहार गरेको थाहा भएन भनेर साक्षी बक्नेहरु प्रशस्त भए। त्यो पनि प्रतिष्ठितहरु। उनले तेक्वान्दो सिकाएका कतिपय विद्यार्थीहरु अहिले डाक्टर, इन्जिनीयर, पाइलट यहाँसम्म कि गभर्नरसम्म भएका छन्। यसले पनि मुद्दामा प्रभाव पार्‍यो। अर्को पक्षले पीडित भएर हैन, हर्जाना रकम पाउने लोभमा मुद्दा गरेको नियत देखाउन प्रतिवादीहरु सफल भए।

३) अमेरिकाको न्याय प्रणाली
यो स्टोरीमा लागेर नखोज्दासम्म मलाई अमेरिकाको न्याय प्रणालीका बारेमा थाहा थिएन। अमेरिकामा त नेपालमा जस्तो प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले जिल्ला अदालतमा मुद्दा चलाउने र मुद्दामा सुनुवाई गरेर न्यायाधीशले फैसला गर्ने नहुने रहेछ। त्यहाँ प्रहरीको अनुसन्धान हेरेर अपराधमा चार्ज गर्न ठीक हो कि हैन भन्ने निर्णय जुरीले गर्ने रहेछ। जुरीमा नागरिकहरु हुन्छन्। वासिङटन काउन्टीमा बस्ने योग्य अमेरिकी नागरिकहरुबाट छानिएका १२ जना उनको केसमा जुरी बसेका थिए। नागरिकलाई न्याय प्रणालीमा सहभागी गराउने यस्तो व्यवस्था नेपालमा छैन।

यस्तो प्रणाली उनका लागि प्रतिकूल पनि हुनसक्थ्यो। १२ जना जुरीमा ९ जना महिला। तीन जना मात्रै वृद्ध पुरुष। ‘ओह माइ गड’, उनी फेरि अत्तालिएका थिए, ‘महिलाको त महिलाप्रति सिम्प्याथी होला।’ त्यसो त जुरी ट्रायल हुँदा सबै अमेरिकी नागरिक हुने र आप्रवासीहरुप्रति उनीहरु बायस हुने, तिमी जित्दैनौ भनेर उनलाई पहिल्यै हतोत्साही बनाउन खोज्ने धेरै थिए। तर उनले जुरीलाई विश्वस्त बनाउन सके।

४) सत्यको जित
उनको सत्य नै उनको ठूलो हतियार भयो। उनले हैन भनेर ढाँटेनन्। ‘सानो सानो बच्चाहरुको मैले लुगा लगाइदिँदा, बेल्ट बाँध्दा खेरी ती अङ्गहरुमा टच भयो होला,’ उनले ट्रायलमा भनेको सम्झिएर सुनाए, ‘यदि मैले त्यसो गरेको भए पनि ड्याट्स पार्ट अफ माइ जब।’

सरकारी वकिलले उनलाई अँठ्याए- हो कि हैन भनेरमात्र जवाफ दिनुस्। उनले ठूलो स्वरमा प्रतिवाद गरे- ‘म किन हो कि हैन मात्र भनूँ? हो भन्दा पनि त्यसमा केही कारण हुन्छन्, हैन भन्दा पनि कारण हुन्छन्।’ उनको बोल्न सक्ने शक्तिले नै उनलाई डिफेन्ड गर्न सक्ने बनायो। उनी पहिलेदेखि नै यसरी नै बोल्थे।

५) पैसा
त्यसो त कति धेरै पैसा भएकाहरु पनि यस्तो केसमा फँसेका छन्। माइक टाइसनसँग पैसा कम्ता थियो होला र, तर फँसे। तर सामान्य कोही नेपाली भएको भए जति छिटो र जसरी उनले सफाइ पाए, त्यस्तो सम्भव हुन्न थियो। सामान्य भएको भए सरकारले दिने वकीलमा भर पर्नुपर्थ्यो। उनले पर्सनल डिफेन्स लयर हायर गरे। हजारौँ डलर धरौटी तिरेर छुटे दुई पटक। उनले लयरलाई अरु केस नहेर्नु, मेरो छिटो टुङ्ग्याउनु भनेर दबाब दिन सके पैसाकै कारण।

एक उत्तर छोड्न