अलिबाबाको एक दिनको व्यापार : नेपालको वार्षिक बजेटको तीन गुणा

0
91

काठमाडौं : चिनियाँ इकमर्स कम्पनी अलिबाबाले विक्रीमा नयाँ रेकर्ड बनाएको छ। नोभेम्बर ११ का दिन विश्वभर मनाइने ‘सिंगल डे’ अर्थात् ११/११ मा अलिबाबाले करिब ३१ बिलियन अमेरिकी डलर (करिब ३६ खर्ब नेपाली रुपैयाँ) बराबरको सामान विक्री गरेको हो। यो अलिबाबाका स्थानीय पोर्टलहरूसहितको कारोबार हो।

अलिबाबाले नोभेम्बर ११ मा गरेको यो कारोबार नेपालको वार्षिक बजेटको तीन गुणा बढी हो। चालु आर्थिक वर्ष (२०७५/७६)  मा नेपालको बजेट १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ छ।

गत वर्ष नोभेम्बर ११ मा २४ बिलियन अमेरिकी डलर बराबर कारोबार गरेको अलिबाबाले यस वर्ष ७ बिलियन बराबर व्यापार बढाएको हो। अलिबाबाले १० वर्ष अघिदेखि ‘सिंगल डे’ का नाममा यस दिन अनलाइन तथा अफलाइन कारोबार गर्छ।

यो दिन चिनियाँ उपभोक्ताहरूको खर्च मापन गर्ने ब्यारोमिटर भएको खबर फोर्ब्सले छापेको छ। अमेरिका र चीनबीच चर्केको व्यापार युद्धले चिनियाँ अर्थतन्त्र ओरालो लागेको विश्लेषणका बीच अलिबाबाले एकैदिनमा गरेको कारोबारले चीनको बजारबारे अर्कै संकेत गरेको फोर्ब्सले लेखेको छ।

‘चिनियाँ मध्यमवर्गको उदय रोकिनेवाला छैन चाहे व्यापार युद्ध होओस् वा नहोओस्’, अलिबाबाका कार्यकारी उपाध्यक्ष जोय साइले आइतबार कम्पनीको ब्लगमा लेखेका छन्।

७५ देशका १९ हजार ब्रान्डले यसपटकको अनलाइन कारोबारमा सहभागिता जनाएको अलिबाबाले जनाएको छ।

चिनियाँ सिंगल डे अर्थात् ब्याचेलर डे सन् १९९३ मा नान्जिङ विश्वविद्यालयबाट सुरु भएको हो।

विश्वभर प्रेमी वा प्रेमिकासहित भ्यालेन्टाइन्स डे मनााउने चलन चर्चित भइरहेका बेला भ्यालेन्टाइन्स डेको विरोधस्वरुप यो दिन सुरु भएको टेलिग्राफले लेखेको छ।

९० को दशकमा चीनका अन्य विश्वविद्यालयहरूमा पनि यो ठूलै मेलाका रुपमा फैलियो। जोडी नभएको वा आफू एक्लो रहेको खुसियालीसहित मनाउन थालिएको यो दिन अहिले विश्वभर चर्चामा छ जसलाई अलिबाबाले किनमेलसँग जोडेर व्यापार वृद्धि गरेको छ।

एक उत्तर छोड्न