अवतरण : नेपाली कम्युनिष्ट पार्टीको विराट दर्शन

0
78

नेपालमा २००७ सालको आसपासबाट राजनीतिक दलहरूको स्थापना, विकास र विस्तार भएको हो । त्यही समयदेखि नै नेपालको राजनीतिक क्षेत्रमा कम्युनिष्ट पार्टीहरू उदाएका हुन् । त्यसयताको करीब ७ दशकको अवधिमा कम्युनिष्ट पार्टीहरू देशका प्रमुख घटनाहरूको निर्धारक र विभिन्न परिवर्तनका संवाहक बने भने विभिन्न कालखण्डमा भएको राजनीतिक परिवर्तनमा संलग्न हुँदै आए । त्यसकारण पनि कम्युनिष्ट पार्टीहरूलाई किनारा लगाएर नेपाल तथा नेपालको राजनीतिक दलहरूको इतिहास अपुरो हुन्छ ।

त्यही कम्युनिष्ट पार्टीको इतिहास, वर्तमान तथा इतिवृत्तान्त समेटेर लेखिएको पुस्तक हो, अवतरण । शीर्षकको अर्थझैं नेपालको कम्युनिष्ट पार्टीहरूको एकताले कसरी नेपालको राजनीतिक अस्थिरता स्थिरतामा अवतरण भयो, सङ्क्रमणकालीन नेपाली राजनीति सुरक्षित रूपमा अवतरण भयो र कम्युनिष्ट शक्ति फेरि उदाए भन्ने तथ्यलाई पुस्तकले खोतलेको छ ।

सञ्चारकर्मी शुभशङ्कर कँडेलद्वारा लिखित यो पुस्तकमा एमाले र माओवादीबीचको ऐतिहासिक एकतालाई केन्द्रमा राखेर नेपालको कम्युनिष्ट पार्टीको स्थापना, आन्दोलन, विभिन्न समयमा कम्युनिष्ट शक्तिहरूमा देखिएको उतारचढाव, वादविवाद, विभाजन र एकताको आद्योपान्त र सविस्तार उल्लेख गरिएको छ । त्यसकारण नेपालका कम्युनिष्ट पार्टी र तिनका उतारचढावबारे अध्ययन गर्ने इच्छुकहरूका लागि यो पुस्तक अत्यन्त महत्वपूर्ण र सङ्ग्रहणीय बनेको छ ।

पुस्तकको विशेषता भन्नु यसमा बढाइचढाइ नहुनु हो । कम्युनिष्ट इतिहासलाई जस्ताको तस्तै राखिदिनु र लेखकको तर्फबाट व्याख्या विश्लेषण गर्नतर्फ नलाग्नुले पाठकले पुस्तकलाई सन्तुलित पाउँछन् भने पुस्तकमा आएका तथ्यबाट नेपालका कम्युनिष्ट पार्टी र तिनका गतिविधिबारे आफ्नो धारणा बनाउन सक्छन् । नेपालको सशस्त्र विद्रोह र वाम आन्दोलनको विकास, विभाजन, फुट र एकतासम्मलाई पुस्तकले समीक्षा गर्नेभन्दा पनि तथ्यहरूको सार्वजनिकीकरणसहित यथार्थलाई जस्ताको तस्तै पाठकमाझ पस्कने प्रयास गरेको छ ।

अहिले मुलुकको सबैभन्दा चर्चाको शिखरमा कोही छ भने त्यो नेपाल कम्युनिष्ट पार्टी र यसका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् । दुई ठूला कम्युनिष्ट पार्टीलाई ऐतिहासिक एकता गराउन सफल यी दुई नेताको भविष्यमा पनि चर्चा त हुने नै छ, पुस्तकले पनि यी दुई नेतालाई अलि बढी स्थान दिएको छ ।

पछिल्लो समय मुलुकमा सत्ताको गठबन्धनमा कम्युनिष्ट पार्टीहरूको भूमिका महत्त्वपूर्ण देखिएको छ । केही समयअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकताले त विश्व समुदायलाई नै आश्चर्यचकित पारिदिएको थियो । यस्तो घटना नेपालको कम्युनिष्ट इतिहासमा पहिलोपटक भएको हो भने विश्वमा पनि विरलै मात्र यस्तो एकीकरण देख्न सकिन्छ । दुई पार्टीको एकताबाट अहिले मुलुकमा रहेको कम्युनिष्ट दल नेपाल कम्युनिष्ट पार्टी दक्षिण एशियाकै ठूलो र विश्वकै तेस्रो ठूलो कम्युनिष्ट दल बनेको छ । यो शक्तिले अहिले मुलुकको सत्ताको बागडोर सम्हालेको छ भने आगामी धेरै वर्षसम्म सत्ताको वरिपरि रहने निश्चित जस्तै देखिन्छ । त्यस्तो एकता कसरी सम्भव भयो त भन्ने सम्भवतः सबैको चासो विषय हो । एकताको प्रक्रियाका क्रममा दुई पार्टीका अध्यक्षहरूको मनोदशा, तिक्तता, वादविवाद र हार्दिकताका सम्बन्धबारे पनि यस पुस्तकमा मिहीन ढङ्गबाट उल्लेख गरिएको छ । पुस्तकमा उनीहरूको अन्तरवार्तादेखि विभिन्न आलेख छन्, महत्त्वपूर्ण मितितिथि र जानकारीहरू छन् ।

१६ अध्याय र ३ परिशिष्टसहित बृहत् आकारको यो पुस्तक नेपाली कम्युनिष्ट पार्टी र तिनका आयामबारे जानकार हुन चाहने जोसुकैलाई पनि चाखलाग्दो हुन सक्छ । नेपालको कम्युनिष्ट पार्टीहरूको इतिहास, कम्युनिष्ट नेताहरूको गतिविधि, उतारचढाव, एमाले र माओवादी पार्टीको इतिवृत्तान्त बुझ्न चाहने व्यक्तिलाई यो पुस्तक गतिलो खुराक बन्न सक्छ ।

एक उत्तर छोड्न