इन्टरनेटको अत्यधिक प्रयोग : मानसिक स्वास्थ्यका लागि घातक

0
95

इन्टरनेटले अझ विशेषगरी पछिल्लो समय सामाजिक सञ्जालले मानिसलाई धेरै नजिक ल्याएको छ । हामी सामाजिक सञ्जालमार्फत विश्वको कुनै पनि भूभागमा रहेका व्यक्तिसँग सम्पर्कमा रहन सक्छौँ । विश्वका हरेक घटनाका विषयमा अपडेट हुन सक्छौँ । आफ्नो दैनिक जीवनका लागि आवश्यक धेरै जानकारी लिन सक्छौँ । गीत, फिल्म, ई–बुकमार्फत मनोरञ्जन लिन्छौँ ।

इन्टरनेटका यस्ता धेरै सकारात्मक पक्ष छन् । तर, इन्टरनेटको अत्यधिक प्रयोग स्वास्थ्यका लागि घातक छ भन्ने विषय हामीले नजरअन्दाज गर्न मिल्दैन । विशेषगरी, मानसिक स्वास्थ्यमा यसको प्रभाव गहिरो रहन्छ । त्यसैले हामीले सोच्न आवश्यक छ । अत्यधिक रूपमा इन्टरनेट प्रयोग गर्दा हामी सुरक्षित छौँ कि छैनौँ, हाम्रो दिमागलाई सामाजिक सञ्जालले कति आकर्षित गरिरहेकोे छ भन्नेतर्फ विचार पुर्‍याउनुपर्छ ।

आत्मबल
सामाजिक सञ्जालको प्रयोगले हाम्रो आत्मबलमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । हामी असुरक्षा, डर आदि विषयमा सीमित साथी तथा आफन्तसँग मात्रै कुरा गर्न रुचाउँथ्यौँ । तर, आजकल कतिपय कुरा सामाजिक सञ्जालमा पनि पोस्ट गरिरहेका हुन्छौँ । कसैसँगको सम्बन्ध, आफ्नो कमजोरी, गरिरहेको काम आदिको सबैजसो जानकारी फेसबुक या इन्स्टाग्राममा राख्ने बानीले आफ्नो गोपनीयता तोडिरहेका हुन्छौँ । कोपनहेगन विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार अहिले अधिकांश युवावर्ग फेसबुक ईष्र्याबाट पीडित छन् । जसले हाम्रो आत्मबललाई घटाइरहेको छ ।

 मानव सम्बन्ध
मानिस भएको नाताले एक–अर्कासँग सम्बन्धित हुनु, कुराकानी गर्नु, ठूलो सर्कलमा बस्नु एकदमै महत्वपूर्ण छ । तर दुर्भाग्यको कुरा, हामी आयताकार स्क्रिनभित्रको दुनियाँमा कैद भइरहेका छौँ । हामी वास्तविक जीवनभन्दा बढी फेसबुकका साथीहरूमा बढी परिचित छौँ । कतिपय साथीसँग हामी प्रत्यक्ष भेट्दा बोल्दैनौँ, तर सामाजिक सञ्जालमा मज्जाले गफ गरिरहेका हुन्छौँ । यसले हामीलाई समाजबाट छुट्याइरहेको छ । अमेरिकन जर्नल अफ एपिडेमोलोजीमा प्रकाशित एक अध्ययनले समग्रमा ५ हजार २ सय ८ वटा त्यस्ता विषय फेला पारेको थियो, जसको निष्कर्ष फेसबुकको नियमित प्रयोगले मानिसको व्यक्तित्वमा नकारात्मक असर पारिरहेको छ भन्ने छ ।

 सम्झने शक्तिमा ह्रास
सामाजिक सञ्जाल यस्तो क्षेत्र हो, जहाँ संस्मरणका लागि अतीतलाई सुरक्षित राख्न सकिन्छ । तर, सामाजिक सञ्जालमा पोस्ट हुने सबै सामग्री खुसी दिने मात्रै हुँदैनन् । जीवनमा घटेका कतिपय अप्रिय घटनाहरूले पछि गएर नकारात्मक असरसमेत पार्न सक्छन् । त्यस्तै, लामो समय फोनमा बिताउने बानीले स्मरणशक्तिमा पनि ह्रास ल्याइरहेको हुन्छ ।

 निद्रा
हामी मध्यरातसम्म फोनमा झुन्डिरहेका हुन्छौँ । अहिले हरेक समय हामी सामाजिक सञ्जालसँग अपडेट रहन चाहन्छौँ । मोबाइल चलाएर बस्दा दिमागमा अरू कुरा नखेल्ने भएकाले यसले हाम्रै दिमागलाई पूर्ण रूपमा चलाइरहेको हुन्छ । साथै, अबेरसम्म अँध्यारोमा बसेर मोबाइल चलाउँदा यसको प्रकाशले हाम्रो हर्मोनमा असर पारिरहेको हुन्छ । जसले विभिन्न रोग निम्त्याउने सम्भावना रहन्छ ।

 एकाग्रता
सामाजिक सञ्जालमा व्यस्त हुँदा हाम्रो अवचेतन दिमाग पूर्ण रूपमा एकाग्र हुन्छ । जसले अन्य कुरामा ध्यान दिन सक्दैन । यसले सजिलो पहुँचमा मनोरञ्जनको प्रलोभन देखाउँछ । तर, काम गरिरहने मानिसका लागि यो एकदमै हानिकारक हुन्छ । कतिपय मानिसमा मोबाइल चलाएर बस्दा बिस्तारै अरू कुरा बिर्सने हुन सक्छ ।

एक उत्तर छोड्न