उपेन्द्र बोल्दा बालुवाटारमा किन गम्भीर बने प्रचण्ड ?

0
503

काठमाडौ–हिजो प्रधानमन्त्री र मधेशी मोर्चाबीच भएको छलफलमा चर्काचर्कीसँगै केहि गम्भीर कुराकानी पनि भएको खुलेको छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशी मोर्चालाई फकाउने उद्देश्यले सरकार गठन हुनुपूर्व र गठन भइसकपछि माओवादी र मधेशी मोर्चाबीचको सम्बन्धको बारेमा भूमिका बाँध्दै चुनावको मिति घोषणा गर्नमा सहयोग गर्न आग्रह गरेका थिए ।

सो आग्रहपछि एकदुई जना नेताले राय राखेपछि राय राख्ने पालो संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको आयो ।

आफ्नो पालोमा उनी एकछिन अलमलमा परे । र, त्यसपछि भने, प्रचण्डजी तपाईलाई म के भनुँ आज मलाई केही फुरिरहेको छैन, म के भनुँ तपाई नै भन्नुस् ।’
त्यसपछि प्रचण्डले मुस्कुराउँदै भने, ‘चुनावको मिति घोषणा गर्न तयार हुनुस् भन्नुस् ।’
अनि फोरम नेपालका अध्यक्ष यादवले भन्न शुरु गरे ।
उनले भने, संघीयता भनेको शक्ति विकेन्द्रीकरण हो, प्रदेश अथवा राज्यलाई बलियो बनाउनु हो तर भोली तपाईले स्थानीय चुनावको मिति घोषणा गर्नुभयो भने प्रदेश कहाँ बलियो हुन्छ ? स्थानीय तहको चुनाव प्रदेशले गराउनुपर्ने होइन, अनि तपाईले चुनावको मिति घोषणा गर्न किन हतार गर्नुभएको छ ?’
अघि मुस्कुराई रहेका प्रधानमन्त्री प्रचण्ड उपेन्द्र यादवको कुरा सुनेर गम्भीर भए ।
यादवले भने–तपाईले संघीयतालाई आलांकारी बनाउन लाग्नु भएको हो, तपाईले बुझेका संघीयता र हामीले बुझेका संघीयता फरक छैन क्यारे !
त्यति भनेर मात्र उपेन्द्र यादव चुप भएनन् । उनले ‘प्रचण्डजी आज तपाईलाई म अझै केही कुरा भन्छु ’ भने । त्यसपछि उनले भने, ‘२० हजार नेपालीको बलिदानी दिएर सर्वहारा वर्गका लागि तपाईले जनयुद्ध लड्नु भएको होइन ?’ उपेन्द्र यादवले यस्तो प्रश्न गरेपछि प्रचण्ड झन् गम्भीर भएका थिए ।
बैठकमा सहभागि एक नेताले भने, ‘ बैठकमा अरु नेताहरु जोशिएर बोलेका भएपनि उपेन्द्र यादवले निकै गम्भीर भएर कुरा राखेका थिए ।’
एक नेताका अनुसार यादवले प्रचण्डलाई ‘सर्वहारा वर्गका लागि लड्ने तपाईले आज उनीहरु अट्ने काम गरिरहनु भएको छैन, पंचायताकालमा चार–पाँच हजार जनसँख्या भएको गाविसको चुनाव लड्न नसक्ने सर्वहारा वर्गले अहिले ५० हजार जनसँख्या भएको गाउँपालिकाको चुनाव कसरी लड्नसक्छ यो कुरा तपाईले याद गर्नुभएको छ ?’ भनि प्रश्न गरेका थिए ।
‘तपाईले कस्तो सर्वहाराका लागि पार्टी बनाउनु भएको छ,’ प्रचण्डलाई इगिंत गरेर अध्यक्ष यादव भने, ‘संघीयता भनेको घरघर पुग्ने होइन ? गाउँपालिकाको वडा कार्यालय पुग्न सिडियो कार्यालय भन्दा टाढा हुन्छ, ।’
‘सबैले मधेशका कुरा गरे यहाँ तर म पहाडको कुरा गर्छु,’ उनले प्रचण्डलाई भने, ‘एकचोटी पहाडको बारेमा सोच्नुस् त पहिला एउटा गाविस पुग्न पहाडमा दिनभरि लाग्थ्यो अब गाउपालिकाको वडा कार्यालय पुग्न तीन दिन लाग्छ, गाउँपालिकाका कार्यालय कहाँ हो कहाँ, तपाईले कस्तो पुनःसंरचना गर्न लगाउनु भएको हो ? यस्तो निरकुंश त पंचायतकालमा पनि थिएन ।’
त्यसपछि प्रचण्डले गम्भीर रुपमा आफ्नो कुरा राख्दै भनेका थिए । प्रचण्डले भने, स्थानीय पुनःसंरचनाको बारेमा म पनि गम्भीर छु, त्यसको बारेमा सुझाव लिने कुरा भएको छ । आयोगले बुझाएको प्रतिवेदनलाई परिमार्जन गर्ने प्रयास गर्छु ।’

एक उत्तर छोड्न