एक कप चिया

0
1027

 

नेपालका हुनेखाने वर्गदेखि लिएर हुँदा खाने वर्गसम्मको आमचासोको निर्विवाद विषय हो – एक कप चिया । जतिसुकै गरिबीको मार खप्नु परे पनि एक कप तातो चिया पिउन पाउँदा उसले आफूलाई त्यस क्षण भाग्यमानी नै ठान्दछ । त्यसैले सडकमा हात फैलाएर गुजारा गर्नेहरुले समेत दुई छाक भात खान पाए पनि नपाए पनि चियाभने पक्कै पिएकै हुन्छन्् । व्रत, उपवास बसेको बेलामा अरु सबै खानेकुरा बर्जित मानिए पनि चियाभने स्वीकार्य नै हुन्छ । बसिवियाँलो गर्ने देखि लिएर अतिथि सत्कारका लागि समेत अपरिहार्य पदार्थ हो चिया । तर आजको नेपालमा चिया खुलेआम ठगीको माध्यम बन्न गएको छ ।
एक कप चिया तयार गर्न खर्च कति लाग्छ भन्ने कुराको यकिन हिसाव छैन । तर विगतमा एक कप चियाको मूल्य र एक प्रति ताजा गोरखापत्रको मूल्य बराबर थियो ।अर्थात्् १० पैसा कप चिया पिएर १०पैसामै ताजा गोरखापत्र पढेर हुर्केको पुस्ता नेपालमा अझै छन्् । पछि पनि लामो समयसम्म चियाको मूल्य र एक प्रति गोरखापत्रको मूल्य बराबर थियो ।

तर अहिले स्थितिबेग्लै छ । गोरखापत्रभन्दा चिया मूल्यवान बन्नगएको छ । सरकार र बजारभाऊ नियन्त्रण गर्ने जिम्मेवारीमा रहेका निकायहरुको निकम्मापन वा निरिहपनले गर्दा आज अतिनै निम्नस्तरको जीवनयापन गरिरहेका वर्गको समेत प्रमुख आवश्यकता बनेको चिया ठगीको माध्यम बनिरहेको छ । अरु बस्तुको बजार भाउ नियन्त्रण गर्ने हुती नभए पनि कमसेकम्् चियाको मात्र मूल्य भएपनि नियन्त्रण गर्नु अति जरुरी छ, यदि निमुखा जनताप्रति अलिकति भएपनि संवेदनशीलता छ भने । अहिले एक कप चियाको मूल्य न्यूनतम्् पनि रु १५ पर्छ, जबकि ताजा गोरखापत्र वा अन्य राष्ट्रिय दैनिक रु १० मा पाइन्छ ।
यस सन्दर्भमा उदेक लाग्दो अर्को कुरा के पनि छ भने, आजभोलि चिया पसलहरुमा एक कप चिया भनेर अस्वस्थ्यकर प्लास्टिक वा कागजका घुट््के कपमा दिइने गरेको छ । वास्तवमा ती कप आधा कप मात्र हुन्् । चिया पिउने वास्तविक कप त काँचको ग्लासको हुन्छ । तर आजकल त्यस ग्लासमा चिया पिएर चियाको वास्तविक स्वाद र सन्तुष्टि लिन पाइदैन, प्लास्टिक वा कागजका घुट््के कपमै चित्त बुझाउन हामीलाई बाध्य पारिएको छ । एकातिर चियाको मूल्यमा मार अर्कोतिर मात्रामा । यसरी प्रत्येक दिन दोहरो मारमा परेर चियाको चुस्की लिन लाखौं जनता बाध्य छन्् । सधैं ठूला ठूला कुरा मात्रगर्ने ठूलाबढाहरुको यस्ता साना तर आमचासोका कुरामा ध्यान कहिले जाला ?

०००

श्रीरामसिंह बस्नेत

एक उत्तर छोड्न