कञ्चनपुर हत्या प्रकरण : अनुसन्धानमा लापरबाही गर्ने थप दुर्इ प्रहरी निलम्बित

0
111

काठमाडौं, २२ असाेज (ओएनएस) : निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका थप दुर्इ जना प्रहरी निलम्बित भएका छन् । अनुसन्धानमा लापरबाही गर्ने प्रहरी नायव निरीक्षक हर सिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका हुन् ।

प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिको सिफारिसमा उनीहरु निलम्बनमा परेको बताए।

कञ्चनपुरको प्रहरी प्रमुख एसपी कुबेर कडाँयत र प्रहरीका वरिष्ठ अधिकृतहरुको संलग्नतामा दुर्इ वटा उच्च स्तरीय छानविन समितिले समेत कञ्चनपुर हत्या प्रकरणको अनुसन्धान नयाँ शिराबाट सुरु गरेपनि अपराधीविरुद्ध कुनै ठोस प्रमाण फेला पार्न सकेका छैनन्।

भदौ ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको सिफारिस अनुसार यसअघि नै ६ जना प्रहरीलाई निलम्बित गर्ने निर्णय गरेको थियो। निलम्बनमा पर्नेहरूमा एसपी डिल्ली विष्टसहित डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी रहेका छन्।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

एक उत्तर छोड्न