कर्णाली नदीमा राफ्टिङ परीक्षण, नदीको बहावपरीक्षणमा मुख्यामन्त्री शाही आफैं डुङ्गा खियाउँदै

0
80

काठमाडौं, असोज २८ ।  कर्णाली नदीको विस्तृत अध्ययन थालिएको छ । प्रदेश सरकारले नदीमा कहाँ के गर्न सकिन्छ भन्ने विस्तृत अध्ययन थालेको हो । नेपाल नदी संरक्षण मञ्चको विज्ञ टोलीले नेपाल सीमाक्षेत्रभित्र पर्ने कर्णाली नदीको विस्तृत अध्ययन गरिरहेको छ । नेपाल नदी संरक्षण मञ्चका अध्यक्ष मेघ आलेको नेतृत्वमा कर्णालीको अध्ययन गर्न थालिएको हो ।

कर्णाली नदी र त्यसको आसपासका क्षेत्रको सम्भावना समेटेर विस्तृत प्रतिवेदन तयार गर्न अध्ययन थालिएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । ‘कर्णाली नदीमा के सम्भावना हुन सक्छ ? त्यसबाट कर्णाली प्रदेशले कति कमाउन सक्छ ? त्यसको खाका वैज्ञानिकहरूको समूहले दिनेछ,’ उनले भने । विज्ञहरूको समूहले दिएको प्रतिवेदनका आधारमा विकास योजनाहरू तय गरिने मुख्यमन्त्री शाहीले बताए ।

सो टोलीले मानसरोवरबाट अध्ययन सुरु गरेको हो । भारतसँग जोडिएको क्षेत्रसम्म अध्ययन गरिने जनाएको छ । यो क्रममा नदी, जंगल र जडिबुटीलगायतका विषयमा पनि अध्ययन भइरहेको जनाएको छ । त्यस्तै, नदी क्षेत्रका खनिज पदार्थ भएका खानीहरूका बारेमा टोलीले अध्ययन गरिरहेको छ ।

अध्ययनकै क्रममा कर्णाली नदीमा र्‍याफ्टिङको परीक्षण गरिएको छ । माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणस्थल दैलेखको आठबिस नगरपालिकास्थित डाबदेखि तल्लो ढुंगेश्वरसम्म र्‍याफ्टिङ गरिएको थियो । ३० किलोमिटरसम्म र्‍याफ्टिङ गरिएको मञ्चका अध्यक्ष मेघ आलेले बताए ।

र्‍याफ्टिङमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढासहितको टोली पनि पुगेको थियो । मुख्यमन्त्री शाहीको टोलीले अध्ययन गरिरहेको विज्ञटोलीसँग छलफलसमेत गरेको छ ।

कर्णाली नदीको विस्तृत अध्ययन टोलीको नेतृत्व नदी संरक्षण मञ्चका अध्यक्ष मेघ आलेले गरेका छन् । यसमा अमेरिकी भूगर्भविद् करेन वान मिटालगायत चार देशका विज्ञ रहेका छन् । यो टोलीले मानसरोवरबाट अध्ययन सुरु गरेको हो । मध्यक्षेत्रमा पुगेको टोली नेपालको सीमाक्षेत्रसम्म पुग्न अझै १० दिन लाग्ने जनाएको छ ।

LEAVE A REPLY