कांग्रेसको शंकाः एमाले देखाएर चुनाव धकेल्ने, मोर्चा देखाएर संशोधन नगरी सत्ता लम्याउने ?

225
Loading...

नौ–नौ महिना पालै पालो सरकारको नेतृत्व गर्ने सम्झौता गरी गठबन्धन बनाएका सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच दरार उत्पन्न भएको छ । स्थानीय तहको निर्वाचन गरी चैतमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको कुर्सी खाली गरिदिने सम्झौता गरेका प्रधानमन्त्री दाहाल स्थानीय तहको निर्वाचन टारेर सत्ता लम्याउने दिशामा सक्रिय रहेको आशंकापछि दुई सत्तारुढ दलप्रति दरार उत्पन्न भएको हो ।
यसै साता प्रधानमन्त्री दाहालले विराटनगरमा पुगेर पहिले जस्तो आफूले बहकिएर प्रधानमन्त्री पदबाट राजीनामा नदिने र आफू नेतृत्वको सरकारले नै स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन गर्ने घोषणा गरेपछि त्यसको दुई दिन नबित्दै कांग्रेस पदाधिकारी बैठकले स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारसँग माग गर्यो ।
विराटनगरपछि दाहालले धनगढी पुगेर पनि तीनवटै तहको निर्वाचन नगरी सत्ता नछोड्ने स्पष्ट रुपमै उद्घोष गरे । त्यस लगत्तै सोमबार कांग्रेस पदाधिकारी बैठक फेरि बस्यो र निर्णय दोहोर्यायो– स्थानीय तह भए पनि पुरानै स्थानीय निकाय भए पनि निर्वाचनको घोषणा गरिहाल्नु पर्छ । प्रधानमन्त्री दाहाल र कांग्रेस पदाधिकारी बैठकको निर्णयबाट बुझिन्छ– सरकारको नेतृत्व फेर्ने विषय दुई सत्तारुढ दलबीचको संवादमा प्रवेश भइसकेको छ । नत्र तीनवटै तहको निर्वाचन नगरी राजीनामा दिन्न भन्ने प्रधानमन्त्री दाहालको भनाई आउने थिएन । किनभने दाहालसँग अहिले घोषित रुपमा कुनै पनि दलले राजीनामा मागेका छैनन् । प्रमुख प्रतिपक्षी दल एमालेले संविधान संशोधन विधेयक रोक्ने र निर्वाचनको मिति घोषणा गर्ने कुरालाई मात्र आफ्नो मुख्य माग बनाएको छ ।
दाहालले नै चुनाव नचाहेको देउवाको आशंका
सत्तारुढ कांग्रेस–माओवादी र मधेसी मोर्चाबीच मंगलवार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा भएको बैठकमा कांग्रेस सभापति देउवा अत्यन्तै आक्रामक रुपमा प्रस्तुत भएर निर्वाचन घोषणा गर्नु पर्ने पक्षमा उभिए । देउवा यसरी मधेसी मोर्चाका नेताहरुसँग चर्काचर्कीमा प्रस्तुत हुनुको कारण पनि मोर्चा र प्रधानमन्त्री दाहाल मिलेर चुनाव टार्ने र त्यही बाहनामा सत्ता लम्याउने प्रयासमा रहेको आशंका नै हो । ‘अब चुनावका लागि गफ मात्रै गरेर बस्ने समय छैन, चुनाव गर्ने हो भने घोषणा पनि गरिहाल्नु पर्यो, नत्र सरकारको औचित्यमाथि पनि प्रश्न उठ्छ’ देउवा निकट एक नेताले भने, ‘स्थानीय चुनावपछि सत्ता हस्तान्तरणको कोणबाट मात्रै यो कुरालाई बुझ्नु भएन, यथार्थमै चुनाव हुन सकेन भने सरकारको औचित्य पनि सकिन्छ र विस्तारै संविधान पनि असफल हुन्छ ।’
‘एमाले र मोर्चा नदेखाउ’ 
चुनाव गराएर प्रधानमन्त्री फेर्ने कोणबाट भन्दा पनि संविधान कार्यान्वयनको भावनाबाट प्रेरित भएर कांग्रेसको चुनावको कुरा उठाएको उनको भनाई थियो । देउवाको बुझाइमा प्रधानमन्त्री दाहाल चुनावको कुरा गर्दा मोर्चाले नमान्ने र संविधान संशोधनको कुरा गर्दा एमालेले नमान्ने देखाएर केही पनि नगरी सत्ता मात्रै लम्याउने बाटोमा अग्रसर छन् । त्यसैले पनि मंगलवार देउवा मोर्चाका नेतासँग पड्केका हुन् । बिमलेन्द्र निधि बाहेक देउवा निकट कांग्रेसका नेताहरुले प्रधानमन्त्री दाहालले कम्तिमा बाबुराम भट्टराईको नयाँ शक्तिसँग पार्टी एकता नगरी र मधेसी मोर्चासँग कार्यगत एकता गरी चुनावमा जाने वातावरण नमिलाई प्रधानमन्त्री दाहाल चुनावमा जाने पक्षमा नरहेको रिपोर्ट बुझाउने गरेका छन् ।
‘कम्तिमा संविधान कार्यान्वयनको वातावरण बन्छ भनेर कांग्रेसले जोखिमी उठाएर यो गठबन्धन बनाएको हो, नत्र माओवादीलाई बोकेर हिंड्नु पर्ने अवस्था थिएन । तर, प्रधानमन्त्री चुनावको कुरा गर्दा मधेसी मोर्चाले मान्दैन भन्नुहुन्छ र संविधान संशोधनको कुरा गर्दा एमालेले मान्दैन भन्नुहुन्छ’ कांग्रेसका ती नेताले भने, ‘एमाले र मोर्चा देखाएर कांग्रेसले प्रचण्डलाई बोकिरहन सक्दैन ।’ कांग्रेस हाराहारीकै संख्यामा संसदमा उपस्थिति भएको एमालेलाई विश्वासमा लिएर कांग्रेसले हिंड्नु पर्ने चुनाव घोषणा नगरे सरकारको नेतृत्वका विषयमा पनि अव कुरा उठाउनु पर्ने उनले वताए ।
तर, प्रधानमन्त्री दाहाल निकट माओवादी नेता भने कांग्रेसले समस्या समाधानको पहलकदमी नलिई प्रधानमन्त्रीलाई एकोहोरो चुनाव घोषणा गर्न मात्र भन्नु सरकारलाई असहयोग रहेको वताउँछन् । ‘पहलकदमी लिने काम त ठूलो पार्टी भएकाले कांग्रेसको हो तर, सरकारमा साझेदारीको लाभ मात्रै लिने जोखिमी उठाउने र त्यसको नोक्सान माओवादीलाई नै परोस् भन्ने ब्यवहार कांग्रेसको देखियो’ माओवादी नेताले भने, ‘प्रधानमन्त्री एक्लैले गर्ने होइन, जस अपजस समान रुपमा लिन देउवाजी तयार हुनु पर्छ । तर, उहाँमा त्यो देखिएन ।’

 

Loading...

LEAVE A REPLY