काठमाडौँ पठाउने तयारीमा मनाङको आलु

0
189

लमजुङ, असोज २१ गते । हिमाली जिल्ला मनाङका कृषक आलु थन्काउन व्यस्त छन् । गत फागुन–चैतमा आलु रोपेका किसानले यो समय आलु भित्र्याएका हुन् ।
मनाङको प्रमुख बाली नै आलु हो । मनाङमा धान, मकै र कोदो खेती हुँदैन । किसानका अनुसार चामेदेखि तल्लो क्षेत्रमा धेरैले बारीबाट खनेर आलु भित्र्याइसकेका छन् । माथिल्लो भेगमा भित्र्याउने कार्य भइरहेको छ । भित्र्याइएको आलु काठमाडौँसम्म पनि पठाउने गरिन्छ ।चामे गाउँपालिका–३ कोतोका इन्द्रमाया लामा गुरुङले आलु खनेर सकिएकाले थन्काउने चटारो भएको बताउनुभयो । आलु खनेर सकियो । अब सुकाएर भित्र्याउन थालेका छौँ । यो वर्ष राम्रो उत्पादन भएको छ । केही यहीँ बिक्री हुन्छ । केही जिल्लाबाहिर काठमाडौँसम्म पठाउँछौँ र अहिले बाटो खुलेको हामीलाई त्यसै सहज हुने भयो, उहाँले भन्नुभयो । उहाँका अनुसार मनाङसँगै लमजुङको बेंसीसहर बजारमा आलु लगिने गरिएको छ । मनाङको आलु काठमाडौँ पुग्ने गरेको उहाँले बताउनुभयो । केही व्यापारी घरमै लिन पुग्ने गरका छन् । यस वर्ष ४० मुरी आलु उत्पादन भएको उहाँले बताउनुभयो । मनाङमा उत्पादन भएको आलुको प्रति पाथी १४० देखि १५० रुपियाँसम्म बिक्री गरिने गरिएको छ ।
मनाङ ङिस्याङ गाउँपालिका–३, ङावलकी छिङ्ता गुरुङले भदौ अन्तिमदेखि बारीमा लगाइएको आलु खन्न थालिएको बताउनुभयो । अहिले भने सुकाएर पनि बोरामा थन्काएर राखिएको उहाँले बताउनुभयो । आलु खनेर सकियो । थन्काएका छौँ । केही बीउ राख्नका लागि राखेको छौँ, उहाँले भन्नुभयो । माटोमा खाल्डो खनेर आलुको बीउ राख्ने चलन रहेको उहाँले बताउनुभयो । यस वर्ष ४० मुरी आलु उत्पादन भएको उहाँले बताउनुभयो । उहाँका अनुसार उत्पादित अधिकांश नजिकका होटल तथा पर्यटकले लाने गर्छन् । चामे गाउँपालिका–२ थान्चोकका बीन घलेले यस वर्ष ५० मुरी आलु उत्पादन भएको बताउनुभयो । उत्पादन भएको आलु जिल्लामै बिक्री हुने गरेको उहाँले बताउनुभयो । सबै यहीँ बिक्री हुन्छ । व्यापारीले लान्छन् । घुम्न आउनेले पनि किनेर लान्छन् । कर्मचारी बिदामा घर जाँदा स्वादिलो आलु लिएर जाने गरेका छन्, उहाँले भन्नुभयो । उहाँका अनुसार मनाङमा उत्पादन हुने अधिकांश आलु मनाङमै खपत हुने गरेको छ । धेरै उत्पादन गर्नेले भने बेंसीसहर र काठमाडौँसम्म पठाउने गरेका छन् । मनाङको आलु काठमाडौँको तारे होटलसम्म पुग्ने गरेको स्थानीय किसान बताउँछन् । चामे गाउँपालिका–१ तिमाङका मनलाल गुरुङका अनुसार सडक खुलेकाले सवारी साधनमै राखेर बेंसीसहर, काठमाडौँ पठाउने गरिएको छ । बाटोको समस्या छैन । आलु धेरै फलाउनेले बाहिरी जिल्लामा पठाउँछन् । मनाङको आलु सबै ठाउँमा पुग्ने गरेको छ । यहाँको आलुको स्वाद मन पराउने धेरै छन्। उहाँले भन्नुभयो ।
साविक जिल्ला कृषि विकास कार्यालय मनाङका कृषि प्रसार अधिकृत रामकुमार साहका अनुसार मनाङमा आलुको उत्पादन बढ्दै गएको छ । किसान पनि बढ्दै गएका छन् । मनाङमा आर्थिक वर्ष २०७२÷७३ मा ४४५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकोमा सात हजार ६११ टन उत्पादन भएको थियो । आ.व २०७३÷७४ मा ६७५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकोमा आठ हजार २३७ टन आलु उत्पादन भएको थियो । आव २०७४÷७५ मा ६८१ टन क्षेत्रफलमा खेती गरिएकामा आठ हजार ४२० टन आलु उत्पादन भएको थियो ।

एक उत्तर छोड्न