कृषि क्षेत्रमा बैंकहरूको १.५ खर्ब ऋण

0
106

नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बाणिज्य बैंकहरूलाई कूल ऋण लगानीको १० प्रतिशत अनिवार्य कृषि क्षेत्रमा लगानी गर्न निर्देशन दिएको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूले कृषि क्षेत्रमा डेढ खर्ब ऋण प्रवाह गरेका छन् । कृषि क्षेत्रमा ऋण लगानी गर्ने सिमा बढाएपछि बैंकहरूले पनि लगानी बढाउँदै लगेका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको भदौसम्ममा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रमा १ खर्ब ५१ अर्ब ४५ लाख रूपैयाँ लगानी गरेका छन् । गत वर्ष यसै अवधिमा ९१ अर्ब ९० लाख रूपैयाँ लगानी भएकोमा एक वर्षको अवधिमा ६१ अर्ब लगानी थपिएको छ । कृषिलगायत उत्पादनमूलक क्षेत्रमा बैंकको ऋण लगानी बढाउन यस क्षेत्रमा कूल कर्जाको निश्चित प्रतिशत ऋण अनिवार्य दिनुपर्ने राष्ट्र बैंकको नीति छ । यसैगरी व्यावसायिक कृषिमा आकर्षणका कारण पनि लगानी बढेको छ ।
नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बाणिज्य बैंकहरूलाई कूल ऋण लगानीको १० प्रतिशत अनिवार्य कृषि क्षेत्रमा लगानी गर्न निर्देशन दिएको थियो । तर, बैंकहरूले कृषि क्षेत्रमा ऋणको माग नभएको गुनासो गरेपछि १० प्रतिशत लगानी गर्नुपर्ने समयसीमा पुससम्म थपेको छ ।
यसअघि उत्पादनशील क्षेत्रमा २० प्रतिशत र त्यसमध्ये १२ प्रतिशत कृषि र उर्जामा लगानी गर्नुपर्ने व्यवस्था थियो । गत आवको मौद्रिक नीतिमार्फत यसको सिमा बढाएको हो । राष्ट्र बैंकले तोकेको मापदण्ड पु¥याउनका लागि बैंकहरूले कृषि कर्जा बढाउँदै लगेका छन् ।
कृषि क्षेत्रमा लगानी आकर्षित गर्नका लागि सरकारले कृषि कर्जामा ब्याज अनुदानसमेत दिँदै आएको छ । सरकारले दुई वर्षअघिको बजेटमार्फत घोषणा गरी व्यावसायिक कृषि कर्जामा ब्याज अनुदानसमेत दिँदै आएको छ । कृषि व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाबाट ६ प्रतिशतको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । यसैगरी गत आवमा नै केन्द्रीय बैंकले कृषि कर्जाको ब्याजमा अनुदान दिने नीतिसमेत संशोधन गरेको थियो ।
सरकारले सहुलियत ब्याजदरमा कर्जा दिने व्यवस्थाका कारण पनि व्यावसायिक कृषिमा युवाहरूको आकर्षण बढीरहेको छ । पछिल्लो समयमा सरकारी निकायले पनि व्यावसायिक खेतीलाई प्रोत्साहन गर्न विभिन्न प्रकारका अनुदान तथा सहयोग दिने भएकाले पनि व्यावसायिक कृषि बढीरहेको छ ।
बैंकहरूले कृषि क्षेत्रमा गरेको लगानीमध्ये सबैभन्दा बढी पशुपालनमा ५० अर्ब ६५ करोड रूपैयाँ लगानी छ । सरकारले साना किसान बैंकमार्फत मासुजन्य व्यावसायिक पशुपालनका लागि लगानी गरेकाले पनि यस क्षेत्रमा बढी कर्जा देखिएको हो । यसैगरी व्यावसायिक खेतीमा १९ अर्ब ५१ करोड, चिया उत्पादनमा ३ अर्ब, माछापालनमा २ अर्ब र अन्य क्षेत्रमा ७५ अर्ब रहेको राष्ट्र बैंकले जनाएको छ ।

एक उत्तर छोड्न