क्रिकेट खेलाडीले पाए दिनको ६ सय रुपैयाँको दरले एक महिनाको भत्ता

0
434

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्ले नेपाली क्रिकेट खेलाडीलाई दिनको ६ सय रुपैयाँका दरले भत्ता वितरण गरेको छ।

नक्सालमा मंगलबार नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीसँगको अन्तर्क्रिया कार्यक्रममा राखेपले विश्व क्रिकेट लिग च्याम्पियनसिपको बन्द प्रशिक्षणमा रहेका १९ सहित कूल २५ खेलाडीलाई ३१ दिनको भत्ता दिएको हो।

प्रत्येक खेलाडीले १८ हजार ६ सय नगद प्राप्त गरे।

नेतृत्वको दोषका कारण नेपाली क्रिकेटमा समस्या

कार्यक्रममा राखेपका सदस्य–सचिव केशवकुमार विष्टले नेपाली क्रिकेटमा देखिएको समस्यामा खेलाडीको कुनै दोष नभएको बताएका छन्।
‘नेपाली क्रिकेटमा देखिएको समस्या क्रिकेटको नेतृत्व गर्नेहरुको अदुरदर्शिताका कारण हो, यसमा खेलाडीको कुनै दोष छैन,’ विष्टले भने।
उनले क्रिकेटको समस्या समाधान गर्न नेपाल सरकार, खेलकुद मन्त्रालय र परिषद् गम्भीर भएको बताउँदै आईसीसीसँग पनि राम्रो समझदारी बनिरहेको बताए।

सदस्य–सचिव विष्टले खेलाडीका लागि के गर्दा राम्रो हुन्छ त्यसमा परिषद्ले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै आईसीसीको आर्थिक गतिविधि स्पष्ट हुनु पर्नेमा जोड दिए।

विष्टले विश्व क्रिकेट लिगमा सोमबार केन्याविरुद्ध हात पारेको जितका लागि टोलीलाई बधाइ पनि दिए।

प्रशिक्षक जगत टमाटाले क्रिकेटको अन्यौल चाँडोभन्दा चाँडो अन्त्य हुनु पर्नेमा जोड दिए। कप्तान पारस खड्काले क्रिकेटका सम्पूर्ण सरोकारवाला र एडभाइजरी कमिटी एकै ठाउँमा बसेर छलफल गरेर अगाडि बढे उपयुक्त हुने धारणा राखे।

एक उत्तर छोड्न