चन्दलाई प्रहरी प्रमुख बनाउन देउवाले मरिमेट्नुका ४ कारण

0
498

काठमाडौं, तेस्रो वरियताका डीआइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउनु पर्ने कांग्रेस सभापति शेरबहादुर देउवाको अडान अन्ततः सरकारले मान्ने भएको छ । चन्दलाई प्रहरी प्रमुख नियुक्त नगरे सत्ता गठबन्धन नै भत्किने देउवाले चेतावनी दिएपछि बिहीवार नै गृहमन्त्री बिमलेन्द्र निधिले चन्दको नाम सिफरिस गर्ने प्रस्ताव तयार गर्न गृह सचविलाई निर्देशन दिएका छन् ।
प्रहरी प्रमुख कसलाई बनाउने भन्नेमा विवाद रहेकैले बिहीवारको मन्त्रिपरिषद बैठकले यस विषयमा निर्णय गरेको थिएन । पहिलो वरियतामा रहेका डीआइजी नवराज सिलवाललाई पन्छाउँदै तेस्रो वरियतामा रहेका चन्दलाई प्रहरी प्रमुख बनाउन देउवाले निकै ठूलो दवाव दिएका थिए । वरिष्ठता, कार्यसम्पादन र जेष्ठतामा समेत एक नम्बरमा रहेका सिलवाल अव प्रहरी प्रमुख नहुने प्रष्ट भएको छ । त्यस्तै दोस्रो वरियतामा रहेका प्रकाश अर्याल पनि प्रहरी प्रमुख नहुने पक्का भएको छ । तेस्रो वरियतामा रहेका चन्द पनि राम्रो कमाण्ड गर्न सक्ने र तोकिएको जिम्मेवारी निभाउन सफल डीआइजीमा गनिन्छन् ।
सत्ताको प्रमुख साझेदार कांग्रेस सभापति देउवाले पहिलो र दोस्रो वरियताका दाबेदारलाई पन्छाउँदै तेस्रो वरियताका डीआइजी चन्दलाई नै नेपाल प्रहरीको कमाण्ड दिने यति चर्काे दवाव दिनुमा भने चारवटा कारण देखिएका छन् ।
१ क्षेत्रीयता 
कांग्रेस सभापति देउवा सुदूर पश्चिमलाई आधार बनाएर राजनीतिमा उदाएका नेता हुन् । डंडेलधुराका देउवा आफ्नो राजनीतिक आधार क्षेत्रमा आफू बलियो हुन पनि सुदूर पश्चिमको चिनारी भएकालाई प्राथमिकता दिने नेतामा पर्छन् । त्यसमाथि यसपटक डीआइजी चन्दले आफूले मात्र होइन कांग्रेसका सुदूर पश्चिम र मध्यपश्चिमका २१ जिल्लाका पार्टी सभापति मार्फत पनि देउवालाई चर्काे दवाव दिए । यसबीचमा कंग्रेसका २१ जिल्लाका सभापतिहरु लर्काे लागेरै देउवा निवासमा ओहोर दोहोर गरे । उनीहरुको जोड थियो चन्दलाई प्रहरी प्रमुख बनाउनु पर्ने । देउवालाई आफ्नो आधार क्षेत्रका पार्टी कायृकर्ताले दिएको दवावका कारण पनि उनी चन्दको पक्षमा कडा अडान लिनै पर्ने ठाउँमा पुगे । त्यसैले उनले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष चन्दलाई प्रहरी प्रमुख नबनाए सरकार छोड्ने सम्मको चेतावनी दिए भने गृहमन्त्री निधिलाई सरकारबाटै फिर्ता बोलाउनेसम्मको चेतावनी दिए ।


२ जातीयता 
देउवाले चन्दलाई प्रहरी प्रमुख बनाउन सक्रियता देखाउनुको अर्काे मुख्य कारण जातीयता पनि हो । देउवा र चन्द दुवै सुदूर पश्चिमको ठकुरी परिवारका हुन् । ठकुरी परिवारका दुबै ‘बाबु साहेव’हरुले एक अर्कालाई राम्रैसँग सघाउने समझदारी बनाएकाले पनि देउवा चन्दको पक्षमा कडा रुपमा उभिएका हुन् ।
३ बाह्य लाइन 
परम्परा र प्रचलनका आधारमा भन्ने हो भने पहिलो वरियतामा रहेका सिलवाल नै प्रहरी प्रमुख हुने थिए । उनको कार्यमुल्याङ्कन कमजोर रहे दोस्रो वरियताका अर्यालको पालो आउँथ्यो । तर, तेस्रो वरियतामा रहेका चन्दका पक्षमा सत्तारुढ प्रमुख पार्टीका सभापतिले चर्काे अडान लिएपछि उनको पक्षमा माहौल बन्नु स्वभाविक थियो । यसका अलावा केही समयअघि चन्दले भारतको यात्रा गरेका थिए । त्यहाँ उनले को को सँग भेटघाट गरे सो बारे अहिलेसम्म बाहिर केही आइसकेको त छैन तर, उनको त्यो यात्रालाई प्रहरी प्रमुखको नियुक्तिसँग जोडेर हेर्नेहरुको संख्या ठूलो छ । भारत भ्रमणबाट फर्केका चन्दलाई प्रहरी प्रमुख बनाउन कांग्रेस सभापति देउवाले पनि ढुक्कैसाथ लबिङ गरेपछि उनको पक्षमा लाग्न प्रधानमन्त्री र गहमन्त्री बाध्य भएको स्रोतले वताएको छ ।
४ चुनावमा सहयोग गर्ने आश्वासन
कांग्रेस सभापति देउवासँग घरदैलो गर्दा मात्र होइन कांग्रेसका सुदूरपश्चिम  मध्यपश्चिमका सभापतिहरुलाई देउवा निवास बुढानिलकण्ठमा ओइर्याएर दवाव दिंदा पनि चन्दले आगामी चुनावका बेला आफू प्रहरी प्रमुख भए कांग्रेसलाई सघाउने बलियो आश्वासन दिएका थिए । प्रहरी फोर्सले चुनावमा निकै ठूलो प्रभाव पार्न सक्ने पुराना दृष्टान्त सुनाउँदै यतिबेला कांग्रेसलाई त्यस्तै सहयोग नभइ नहुने परिस्थिति आएको पनि वताएका थिए । चन्दले चुनावमा कांग्रेसलाई बलियो सहयोग पुर्याउने आश्वासन दिएकाले पनि देउवा चन्दका पक्षमा मरिमेटेर लागेको चर्चा छ

एक उत्तर छोड्न