चिटिक्क भए तिलोत्तमाका सामुदायिक विद्यालय

0
74

रूपन्देही । तिलोत्तमा नगरपालिकाका सबै सामुदायिक विद्यालयमा एउटै रङ लगाइएको छ । सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारमा जुटेको नगरपालिकाले सबै ४४ ओटा सामुदायिक विद्यालयमा एउटै रङ लगाएको हो ।

आर्थिक वर्ष २०७५/७६ को विनियोजित बजेटअनुसार विद्यालयको स्थलगत अवलोकन र नापजाँचको आधारमा तयार पारिएको लागत इष्टिमेटअनुसार नगरपालिकाले विद्यालयलाई रङरोगनका लागि बजेट उपलब्ध गराएको शिक्षा उपसचिव हरिप्रसाद ज्ञवालीले जानकारी दिए । रङरोगनका लागि १ करोड २९ लाख रुपैयाँ खर्च हुनेछ । भवन तथा आवश्यकता र औचित्यका आधारमा सामुदायिक विद्यालयले न्यूनतम ७५ हजारदेखि बढीमा ६ लाख ८३ हजार रुपैयाँसम्म रङरोगनका लागि बजेट प्राप्त गरेका छन् ।

अधिकांश सामुदायिक विद्यालयमा दशैं–तिहारको बिदामा रङरोगन सकिएको छ भने कतिपयमा चल्दै छ । विद्यालय भवनको भित्तामा गाढा पहेलो र तल किनारमा गाढा रातो कलर कोड प्रयोग गरिएको छ ।

बजेट अभावमा वर्षौंदेखि रङरोगन हुन नसकेका सामुदायिक विद्यालय यतिबेला रङरोगनपछि चिटिक्क देखिएका छन् । सामुदायिक विद्यालयलाई एउटै रङरोगन गरेर एकरूपता दिनेमा तिलोत्तमा यस क्षेत्रकै पहिलो स्थानीय तह बनेको छ । ‘हामीले चालू आर्थिक वर्षलाई सामुदायिक विद्यालयको भौतिक र शैक्षिक सुधार वर्षको रूपमा लिएर विभिन्न कार्यक्रम सञ्चालन गर्दै छौं । रङरोगन पनि यही कार्यक्रमअन्तर्गत भएको हो ।’ नगर प्रमुख वासुदेव घिमिरेले भने, ‘सामुदायिक विद्यालय पनि चिटिक्क/राम्रा हुन्छन् भन्ने सन्देश पनि दिन खोजिएको हो ।’

रङरोगनले विद्यालयलाई आकर्षक देखाएको जनजागृति माध्यामिक विद्यालयका प्रधानाध्यापक टङ्कप्रसाद पौडेलले बताए । रङरोगनपछि विद्यालयमा भौतिक निर्माण र त्यसपछि मण्टेस्सोरी शिक्षा थप प्रभावकारी बनाउन सबै विद्यालयमा शैक्षिक सामग्री उपलब्ध गराउने नगरपालिकाको योजना छ । तिलोत्तमा नगरपालिकाले यो वर्ष दरबन्दी नभएका विद्यालयलाई नगरको तर्फबाट प्रचलित स्केलअनुसार तलब दिनेगरी १३ जना शिक्षक नियुक्त गरेको छ ।

सामुदायिक विद्यालयमा आकर्षण बढाउन नगरपालिकाले सामुदायिक विद्यालयको पूर्वप्राथमिक तह (मण्टेस्सोरी)मा अध्ययनरत सबै र कक्षा पाँचसम्मका अति विपन्न विद्यार्थीलाई खाजा उपलब्ध गराउँदै आएको छ । कक्षा ५ सम्मका सबै विद्यार्थीलाई टिफिन बक्स पनि नगरपालिकाले उपलब्ध गराएको छ ।

सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारले मात्र सबै बालबालिकाको सहज शैक्षिक पहुँच स्थापित हुन्छ भन्ने मान्यताका आधारमा विभिन्न कार्यक्रम अघि सारिएको नगर प्रमुख घिमिरे बताए ।

एक उत्तर छोड्न