चिसो मौसमसँगै आउँदैछ बाथरोग !

0
69

५ मंसिर, काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालका बाथरोग विशेषज्ञ अरुणकुमार गुप्तालाई विरामीहरुको एउटै प्रश्न हुन्छ, ‘के म निको हुन सक्छु ?’ उनको जवाफ हुन्छ- ‘समयमै सही उपचार गरेर यो रोगलाई नियन्त्रणमा राख्ने हो, सधैंका लागि निको पार्न सकिँदैन’ ।

डा. गुप्ताका अनुसार, केही प्रकारका बाथ रोग निको पार्न पनि सकिन्छ । कुष्टरोग, एचआईभी/एड्स जनित ब्याक्टेरिया र भाइरसका कारण हुने बाथ रोग हटाउने उपचार उपलब्ध छ, तर धेरैजसो बाथ शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएका कारण शरीरलाई नै हानी गर्ने ‘अटो एन्टी बडिज’ का कारण हुन्छ ।

‘अटो एन्टी बडिज’ले शरीरलाई दुर्बल बनाउँदै लैजाने हुँदा त्यसले लगाउने रोगलाई पूर्ण रुपमा निर्मूल पार्न सकिँदैन, नियन्त्रणमा मात्र राख्न सकिन्छ ।

के हो बाथ रोग ? कसरी गर्ने पहिचान ?

डा. गुप्ताका अनुसार बाथ रोग एक प्राणघातक रोग हो । यो हातखुट्टाका जोर्नी, नशा, मासंपेशी, मुटुबाट उब्जिन्छ । बाथ रोग लाग्दा मुटु, नशा, आँखा, हड्डी र मांसपेशी दुख्छ । त्यसैले, बाथलाई ‘दुखाइको रोग’ पनि भन्ने गरिन्छ । बाथलाई आर्थराइटिस् र गठिया रोग पनि भनिन्छ ।

नवजात शिशुदेखि ८० वर्षका वृद्धवृद्धासम्मलाई लाग्न सक्ने यो रोग सयौं किसिमका हुन्छन् । तिनमा हड्डी खिइएर, मांसपेशीलाई असर गरेर, छालाको रोगबाट उत्पन्न हुने बाथ, आँखालाई असर गरेर हुने बाथ प्रमुख हुन् ।

दुखाइबाट हुने बाथ रोगको पहिचानका लागि लक्षण पत्ता लगाउन जरुरी हुन्छ । हरेक बाथको आ-आˆनै लक्षण हुन्छ । डा. गुप्ताका अनुसार, उकालो-ओरालो गर्दा, बस्दा, उठ्दा हातखुट्टाका जोर्नी, मांसपेशी, नशा लगायतका शरीरका विभिन्न भाग निरन्तर रुपमा दुख्छ । दुखाई क्रमशः बढ्दै गए बाथ रोग भएको आंशका गर्न सकिन्छ ।

त्यस्तै, हात चिसो पानी राख्दा औला सेतो, नीलो वा रातो भए, दुवै हालत पालैपालो दुख्न थाले, दुखाइ असहनीय हुँदै गए, सुन्निए वा मुठ्ठी कस्न समस्या भए बाथ रोगको आंशका गर्नुपर्छ । कहिलेकाहीँ चोटपटक, व्यायाम लगायतका कारण शरीरका विभिन्न भाग दुख्छ । मेकानिकल भनिने यस्ता दुखाई केही घण्टादेखि केही सातासम्म रहन्छ । यस्ता दुखाई साधारण दुखाई अन्तर्गत पर्ने हुँदा यस्तो दुखाइलाई छुट्याएर बाथ रोग पहिचान गर्नुपर्छ ।

बाथको जोखिम समय

सामान्यतः बाथ रोगको प्रकोप जाडोयाम अर्थात अक्टोबरदेखि जनवरीसम्म बढी हुन्छ । जाडोयाममा प्रोटिनयुक्त खानेकुरा र मदिराको समेत अधिक उपभोग हुने गर्छ । जसबाट शरीरको तौल वृद्वि र प्रोटिनको मात्रा उच्च हुन्छ । शरीरमा प्रोटिनको मात्रा धेरै हुँदा गाउटी आर्थराइटिस् (यूरिक एसिडका कारण हुने बाथ)को जोखिम बढ्छ । डा. गुप्ता भन्छन्, ‘यसबाट बच्ने उपाय भनेको जाडो याममा रातो मासु र मदिराबाट जोगिनु हो ।’

त्यसबाहेक, जाडो याममा नशा खुम्चिएर रक्तप्रवाह कम हुने, मांसपेशी खुम्चिने लगायतको समस्या हुने गर्छ । त्यसबाट पनि शरीरमा अत्यधीक पीडा हुन्छ । अस्पताल आउनेमध्ये झण्डै ८० प्रतिशत बाथका विरामीलाई जाडोमा धेरै गाह्रो भएको पाइएको छ । त्यसैले जाडोमा न्यानो कपडा नछाड्न, चिसोमा नहिँड्न, खानपानमा ध्यान दिन र नियमित व्यायाम गर्न डा. गुप्ताको सुझाव छ ।

उनका अनुसार, बाथले हड्डीलाई जाम काम गर्छ । त्यसैले बाथका रोगीलाई व्यायाम लगायतका नियमित शारीरीक गतिविधि बढी आवश्यक पर्छ ।

खानपानमा होसियार

मोटोपना, मधुमेह, उच्च रक्तचाप, रक्तअल्पता लगायतका कारण बाथ भएका व्यक्तिले रोग अनुसारको डाइटको साथमा बाथको लागि नर्मल डाइट लिनुपर्छ । युरिक एसिडका कारण बाथ भएकाहरुले प्रोटिनयुक्त खानाबाट जोगिनुपर्छ ।

सबै प्रकारका बाथका बिरामीलाई शरीरमा पोषण पुर्‍याउने माछा, कुखुरालगायतको मासुको परिकार खान तर, रातो मासु घटाउँन डा. गुप्ताको सल्लाह छ । ‘गेडागुडीमा धेरै प्रोटिन हुन्छ’, उनी भन्छन्, ‘त्यसकारण, युरिक एसिडका विरामीहरुले चाहिँ गेडागुडीको परिकार नखानु नै बेस् ।’

सामान्य व्यक्तिमा बाथको स्तर

सामान्य व्यक्तिमा बाथको स्तर ५ देखि ७ आईयू प्रति एमएल (इन्टरनेशल युनिट प्रतिमिलिलिटर) लाई मानिन्छ । युरिक एसिडको मात्र १४ आयो, तर बाथको लक्षण केही देखिएन भने उपचारको खासै आवश्यकता पर्दैन । युरिक एसिडको स्तर तलमाथि हुँनुसँग बाथ रोगको खासै सम्बन्ध हुँदैन । कुनै खालको दुखाइ भएमा सामान्य रगत जाँच, विभिन्न एन्टीबडिज परीक्षण र एमआरआई गरेर बाथको पहिचान गरिन्छ ।

परीक्षणबाट बाथ भएको पत्ता लाग्दा विरामीहरुको एउटैमात्र जिज्ञासा हुन्छ- ‘डाक्टर साहेब, म निको हुन्छु त ? कति वर्ष जति औषधी खानुपर्छ ?’

यस्तोबेला विरामीलाई उपचार भन्दा काउन्सिलिङ्ग बढी आवश्यक हुने डा. गुप्ता बताउँछन् । उनीहरुलाई पछिसम्म हेरेर उपचार गर्नुपर्ने भएकाले सबैभन्दा पहिले राम्रो काउन्सिलिङ्ग जरुरत पर्छ । ‘त्यसैले हामी काउन्सिलिङ्गकै क्रममा भन्छौं- यो रोग निमिट्यान्न हुँदैन, नियन्त्रण गर्नुपर्छ’, डा. गुप्ता भन्छन्, ‘मुटु, मिर्गौला, फोक्सो, कलेजो लगायतका अंगहरुलाई बाथको असरबाट जोगाउन पनि यसलाई नियन्त्रणमा राख्नैपर्छ ।’

नेपालमा बाथ रोगीको अवस्था र डा. गुप्ताको अनुभव

नेपालमा बाथ रोगीको यकिन तथ्यांक छैन । जति बिरामी अस्पताल पुगेका छन्, उनीहरु ढिलो पुगेका छन् । कति बिरामी हातखुट्टा बाङ्गएिपछि, कुजो भएपछि त कतिपय आईसीयूमा राख्नुपर्ने अवस्थामा अस्पताल पुग्नुे नेपालमा बाथ रोगबारे जनचेतना पनि कम छ भन्ने देखाउँछ । गत १२ वर्षदेखि बाथरोगको उपचारमा विशेषज्ञ सेवा पुर्‍याउँदै आएका डा. गुप्ता नेपालमा पहिला त बाथरोग सम्बन्धि जनचेतना अभिवृद्धि नै अत्यावश्यक देख्छन् ।

उनी इन्टरनल मेडिसिन र क्लिनिकल इम्युनोलोजीका एमडी हुन् । बंगलादेशमा इन्टरनल मेडिसिनमा एमडि गरेर नेपाल फर्किर्एर प्राक्टिस थालेकै बेला उनकी आमालाईं बाथ रोग भयो । आमालाई नेपाल र भारतका विभिन्न अस्पताल दौडाउने क्रममा डा. गुप्तालाई आफैं बाथ रोग विशेषज्ञ बनेर आमाको उपचार गर्छु भन्ने लाग्यो ।

र, उनी लागे भारतको सञ्जय गान्धी मेडिकल इन्टिच्यूट अफ मेडिकल साइन्स (भारत) तिर, क्लिनिकल इम्युनोलोजी (र्‍ह्यूम्याटोलोजी) मा एमडी गर्न । उनको पहिलो बिरामी आमा नै हुने निश्चितै थियो । उनले उपचार थालेको केहि केही महिनामै आमाको स्वास्थ्यमा उल्लेख्य सुधार देखियो । ‘सुन्निनु र दुखाइसँगै फोक्सो र मृगौलाको संक्रमण क्रमश घट्दै गयो’, डा गुप्ता भन्छन्, ‘अहिले उहाँ सामान्य व्यक्ति सरह हिँड्डुल गर्न सक्नुहुन्छ ।’

नेपालमा कोही पनि बाथ रोगी उपचार अभावमा बस्न नपरोस् भन्ने उनको व्यक्तिगत चाहना छ । त्यसका लागि पहिले यो रोगबारे जनचेतना आवश्यक छ । त्यसका लागि डा. गुप्ता दुर्गम जिल्लाहरुमा स्वास्थ्य शिविर चलाउने अभियानमा पनि संलग्न छन् ।

एक उत्तर छोड्न