छक्का पन्जा–३ कमेडी विथ कन्टेन्ट

0
245

व्यावसायिक रूपमा सफल फिल्म छक्का पन्जाको तेस्रो सिक्वेल छक्का पन्जा–३ प्रदर्शनको नजिक आइपुगेको छ । घटस्थापनादेखि प्रदर्शनमा आउन लागेको फिल्मबारे दर्शकमाझ चर्चा र चासो बढेको छ । विगतमा झैँ छक्का पन्जा–३ निर्माण युनिट दर्शक जागरणमा लागेको छ । दीपाश्री निरौलाको निर्देशनमा दीपकराज गिरी, दीपाश्री आफैँ, जितु नेपाल, केदार घिमिरेलगायतको संयुक्त लगानीमा बनेको फिल्मले व्यावसायिक रेकर्ड तोड्ने आकलन गरिएको छ ।

‘व्यावसायिक रेकर्ड तोड्ला, नतोड्ला, तर दर्शकको मन भने अवश्य जित्नेछ,’ निर्देशक दीपाश्री मात्र होइन, छक्का पन्जा–३ को पूरै युनिटको एउटै स्वर छ, ‘विगतका फिल्ममा केही कमी–कमजोरी थिए। त्यसलाई मनन गरेर सुन्दर फिल्म बनाएका छौँ । यसपटक अझ सफल हुनेमा विश्वस्त छौँ ।’ फिल्मको प्रमोसनमा खटिएकी निर्देशक दीपाश्री तथा प्रमुख अभिनेता दीपकराज गिरी, केदार घिमिरे र अभिनेत्री दीपिका प्रसार्इंसँग नयाँ पत्रिकाका लक्ष्मण सुवेदीले फिल्मकेन्द्रित कुराकानी गरेका छन्:

हास्यव्यंग्य मात्रै होइन: दीपकराज गिरी, अभिनेता/निर्माता

अघिल्ला फिल्ममा भएका कमी–कमजोरीबाट सिकेर, सुधार गरेर छक्का पन्जा–३ बनाएका छौँ । हामीलाई विगतमा भन्दा यसपालि हरेक कुराबाट चुनौती छ । कतिपयले सधैँ हाँसो–मजाकमा मात्र केन्द्रित हुन्छन् भन्ने आरोप छक्का पन्जा टिमलाई लगाउने गरेका छन् ।

हुन त विगतका फिल्ममा पनि हामीले नेपाली समाजकै विषयलाई उठान गरेका थियौँ । तर, यसपालि अलि फरक छ । विगतमा हामीले हाँसो, मनोरञ्जनलाई मुख्य केन्द्रमा राख्यौँ । तर, छक्का पन्जा–३ मा भने मनोरञ्जनका साथै शिक्षा क्षेत्रको विकृति–विसंगतिलाई उठाएका छौँ ।

शिक्षाजस्तो अपरिहार्य विषयमा कतिसम्म राजनीति, चलखेल र हेलचेक्रायाइँ हुन्छ भन्ने कुरालाई प्रस्तुत गर्ने कोसिस गरेका छौँ। छक्का पन्जा–३ फुल कमेडी फिल्म होइन । यसमा गहन विषय र सन्देश समेटिएको छ ।

हामीले उत्कृष्ट फिल्म बनाउने कोसिस गरेका छाैँ । त्यसअनुसार मिहिनेत पनि गरेका छौँ । विगतमा झैँ दर्शकको अपार माया पाउने आशा छ । फिल्मले विगतका व्यावसायिक रेकर्ड तोड्ला–नतोड्ला, तर यसपालि दर्शकको सन्तुष्टिको रेकर्डचाहिँ अवश्य ब्रेक गर्नेछ । हामी व्यवसायको रेकर्डभन्दा पनि दर्शकले हामीप्रति राखेको आशाको रेकर्ड तोडोस् भन्ने पक्षमा छौँ ।

फिल्ममा म छक्का पन्जाका दुईटा सिरिजको जस्तै राजाको भूमिकामा छु । मेरो साथमा केदार, जितु, बुद्धि सबै ग्याङै छन् । यसपालि हाम्रो फिल्ममा प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्कालगायत कलाकार अतिथि भूमिकामा हुनुहुन्छ । हामी जो–जो मुख्य भूमिकामा छौँ, पोस्टरमा पनि उनीहरूलाई मात्रै प्रस्तुत गरेका छाैँ । कतिपयले हामीलाई सधैँ छक्का पन्जाको ब्रान्ड बेचिराख्छन् भन्ने आरोप लगाउने गरेका छन् । त्यसैले यसपछि हामी छक्का पन्जा–४ बनाउने छैनौँ । हामी अरू नै नाम र विषयमा फिल्म बनाउने योजनामा छौँ ।

चुनौती बोध भएको छ: दीपाश्री निरौला, निर्देशक/अभिनेत्री

अहिले हामी छक्का पन्जा–३ को प्रमोसनमा छाैँ । प्रदर्शन मिति जति नजिकिँदै छ, हामी त्यति नै रफ्तारमा प्रचारमा जुटेका छौँ । छक्का पन्जा ब्रान्ड त्यसै चलेको होइन, यसमा हाम्रो मिहिनेत लागेको छ । पहिलोमा भन्दा दोस्रो र दोस्रोभन्दा तेस्रोमा अझ धेरै चुनौती बोध भएको छ ।

दर्शकले हाम्रो फिल्मबाट धेरै आशा राख्नुहुन्छ, त्यसलाई साकार पार्न हामीले मिहिनेतमा कन्जुस्याइँ गरेका छैनाैँ । विगतका फिल्ममा हामीले कमेडीलाई केन्द्रमा राख्ने गरेका थियौँ । ट्रेलरमा पनि कमेडी दृश्य, संवादलाई मात्र प्रस्तुत गरेका थियौँ । तर, यसपालि हामी ‘कमेडी विथ कन्टेन्ट’मा गएका छौँ ।

हुन त हामीले हाम्रा विगतका फिल्ममा पनि नेपाली समाजकै विषय उठाउने गरेका थियाैँ । तर, त्यो कुरा ट्रेलरमा खुलाउँदैनथ्याैँ । यसपालि ट्रेलरमै फिल्मको मुख्य विषय खुलाएका छौँ । दर्शकले फिल्मको विषयवस्तु नखुलाएको गुनासो गरेको पाएपछि त्यसो गरेका हौँ । यसपालि कन्टेन्ट पनि खुलाएका छौँ ।

एकजना मात्रको पहलले फिल्म राम्रो बन्दैन । यो टिमवर्क हो । पूरै टिमको मिहिनेतले नै सुन्दर सिर्जना जन्मिन्छ । कुनै पनि काममा पागलपन भएन भने त्यसमा सफलता हासिल गर्न मुस्किल पर्छ । हाम्रो काममा हामी पागल भएर लाग्ने गरेका छौँ । त्यसैले दर्शकको साथ पाउनेमा विश्वस्त छाैँ ।

ब्रान्ड हो, भइहाल्छ भनेर हात बाँधेर बस्ने गर्दैनौँ । आफ्नो तर्फबाट शतप्रतिशत कोसिस गर्न कन्जुस्याइँ गर्दैनौँ । छक्का पन्जा–३मा हाम्रो निकै मिहिनेत लागेको छ । हाम्रो फिल्मको पहिलो गीत पहिलो नम्बरले सार्वजनिक भएको ३७औँ दिनमै करोड बढी भ्यु पायो । त्यसले हामीलाई थप उत्साहित बनायो । त्यसपछि आएको दोस्रो गीत पछि उमेर ढल्किन्छले पनि तारिफ पाएको छ ।

ट्रेलर आएपछि त झन् सर्वत्र चर्चा छाएको छ । व्यावसायिक रूपले मात्र होइन, विषयवस्तुका हिसाबले पनि यसपालि हामी थप सफल हुने विश्वास छ । दर्शकले दुई घन्टा २० मिनेट पूर्ण मनोरञ्जनका साथै समाजोपयोगी सन्देश ग्रहण गर्नुहुनेछ ।

माया पाउने विश्वास : दीपिका प्रसार्इं, अभिनेत्री

छक्का पन्जाजस्तो चर्चित टिमसँग काम गर्न पाउनु मेरा लागि भाग्यको कुरा हो । दोस्रो फिल्ममै मैले यत्तिको ठूलो ब्यानर र कलाकारसँग काम गर्न पाएँ, खुसी छु । फिल्ममा म एजुकेसन सिस्टमलाई बदल्ने अहम् पात्रको भूमिकामा छु । जुन भूमिका मेरो लागि निकै चुनौतीपूर्ण छ ।

दर्शकले जसरी मलाई पहिलो फिल्म ऐश्वर्याबाट ‘एप्रिसिएट’ गर्नुभयो, दोस्रो फिल्म छक्का पन्जा–३ बाट अझ धेरै माया दिनुहुनेछ भन्ने आशामा छु ।छक्का पन्जा टिमसँग पहिला कहिल्यै काम नगरेकाले सुरुका केही दिन भने मलाई अलि अप्ठ्यारो महसुस भएको थियो ।

तर, पछि त सबै कुरा सहज भएर आयो । महिला निर्देशक भएकाले पनि होला, मलाई निकै सजिलो भयो । एउटै घरको सदस्यझैँ हाँसी–हाँसी काम गर्‍यौँ । फिल्ममा सबै को–आर्टिस्ट मभन्दा सिनियर हुनुहुन्छ । त्यसकारण उहाँहरूबाट धेरै कुरा सिक्ने मौका पाएँ ।

नयाँ भएकाले मलाई धेरै कुरा थाहा छैन । तर, यो फिल्मबाट मैले आफूलाई अझ निखार्ने मौका पाएकी छु । दीपकराज, जितु, केदार, बुद्धिजस्ता दाइहरू र दीपा दिदीले मलाई सहयोग गर्नुभयो ।

मैले जुन भूमिका पाएकी छु, त्यसलाई शतप्रतिशत न्याय गर्ने कोसिस गरेकी छु । कतिपयले सिनियर कलाकारको भिडमा हराएकी त छैनौ ? भनेर पनि प्रश्न गर्नुभएको छ । मैले निर्वाह गरेको भूमिका महत्पवूर्ण छ । निर्देशक दिदीले मलाई राम्रोसँग काम गराउनुभएको छ । फिल्म हेरेपछि दर्शकले मलाई बिर्सिन सक्नुहुन्न भन्ने विश्वास छ ।

स्याबासी पाउने फिल्म : केदार घिमिरे, अभिनेता/निर्माता

हरेक फिल्म हेरेपछि दर्शकले दिने प्रतिक्रिया फरक हुन्छ । कतिपय फिल्मलाई दर्शकले प्रतिक्रिया नै दिँदैनन् । थोरै फिल्मबारे मात्रै दर्शक बोल्ने गर्दछन् । छक्का पन्जाले सधैँ दर्शकको साथ पाइरहेको छ । यसपालि पनि साथ पाउने आशा हामीले गरेका छौँ ।

फिल्म हेरेपछि कतिपय दर्शकले ‘गजब छ है’ भनेर बुढी आँला ठड्याएर लाइक दिने गर्दछन् । कतिले ‘गज्जब हँसायो, ल दामी छ’ भन्ने गर्छन् । तर, यसपालि भने हामीलाई स्याबास् भनेर पिठ्युँमा धाप मार्नेछन् । किन भने, फिल्म नै त्यस्तो बनेको छ ।

फिल्ममा पूरा मनोरञ्जनका साथै जागरणमूलक सन्देश पनि छ । सधैँ हसाउने मात्र होइन कि हँसाउँदाहँसाउँदै रुवाउने खालको फिल्म बनेको छ । शिक्षाजस्तो गहन क्षेत्रमा हुने गरेको राजनीति, दाउपेचलाई फिल्ममा प्रस्तुत गरेका छौँ ।

फिल्ममा मैले बाजा बजाउनेको भूमिका निर्वाह गरेको छु । ट्रेलरले नै धेरै कुरा बुझाइसकेको छ । हाम्रो समाजकै एउटा समुदायको प्रतिनिधि पात्र हो, त्यो । सानो काम गर्ने मान्छे सानै हुन्छ भन्ने सोचेर थिचोमिचो गरिनुहुँदैन भन्ने विद्रोहको स्वर उराल्ने कोसिस त्यसमार्फत गरिएको छ । छक्का पन्जा–३ बाट दर्शकले पूरा मनोरञ्जनका साथै मननयोग्य सन्देश पनि पाउनेछन् ।

एक उत्तर छोड्न