जिएमले कारखाना बन्द गर्ने

0
60

एजेन्सी, मोन्ट्रियल । जेनेरल मोटर्स (जिएम)ले क्यानडाको ओसावामा रहेको आफ्नो मोटर उत्पादन कारखाना बन्द गर्ने अनुमान गरिएको छ । क्यानाडेली टेलिभिजन च्यानल सिटिभीका अनुसार यो कारखाना बन्द हुँदा करिब तीन हजार कामदारको रोजगारी गुम्नेछ । च्यानलले धेरैवटा अज्ञात स्रोतको भनाइ उद्धृत गर्दै जिएमका कारखाना पुनःसंरचना गर्ने योजनामा ओसावाको कारखानासमेत रहेको जनाएको छ । टोरन्टोबाट उत्तरपूर्व करिब ६० किलोमिटर टाढा रहेको ओसावा प्लान्ट सन् १९५३ मा स्थापना भएको थियो । यो कारखानामा हाल करिब दुई हजार आठ सयजना श्रमिक कार्यरत छन् ।

यस कारखानामा चेभ्रोलेट र जिएमसी पिकअपका साथै चभ्रोलेट इम्पाला र क्याडिल्याक सेडानको उत्पादन हुने गर्छ । आसावाका मेयर जोन हेनरीले यो खबर सत्य नहोस् भन्ने चाहेको बताए । ओन्टारियो प्रान्तमा जिएमका अरु तीनवटा प्लान्ट छन् । जिएमको नयाँ योजनाबाट यी कारखानामा असर पर्ने वा नपर्ने अझै स्पष्ट भइसकेको छैन । गत महिना, कम्पनीले खर्च कटौती गर्न उत्तर अमेरिकाका कारखानामा कार्यरत श्रमिकको संख्या कटौती गर्ने घोषणा गरेको थियो ।

सो योजनाबाट अमेरिका, क्यानडा र मेक्सिकोका कारखानामा कार्यरत करिब ५० हजार श्रमिक प्रभावित हुनेछन् । यीमध्ये करिब १८ हजार अर्थात् करिब ३६ प्रतिशतको रोजगारी गुम्नेछ । पहिलो चौमासिकमा जिएमको आय दुई अर्ब ५० करोड डलर थियो । अमेरिकी करवृद्धि र बिक्रीमा आएको मन्दीका कारण कम्पनीको आयमा नकारात्मक प्रभाव परेको छ ।

एक उत्तर छोड्न