झुरुमझुरुम गर्ने टाइचुनको चिउरा : शहरमा लोकप्रिय, तर धान मासिँदै

0
126

२३ असोज, काठमाडौं । दशैं नजिकिँदै जाँदा गाउँघरतिर ढिकीको आवाज सुनिन थाल्छ । प्रत्येक परिवारलाई दशैंका लागि चिउराको जोगाड गर्ने चटारो हुन्छ ।

शहरमा ढिकी त कुटिदैन, तर चिउराको उपभोग भने गरिन्छ नै । शहरका उपभोक्ता बजारमा जताततै पाइने किसिम-किसिमका चिउरा छानिछानि किनेर खाने गर्छन् । मांशाहारीले मासुसित र शाकाहारीले तरकारी र दही-दूध-केरासँग खान्छन् । जताततै उपलब्ध हुने, पकाउनु नपर्ने, भण्डारण गर्न सकिने तथा ‘जुठो’मा नगनिने भएकोले खानपिनमा एकदमै लोकप्रिय छ चिउरा ।

आफैंले धान भिजाएर चिउरा कुट्ने चलन शहरमा मासिएको छ भने गाउँघरमा पनि लोप हुँदै गएको छ । बजारबाट किनेर ल्याउनै सजिलो मान्छन् सबै । तर, आफूले ढिकी वा मिलमा कुटेको जस्तो स्वादिलो बजारको चिउरा हुँदैन भन्नेहरु धेरै छन् । फेरि बजारमा थरी-थरी गुणस्तरका चिउरा पाइन्छन् । यीमध्ये सबैभन्दा महंगो र स्वादिलो मानिन्छ टाइचुनको चिउरा ।

‘चिउराको राजा’

चिउराको चर्चा गर्दा टाइचुन चिउराको नाम सबभन्दा अघि आउँछ । टाइचुन प्रजातिको धानबाट बनाइएको चिउरालाई यसका पारखीले ‘चिउराको राजा’ पनि भन्ने गर्छन् । बोलिचालीमा यसलाई ‘ताइचिनको चिउरा’ भनिन्छ ।

स्वादिलो र खाँदा झुरुम-झरुम गर्नु यसको प्रमुख विशेषता हो । यत्तिकै खाँदा पनि यो स्वादिलो हुन्छ । साथै पौष्टिक पनि मानिन्छ । टाइचुनको भात नरम हुने भएकाले यो धान पनि लोकप्रिय छ ।

सेतो-रातो रंगको, गोलो गोलो मोटो टाइचुन चिउरा सजिलै चिनिन्छ । बजारमा पाइने कतिपय चिउरा गन्हाउने, ओसिएको जस्तो हुने, कालो धमिलो देखिने र पौष्टिक नहुने कारणले पनि टाइचुन धेरैको रोजाइमा पर्ने गरेको छ ।

टाइचुन चिउराको लोकप्रियता र माग काठमाडौं उपत्यकामा धेरै छ । तर, महंगो भएकाले उपत्यकाबाहिर यसको त्यति माग नरहेको विक्रेता बताउँछन् ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्रचार्यका अनुसार ‘लोकल टाइचुन चिउरा’ को मूल्य प्रतिकिलो १ सय ३५ रुपैयाँसम्म छ । तराइ टाइचुनका नाममा पाइने चिउरा प्रतिकिलो १२० देखि १३० रुपैयाँ पाइन्छ ।

कतिपय उद्योगहरुले अन्य जातको चिउरालाई झुरुम झुरुम बनाएर ‘तराइ टाइचुन’ को नाममाबजारमा पठाउने गरेका छन् । यो अली सस्तो हुन्छ । तर यो ओर्जिनल टाइचुन होइन ।

टाइचुनबाहेक अन्य धानका चिउराको बजार मूल्य प्रतिकिलो ६५ देखि ८० रुपैयाँ छ ।

माग बढ्दो, उत्पादन घट्दो

नेपालमा ८३ प्रजातिका धान खेतिका लागि सिफारिस भएका छन् । तीमध्येकै एक हो ‘टाइचुन’ । माग बढ्दै गए पनि यो धानको उत्पादन उपत्यकामा नै सिमित हुन थालेको विज्ञहरु बताउँछन् ।

५० वर्षअघि नेपाल भित्रिएको यो प्रजातिको धान बिस्तारै ‘लोकलाइज’ हुँदै गएको छ । चामल मोटो हुने र भातका लागि त्यति नरुचाइने भएकाले टाइचुन धानप्रति किसानको आकर्षण घटेको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका धान संयोजक डा. रामवरण यादवले बताए । उनका अनुसार मध्य पहाडी क्षेत्रका लागि सिफारिस गरिएको टाइचुन धान बिस्तारै भक्तपुरको पेरिफेरिमा सिमित हुन थालेको छ ।

फिलिपिन्समा रहेको इन्टरनेशनल राइस रिसर्च इन्ष्टिच्युट  (इरी) ले टाइचिन धान नेपालका लागि सिफारिस गरेको हो । वि.स. २०२० तिर नेपाल भित्रिएको यो धान राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमबाट वि.सं. २०२४ मा खेतिका लागि सिफारिस भएको थियो । इरी फिलिपिन्सले सिफारिस गरेको टाइचुन धान जापानीज भेराइटीको भएको संयोजक डा. यादव बताउँछन् । यसलाई ‘टाइचुन नेटिभ वान’ पनि भन्ने गरिन्छ ।

वातावरणीय हिसाबले मध्य पहाडी क्षेत्र यो धानका लागि उपयुक्त मानिन्छ । त्यसैले भक्तपुरको, सुर्याविनायक, शिवडोल, गोदौरी, धापाखेलसहित बेसीतिरका किसानले टाइचुन धान रोप्छन् ।

जिल्ला कृषि कार्यालय भक्तपुरका अनुसार कुलोको पानी लाग्ने भएकाले त्यस क्षेत्रमा मसिनो धानको सट्टा किसानले अझै पनि टाइचुन धान नै रोप्ने गर्छन् । सिञ्चित, उर्वर जग्गामा यसको उत्पादन बढी हुने यादवले बताए । उनका अनुसार २०-२२ डिग्री सेल्सियस तापक्रम यो धानका लागि उपयुक्त हुन्छ । त्यसैले पनि तराइ क्षेत्रलाई यो धान सिफारिस नगरिएको हो ।

सामान्यतः असारमा रोपेपछि १४४ दिनमा टाइचिन धान फलिसक्छ । टाइचुन धान प्रतिहेक्टर ६ दशमलब ६ मेट्रिक टन उत्पादन हुने यादव बताउँछन् ।

भक्तपुरको कुल धान उत्पादनमा १०-१५ प्रतिशत हिस्सा टाइचुन धानको छ । वैकल्पिक जातहरुले गर्दा बिस्तारै टाइचुन धान बिस्थापित हुँदै गएको विज्ञहरु बताउँछन् ।

एक उत्तर छोड्न