डोली बोकेरै गाउँलाई २१ लाख

0
281

बढैयाताल, बर्दिया – जगतियाको थारू समुदायमा कसैले बिहे गर्दा डोली प्रयोग गर्दिनँ भनेर नसोचे पनि हुन्छ । कथंकदाचित नगर्ने हो भने पैसा त तिर्नैपर्छ । यो समाजले बनाएको नियम हो । त्यसैको पालना गरेर हालसम्म २१ लाख रुपैयाँ जम्मा भइसकेको खबर आजको कान्तिपुरमा छ ।

डोली बोक्ने यही समाजका सदस्य हुन्, जसको नाम छ– ‘सुराही समूह ।’ अर्थात्, डोली बोक्ने समूह । बढैयाताल गाउँपालिका–५ जगतियाका करिब २ सय ५० घर यसमा आबद्ध छन् । ‘सुराही समूह’ का अध्यक्ष गोलाराम थारूका अनुसार डोली बोकेबापत एक किलोमिटरको १ सय ५ रुपैयाँ लिने गरिन्छ, त्यो बोक्ने व्यक्तिले लान पाउँदैनन् ।

‘कसैको मरुमारु भए परिवारलाई राहतस्वरूप २० हजार रुपैयाँ त्यही कोषबाट दिन्छौं । कोही धेरै खर्च लाग्ने बिरामी भए पनि आवश्यकता हेरेर सघाउँछौं,’ गोलारामले भने, ‘त्यो पैसा सकेको समय जहिल्यै निब्र्याजी तिरे हुन्छ । तर कहिल्यै मागिँदैन । बाँकी रकम सहुलियतमा ऋण दिन्छौं ।’

समुदायका कुनै सदस्यको छोराको बिहे छ भने बेहुलीको घरसम्म गएको किलोमिटर हिसाब गरिन्छ । ‘बेहुलालाई अन्माएर गाउँ परिक्रमा गराई बसमा चढाइन्छ । डोली पनि बसमा राखिन्छ । बेहुलीको गाउँमा पुगेपछि फेरि बोकेर लगिन्छ,’ जगतियाका बडघर (नाइके) विष्णु थारूले भने, ‘हिसाब भने बसमा चढेको दूरीको पनि लिइन्छ । त्यो बेहुलाले तिर्छ ।’

उनका अनुसार गाउँकी कुनै चेलीको बिहे छ भने बेहुलीलाई उसरी नै डोली चढाएर बेहुलाको घरसम्मै भित्र्याउन पुर्‍याइन्छ । त्यसमा पनि बसमा चढेको दूरीसमेत जोडिन्छ । त्यो पारिश्रमिक बेहुलाले नै तिर्नुपर्छ । त्यो सबै रकम कोषमै जम्मा हुने हो ।

यो प्रचलन कहिले सुरु भयो र कसको अवधारणा थियो भन्ने यहाँका कसैलाई सम्झना छैन । गाउँघरमा विवाह–बटुलो हुँदा डोली बोकेर सघाउन जाने थारू परम्परा हो । त्यसबापत दुलाहा पक्षले दिने पैसा पहिले–पहिले रमाइलोमा खर्च गरिन्थ्यो । त्यसलाई रेटै तोकेर समाज कल्याण कोषका रूपमा उपयोग गर्ने चलन भने करिब २० वर्षअघि सुरु गरिएको हो ।

‘डोली बोक्नेलाई पनि सित्तैमा बोकेजस्तो नहुने, बोकाउनेलाई पनि सित्तैमा बोकाएजस्तो नहुने र त्यसको फाइदा समुदायलाई पुग्ने यो राम्रो उपाय हो,’ स्थानीय बिसाराम थारूले भने, ‘यसलाई नराम्रो कसैले भनेको छैन । पैसा दिन आनाकानी पनि कसैले गर्दैन ।’ उनका अनुसार डोली बोक्नु र विवाह गर्नेले पैसा दिनु दुवै अनिवार्य छ ।

LEAVE A REPLY