निधिलाई दोस्रो वरीयता दिने तयारी : प्रधानमन्त्री कार्यालयको साइटमा निधि नै सिनियर

0
248

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूपछिको वरीयतामा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई तोक्ने भएका छन् । गत २६ फागुनमा राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री नियुक्त भएदेखि प्रधानमन्त्रीपछिको वरीयतामा को भन्ने विवाद छ । ‘अब प्रधानमन्त्रीले वरीयता विवाद मिलाउँदै हुनुहुन्छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘मंगलबारसम्ममा उहाँले वरीयता टुंग्याउनुहुन्छ ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

थापालाई सरकारमा सहभागी गराएर आफूपछिको वरीयतामा राख्न खोजेपछि निधिले प्रधानमन्त्रीदेखि कांग्रेस सभापति शेरबहादुर देउवासम्मलाई भेटेर असन्तुष्टि जनाएका थिए । वरीयता विवादकै कारण मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित बनेको थियो । स्रोतका अनुसार मंगलबार प्रधानमन्त्रीले निधिलाई आफूपछिको वरीयतामा राख्दै छन् ।

प्रधानमन्त्री कार्यालयको वेबसाइटमा निधि नै सिनियर
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइट ओपिएमसिएम डट जिओभी डट एनपीमा भने प्रधानमन्त्रीपछि निधि नै वरीयतामा दोस्रो सूचीमा छन् । त्यसपछि माओवादी नेता तथा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा तेस्रो र कमल थापा चौथो नम्बरमा छन् ।

मन्त्रिपरिषद्को बैठक बस्न सकेन
निधि र थापाको वरीयता विवादका कारण मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित बनेको छ । मन्त्रिपरिषद् बैठकबाट आफ्नो चीन भ्रमण स्वीकृत नगराई प्रधानमन्त्री प्रचण्ड भ्रमणमा गएका थिए । थापा सरकारमा सहभागी भएपछि मन्त्रिपरिषद्को बैठक एकपटक मात्र बसेको छ । पछिल्लो बैठक ३ चैतमा बसेको थियो । त्यसवेला प्रधानमन्त्रीले थापालाई आफूपछिको वरीयतामा राखेका थिए । निधि नयाँदिल्लीमा रहेकाले बैठकमा उपस्थित थिएनन् । थापा सरकारमा सहभागी हुनुअघि प्रधानमन्त्रीले आफूपछिको वरीयतामा निधिलाई राख्दै आएका थिए । आफू विदेश भ्रमणमा जाँदा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि निधिलाई नै दिँदै आएका थिए । तर, चीन भ्रमणमा जाँदा भने विवादका कारण कसैलाई पनि कार्यबाहक दिएनन् ।

LEAVE A REPLY