नेताले डुबाएको तर जनताले जोगाएको पार्टी नेपाली कांग्रेस

0
370
तुलसी “श्रवण”/शान्ति रेग्मी

ठूलो अविश्वास र अन्योलबीच प्रथम चरणमा नेपालको नयाँ संघीय संरचनाअनुरूप करिब ‘आधा नेपाल’मा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ l संविधान संशोधन गरेर ‘मधेस समस्या’को समाधान नगरेसम्म स्थानीय चुनाव नै हुन नदिने भनी ‘मधेस केन्द्रित दल’हरूले संचालन गरेको आन्दोलन, निर्वाचनअघि कुनै पनि हालतमा संविधान संशोधन हुन नदिने प्रमुख प्रतिपक्षी दलको अडान, रूपान्तरित व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने दललेमात्र दलीय चिन्ह पाउने कानुनी व्यवस्थाविरुद्ध साना दलको असन्तुष्टि र माओवादीको विप्लव समूहको निर्वाचन नै हुन नदिने उद्घोष तथा सबै शक्तिलाई मिलाएर अघि बढ्दा राम्रो हुने भन्ने ‘सुझाव स्वरूप’को अन्तर्राष्ट्रिय दबाब अनि तराई मधेसलाई अलग गरेर निर्वाचन गर्दा समस्या झन् जटिल बन्न सक्छ भन्ने अभिमत हुँदाहुँदै पनि कांग्रेस-माओवादी गठबन्धन सरकारले दुई चरणमा सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचन घोषणा गरेको थियो l

प्रमुख प्रतिपक्षी दल र मधेसी मोर्चाका आआफ्ना तर विपरीत ध्रुवीय अडानबीच वर्तमान शक्ति सन्तुलनलाई ध्यानमा राखी मध्यमार्गी बाटो अवलम्बन गर्दै सबै राजनीतिक शक्तिलाई सहभागी गराउने गरी प्रथम चरणको निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण रूपमा सम्पन्न भयो । दोस्रो चरणको निर्वाचन आउने जेठ ३१ गते मतदान हुनेगरी तय गरिएको छ l

यस कार्यलाई नयाँ संविधान तथा उक्त संविधानले संस्थागत गरेको संघीय संरचना कार्यान्वयन र स्थानीय लोकतन्त्रको सुदृढीकरण गर्न कांग्रेस माओवादी गठबन्धन सरकारको महत्त्वपूर्ण योगदान मान्न सकिन्छ l
तराई मधेसको समस्या समाधान गरी दोस्रो चरणमा निर्वाचन गर्ने गरी मधेस केन्द्रित दलसँगको समझदारीपछि पहिलो चरणमा पहाडी र हिमाली जिल्लामात्र रहेका ३ वटा प्रदेशमा स्थानीय निर्वाचन पूर्वनिर्धारित मितिमै सम्पन्न भयो l एमालेले यी क्षेत्रका सबैभन्दा बढी ठाउँमा जित हात पर्दा पनि आफ्नो प्रभावशाली वर्चस्व रहने अनुमान गरेबमोजिम निर्वाचन परिणाम नआउँदा र त्यसभन्दा पनि कांग्रेसको पक्षमा जनमत देखेर एमालेका अध्यक्ष साह्रै अचम्मित भएका छन् l

यही सन्दर्भमा यस आलेखमा नेपाली कांग्रेसको जिम्मेवार नेतृत्वले जनअपेक्षाविपरितका निर्णय गर्दा अथवा आफैँले गरेका निर्णयको औचित्य र उपादयेता जनस्तरमा प्रष्ट पार्न नसक्ता, अनि स्थानीय तहको निर्वाचनमा अवलम्बन गरेका नीति, रणनीति र कार्यनीतिले यसको लोकतान्त्रिक सैद्धान्तिक धरातलमा नै क्षयीकरण गर्दासमेत जनस्तरबाट यसले सम्मानजनक समर्थन प्राप्त हुनुलाई कसरी बुझ्ने भन्ने लेखाजोखा गरेका छौँ l साथै आगामी दिनमा पार्टी नेतृत्वको अलोकतान्त्रिक निर्णय प्रक्रियाले पार्ने दीर्घकालीन प्रभावका बारेमा समेत विश्लेषण गरेका छौँ l

सैद्धान्तिकरूपमा कांग्रेस के हो ?  
नेपाली राजनीतिक आन्दोलनमा लोकतन्त्र प्राप्तिको लागि पटक पटक नेतृत्व गरेको र लोकतान्त्रिक राजनीतिक संस्कार तथा संस्कृतिको स्थापना एवं विकासमा निरन्तर लडेको पार्टी हो नेपाली कांग्रेस l प्रजातान्त्रिक समाजवादको नीति अख्तियार गरेको कांग्रेसको अर्थराजनीतिक दृष्टिकोण पनि प्रजातान्त्रिक समाजवादी विचारधाराबाट नै निर्देशित छ l

पार्टी स्थापना हुँदाका बेलादेखि हालसम्मका विभिन्न राजनीतिक दस्तावेज तथा पार्टीका चुनावी घोषणापत्रले यसलाई पुष्टि पनि गर्छन् l विक्रम संवत् २०४८ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसले “नेपाली जनताको सम्मान र प्रजातन्त्र” आफ्नो मूलमन्त्र बनाएको थियो l उसले आफ्नो घोषणापत्रमा भनेको छ- “देशका बहुसंख्यक निमुखा र वाणी थिचिएका” जनताको हक अधिकारको प्राप्ति तथा उनीहरूको उत्थान गर्नका लागि राजनीतिक र अन्य विकास प्रयास गर्ने नेपाली कांग्रेसको अठोट रहेको छ l उसको अहिलेको घोषणापत्रमा पनि यिनै कुरामा विशेष जोड दिइएको छ l

सैद्धान्तिकरूपमा नै भए पनि कांग्रेसको यही विचार र प्रतिबद्धताले निरन्तरता पाएको छ l कांग्रेस भनेको लोकतान्त्रिक विचार र आदर्श हो l उक्त आदर्शलाई जनताको दैनिक व्यवहारमा प्रतिविम्बित हुनेगरी नीति निर्माण गर्ने, राजनीतिक संस्कार र संस्कृतिको विकास गर्ने र उक्त विचार तथा आदर्शबमोजिम जनहितका पक्षमा राज्य शक्ति र संरचनालाई परिचालित गर्ने एक राजनीतिक शक्ति हो कांग्रेस l र, लोकतान्त्रिक मूल्य, मान्यता र पद्दतिको संरक्षक पनि हो l यस विचारलाई दैनिक कार्य संचालनमा प्रतिविम्बित हुनेगरी लागू गर्न शीर्ष नेतृत्व पटकपटक चुके पनि पार्टीको विचारधाराप्रति जनताको विश्वास अझै टुटेको रहेनछ l

कांग्रेस कहाँ चुक्यो र किन? 
पार्टी स्थापना कालमा बीपीले प्रतिपादन गरेको “प्रजातान्त्रिक समाजवाद”को राजनीतिक अवधारणा र पुँजीलाई अझैपनि कांग्रेसले सैद्धान्तिक आदर्शका रूपमा उपयोग गर्दैआएको त छ तर उक्त अवधारणालाई व्यावहारिक रूपमा जनताको दैनिक जीवनमा परिवर्तन गर्ने गरी कार्यनीति निर्माण गरेर लागू गर्न भने नेतृत्व पटक पटक चुकेको छ l लोकतान्त्रिक राजनीतिक आन्दोलनको सफलतापूर्वक नेतृत्व गरेको कांग्रेस राज्य संचालन प्रक्रियामा भने व्यक्ति केन्द्रित प्रवृत्ति र व्यक्तिगत लाभहानिभन्दा माथि उठी आफ्नो सैद्धान्तिक धरातलमा रहेर नीति तथा कार्यक्रम निर्माण गरी त्यसलाई कार्यान्वयन गर्न राज्य संरचनालाई परिचालन गर्ने क्रममा भने अपेक्षाकृत सफल हुनसकेको छैन l

उदाहरणका रूपमा प्रजातन्त्रको स्थापनापश्चात २०१५ सालको  संसदीय निर्वाचनमा जनताबाट प्राप्त दुई तिहाइ बहुमतसहितको सरकार, प्रजातन्त्रको पुनःस्थापनापछिको २०४८ र २०५६ सालमा प्राप्त बहुमतसहितको सरकार र अन्य समयमा पनि अल्पमतको सरकारको पटकपटक नेतृत्व गरेको कांग्रेसले आफ्नै नेतृत्वलाई व्यवस्थापन गर्न नसक्दा तथा कतिपय अवस्थामा अन्य आन्तरिक र बाह्य परिस्थिति र शक्ति सन्तुलनलाई ध्यानमा राखेर उचित निर्णय गर्न नसक्दा आफ्नै कारणले अपेक्षित सफलता हासिल गर्न सकेन l तैपनि, जनताले यसको सैद्धान्तिक विचार र अवधारणालाई विश्वास गर्दै पटक पटक जनमत प्रदान गरेका छन् l

सैद्धान्तिक दृष्टिकोणबाट हेर्ने हो भने परिपक्व राजनीतिक वैचारिक धरातलमा उभिएको कांग्रेस व्यक्तिगत स्वार्थ र चाहनाका लागि सत्ता र शक्तिमा पुग्न चाहने व्यक्तिको झुन्डमात्र हुनुहुँदैन l तर, पार्टीलाई व्यक्ति विशेषलाई सत्ता र शक्तिमा पुग्ने माध्यममात्र बनाउने प्रवृत्ति नेपाली कांग्रेसमा व्याप्त हुँदैगएको छ l

आन्तरिक व्यक्तिगत स्वार्थ समूह तथा गुटबन्दीमा पार्टी नेतृत्व रमाउँदै गर्दा कांग्रेसको आदर्श र राजनीतिक सिद्धान्त नै स्खलित हुँदैगएको अनुभूति हुन्छ l एमाले र मधेस केन्द्रित दलहरूको विपरीत ध्रुवीय अतिवादी सोचबाट माथि उठेर राज्यका हरेक समस्या समाधान गर्नुपर्छ भन्नेमा कांग्रेसले खेलेको मध्यमार्गी भूमिकालाई यसका शीर्ष नेतृत्वको सत्ता मोह र केही अपरिपक्व निर्णयले ढपक्कै छोपिदियो l
यसका अतिरिक्त नेतृत्वले चुनावी क्रममा ‘लोकप्रिय’ स्थानीय नेतृत्वका बारेमा कुनै हेक्का राखेको देखिएन l एकातर्फ जस्तो भएपनि आफ्नै ‘स्वार्थ समूह’को व्यक्तिलाई पटक पटक अवसर प्रदान गर्ने र अर्कोतर्फ एकपटक अवसर नपाउँदैमा आफ्नो राजनीतिक जीवन नै समाप्त भएको भन्ठान्ने अनि क्षणिक आवेगमा जस्तोसुकै अराजनीतिक क्रियाकलाप प्रदर्शन गर्ने प्रवृत्ति पिन नेतृत्वमा बढ्दैगएको देखिन्छ l यस्तो परिस्थितिको मूल्यांकन गर्न नसक्नु र सबै पक्षलाई समायोजन गरी पार्टी पंक्तिलाई संगठितरूपमा परिचालित गर्नसक्ने ‘अभिभावकीय नेतृत्व’को अभाव कांग्रेसमा टड्कारो देखिएको छ l

लोकतान्त्रिक पद्धतिबमोजिम स्थानीय तहको नेतृत्व गर्ने उमेदवार छान्ने जिम्मा स्थानीय स्तरकै हो l तर, सम्भाव्य उमेदवारलाई सिफारिस गरी केन्द्रमा पठाउने विधि र प्रक्रियाको गलत प्रयोग गर्दै स्थानीय पार्टी संरचनाले सबैसँग साखुल्य हुनेगरी उपयुक्त निर्णय गर्न नसक्ने र उमेदवार हुन चाहने सम्पूर्ण कार्यकर्ताको नामावली केन्द्रमा पठाउने अनि केन्द्रले पनि स्थानीय नेतृत्वसँग परामर्श गरेजस्तो गरी निर्णय अधिकार आफूमा केन्द्रित गरी आफ्नो स्वार्थ समूहभन्दा बाहिरका पार्टीलाई योगदान गरेका ‘सक्षम’ व्यक्तिलाई पनि नचिन्ने प्रवृत्तिले कांग्रेसको लोकतान्त्रिक मूल्य, मान्यता र पद्धतिको सैद्दान्तिक धरातल कमजोर हुँदैगएको हो l स्थानीय तहका पार्टी नेतृत्वसँग उचित परामर्श नगरी केन्द्रले गर्ने हस्तक्षेपकारी निर्णयले स्थानीय लोकतन्त्रलाई सबल बन्न दिँदैन l

पार्टी सभापतिको ठाडो हस्तक्षेपमा भरतपुर महानगरको प्रमुख पदका प्रत्याशीको उमेदवारी फिर्ता गर्ने कार्यले पार्टीका स्थानीय संरचनालाई नै कमजोर पारिदिएको छ l फलस्वरूप स्थानीय तहमा आन्तरिक गुटउपगुट र घातप्रतिघातका घटना बढ्दै जानेछन् र सिंगो पार्टी कमजोर बन्दै जानेछ l यस्ता कमीकमजोरीलाई बेलैमा व्यवस्थापन गर्न नसके भविष्यमा कांग्रेसलाई त अपूरणीय क्षति हुन्छ नै त्यसभन्दा पनि बढी लोकतान्त्रिक मूल्य, मान्यता र प्रक्रियाको सैद्धन्तिक धरातलमा नै ठूलो क्षति पुग्ने निश्चित छ l

लोकतान्त्रिक समाजवादको सिद्दान्तबाट दीक्षित हुनुपर्ने कांग्रेसका  तरूणमा यसको सर्वथा अभाव देखिन्छ l नेतृत्वमा रहेका युवा पंक्तिमा पनि राजनीतिक लाभ र कार्यकारी पद प्राप्ति नै एकमात्र राजनीतिक उद्देश्य हो कि भन्ने भ्रम सिर्जना गर्ने काम तिनकोको दैनिक राजनीतिक व्यवहारमा देखिन्छ l पार्टीका लागि लामो त्याग गरेका नेताको उचित सम्मान गर्न नसक्ने अनि केही शक्ति केन्द्रमा भएकाको अनावश्यक चाकडी गरी पद प्राप्त गर्न लालायित हुने युवा पंक्ति र पार्टी निर्माणमा ठूलो योगदान गरेको हुँ भन्दै अभिभावकीय जिम्मेवारीभन्दा पनि सधै कार्यकारी बन्नमात्र चाहने पुरानो पुस्ताका नेतामा देखिएको प्रवृत्तिको उचित व्यवस्थापन गर्न नसक्दा नेपाली कांग्रेस पार्टीमा थुप्रै समस्या देखिएका छन् l

स्थानीय निर्वाचनमा ‘रक्षात्मक’ बनेको कांग्रेस 
एक दशक लामो सशस्त्र द्वन्द्व र शताब्दीऔं लामो राजतन्त्र अन्त्यको सहज अवतरण तथा गणतान्त्रिक संविधान निर्माणको सफल नेतृत्व गरेको नेपाली कांग्रेसको अथाह ‘राजनीतिक पुँजी’लाई शीर्ष नेतृत्वको सीमित घेरामा रमाउने र सत्ता प्राप्तिका लागि जस्तोसुकै सम्झौता गर्न पछि नपर्ने प्रवृत्तिले सर्लक्कै निलिदियो l

नेतृत्वले आन्तरिकरूपमा कुनै निर्णय गर्न दबाब दिने अनि सार्वजनिकरूपमा उक्त निर्णय प्रक्रियामा आफ्नो कुनै भूमिका नरहेको भनेर विज्ञप्ति जारी गर्ने कार्यले न त पार्टी नेतृत्वको साख बच्यो न  निर्णय गर्ने अधिकारीले उक्त निर्णयको डटेर सामना गर्न सके l त्यसले कांग्रेसी कार्यकर्तालाई स्थानीय निर्वाचन रणनीति बनाउँदै गर्दा जबर्जस्तरूपमा ‘प्रतिरक्षात्मक’ कित्तामा धकेलिदियो l अर्को अफसोचको विषय के रह्यो भने नेतृत्वले गरेका निर्णय ठीक थिए भने ती निर्णय यस कारण जनता र देशको हितमा छन् भनेर आफ्ना कार्यकर्तालाई पार्टीले प्रशिक्षित नै गर्न सकेन l

विगत केही समयमा पार्टी नेतृत्वले गरेका निर्णयहरू [जुन सही र गलत के हुन् भन्ने छुट्टै बहस हुन जरुरी छ] को सैद्धान्तिक तथा व्यावहारिक तथ्यगत तार्किक दृष्टिकोणबाट स्वयं पार्टी नेतृत्वले आफ्ना कार्यकर्तालाई ती निर्णयको औचित्य र उपदयेता प्रष्ट पार्न नसक्दा र लोकतान्त्रिक राजनीतिक पद्धति र संस्कृतिको पृष्ठपोषण गर्ने पार्टीले ‘एकतन्त्रीय तानासाही’ प्रवृत्तिको व्यवहार गर्दा लोकतान्त्रिक समाजवादी विचारधारामा विश्वास गर्ने जनता तथा पार्टी कार्यकर्तामात्र हैन धेरै हदसम्म पार्टीको जिम्मेवार तह तथा स्थानीय स्तरमा नेतृत्वदायी भूमिकामा रहेका नेतासमेत प्रतिरक्षात्मक कित्तामा रहेर चुनावी प्रचारप्रसार गर्न बाध्य भएका थिए l

राजनीतिक लाभहानिभन्दा माथि रहेर नीति तथा कार्यक्रम निर्माण गरी तिनको सफलतापूर्वक कार्यान्वयन गर्न नसक्दा र नेतृत्वले सत्ता प्राप्तिका लागि जुनसुकै समयमा जस्तोसुकै शक्तिसँग पनि सिद्धान्तहीन गठबन्धन गर्दा सच्चा, निष्ठावान् तथा पार्टीप्रति समर्पित कार्यकर्ता तथा समर्थकमा निराशा व्याप्त भएको छ l यसको ज्वलन्त उदाहरण भर्खरैमात्र सम्पन्न स्थानीय निर्वाचनमा देखिएको सिद्धान्तहीन गठबन्धन र त्यसप्रति स्थानीय तहमा देखिएको असन्तुष्टि हो l

राजनीतिक नेतृत्वले चुनावी रणनीति बनाउँदै गर्दा पार्टीलाई हुन सक्ने सामूहिक लाभहानिको विश्लेषण गरी भिन्नभिन्न राजनीतिक शक्तिसँग गठबन्धन निर्माण गर्नसक्छ तर क्षणिक व्यक्तिगत लाभ र सत्ता प्राप्तिका लागि निष्ठावान् कार्यकर्ता र जनताको भावनामा आँच पुग्नेगरी निर्णय गर्नु र सार्वजनिक मञ्चबाट भाषण गरेर त्यस्ता निर्णय पालना गर्न निर्देशन दिनु भनेको ‘लोकतान्त्रिक संस्कृति’मा नै विचलन ल्याउनु हो । यसले लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टीलाई धराशायी बनाउन सक्छ l नेपाली कांग्रेसको नेतृत्वले अहिले गरेका निर्णयले पार्टीलाई अप्ठेरो परिस्थितितर्फ धकेलिरहेको अनुभूति हुँदैछ l

खासगरी ‘राष्ट्रियता’ र अन्य ‘समसामयिक राजनीतिक निर्णय’का सम्बन्धमा कांग्रेसले आफ्नो नीति र अडान के हो भन्ने जनतालाई बुझाउन सकेन । त्यसको फाइदा एमालेको चर्को ‘राष्ट्रवादी’ नाराले लियो l अझ भन्ने हो भने नेपाली कांग्रेससँग आबद्ध पेसागत संगठनहरूले राष्ट्रिय स्तरमा उठेका मुद्दामा न त पार्टी नेतृत्वलाई सजग गराउन सके न पार्टी नेतृत्वले गरेको निर्णयको जनतामाझ औचित्य पुष्टि गर्न नै सके l

यिनले पार्टीको राष्ट्रिय नीति, हालसम्म पार्टीले गरेका कामको प्रचारप्रसार र घोषणापत्रमा व्यक्त घोषित नीति तथा कार्यक्रमलाई राष्ट्रिय राजनीतिक विचार निर्माणमा उपयोग नै गर्न सकेनन् l पार्टी विरुद्धका अनर्गल प्रचारको चिरफार गर्ने र तार्किक बहसमा उत्रने अभ्यासमा कांग्रेस सम्बद्ध बौद्धिक संगठनहरूको कतै उपस्थिति देखिएन l फलस्वरूप केही व्यक्ति विशेषका राष्ट्रिय दैनिक पत्रिका तथा सामाजिक संजालमा योजनाबद्धरूपमा प्रेषित विचार नै सहर केन्द्रित जनमानसका लागि ‘राष्ट्रिय विचार’ बन्न पुगे l

फलस्वरूप, सामान्य कार्यकर्ता रक्षात्मक रणनीति अवलम्बन गर्न बाध्य भए l अनि कार्यकर्ता भोट माग्ने क्रममा ‘राष्ट्रिय राजनीतिका कुरा अहिले छाडौँ’, ‘यो स्थानीय निर्वाचन हो’, ‘स्थानीय विकासका कुरा गरौँ ’ भन्दै आफ्ना चुनाव प्रसार कार्यक्रम संचालन गरेका देखिन्थे l तिनले सहर केन्द्रित मतदातालाई प्रभावकारीरूपमा परिचालन गर्न नै सकेन l यसको परिणाम आफ्नो राम्रो उपस्थिति रहेका सहरमा पनि कांग्रेसले पराजय भोग्दैछ l

जनताले जोगाएको कांग्रेस
नेपाली काँगेसको केन्द्रीय समितिले स्थानीय निर्वाचनमा अपेक्षित मत प्राप्त गर्न नसकेको विश्लेषण गरिरहँदा प्रमुख प्रतिपक्षी दलका नेता भने कांग्रेसले यति धेरै मत कसरी पायो भनेर रनभुल्ल परिरहेका थिए l आफ्नै पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलन होस् वा विजय जुलुसलाई सम्बोधन गर्दा होस् आफ्नो पार्टीले पाएको मतको प्रशंसा र गौरवको आनन्दानुभूति भन्दा बढी कांग्रेसको पाएको मतपरिणामले उनी झस्किरहेका देखिन्थे l

हामीलाई पनि घरी न घरी कांग्रेसले यति धेरै मत कसरी पायो भन्नेमा अचम्म नलागेको हैन तर चुनावी दौरानमा राजनीतिक दलले उमेदवार छनोट गर्दा अवलम्बन गरेका विधि तथा प्रक्रिया, जिल्ला जिल्लामा गरेका प्रचार-प्रसारको अवलोकन, मतदातासँगको प्रतक्ष्य संवाद तथा विभिन्न संचार माध्यममार्फत अभिव्यक्त विचारको विश्लेषण गर्दा के भन्न सकिन्छ भने नेपाली कांग्रेसले विगतमा राम्रो काम गरेर जनतामा राम्रो छाप बनाएकाले र पार्टी नेतृत्वको सुझबुझपूर्ण चुनावी रणनीतिको कारणले भन्दा नेपाली कांग्रेसको एतिहासिक राजनीतिक पृष्ठभूमि र कांग्रेसले अवलम्बन गरेको राजनीतिक विचारधारालाई प्रतिनिधित्व गर्ने वैकल्पिक राजनीतिक शक्तिको अभावमा जनताले कांग्रेसलाई मतदान गरेका हुन् l

साथै नेपाली कम्युनिस्टहरूले के बुझ्न जरुरी छ भने उत्तेजित र उग्रअतिवादी सोच, नारा, भाषण र कटु टिप्पणीभन्दा शालीन, संयमित, सुझबुझपूर्ण र व्यावहारिक पक्षलाई आत्मसात् गर्ने राजनीतिक शक्तिको खोजीमा नेपाली जनताको ठूलो समूह आकर्षित छ । यसलाई नेपाली कम्युनिस्टले बुझ्नै सकेका छैनन् l
आफ्नो व्यक्तिगत स्वार्थ तथा सत्ता प्राप्तिका लागि अहिलेको पार्टी नेतृत्वले बीपीको राजनीतिक विचार, अवधारणा र आदर्शविपरीत  हुनेगरी कतिपय निर्णय गरिरहँदा पनि उक्त विचारबाट प्रभावित जनता अझै अविचलित भई अनवरतरूपमा बीपीको विचार र कांग्रेसलाई जीवित राखेका छन्  l त्यसैको परिणाम हो अहिलेको स्थानीय तहको निर्वाचनमा प्राप्त अभिमत l तर, यसको अर्थ  पार्टी नेतृत्वले जे गरेपनि जनताले कांग्रेस सधैँ जोगाइराख्छन् भन्ने पक्कै पनि होइन l यसको सन्देश त पार्टी नेतृत्वलाई सक्छौ भने कांग्रेसको लोकतान्त्रिक मूल्य र मान्यतालाई व्यवहारमा नै देखिने गरी अपनाऊ, होइन भने तिम्रो अभावमा पनि जनता लोकतान्त्रिक मूल्य र मान्यतालाई जोगाई राख्न सक्षम छन् र आवश्यक परेका बेला तिम्रो विकल्प खोज्न पनि स्वतन्त्र र समर्थ छन् भन्ने नै हो l
Tulasi.shrawan@gmail.com

एक उत्तर छोड्न