नेपाल टेलिकमको भद्रगोलविरुद्ध आन्दोलनमा उत्रिने कर्मचारीकाे चेतावनी

0
60

काठमाडौं, ९ मंसिर । नेपाल टेलिकममा कार्यरत कर्मचारीहरूको संस्था नेपाल टेलिकम वर्कर्स युनियन आन्दोलनमा उत्रिएको छ । नेतृत्वको लापरबाहीका कारण कम्पनीको स्तरोन्नति हुन नसकेको भन्दै उनीहरूले सूचना तथा सञ्चारमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

कम्पनीले प्रतिस्पर्धात्मक वातावरणमा उपयुक्त योजना छनौट गर्न नसकेको र कर्मचारीलाई व्यावसायिक कौशलता प्रदान गर्नुको साटो नेतृत्व स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाएका छन् । संस्था नै इतिहासकै सबैभन्दा कठिन मोडमा आइपुगेको ठहर गर्दै युनियनले कम्पनीको रक्षाका लागि उपयुक्त कदम चाल्न मन्त्रीलाई आग्रह गरेको छ ।

लामो समयसम्म प्रबन्ध निर्देशक पदमा नियुक्ति नहुनु संस्थालाई नै धराशयी पार्ने प्रपञ्च भएको जिकिर गर्दै युनियनले २०७२को कार्यविधिअनुसार प्रतिस्पर्धाका आधारमा प्रबन्ध निर्देशक नियुक्त गर्न माग गरेको छ ।

कम्पनीको व्यवसाय विस्तार र ग्राहकको मागअनुसार प्रविधिको पनि विस्तार गर्न युनियनले जोड दिएको छ । कर्मचारी विनियमावली संशोधनका लागि सरोकारवालाको मागलाई वेवास्ता गरिएको र कर्मचारीको स्तरोन्नतिमा ध्यान नदिएको भन्दै युनियनले यस्ता विषयमा गम्भीर बन्न आग्रह गरेको छ ।

सर्वाेच्च अदालतले कम्पनीको स्वयत्तता सम्बन्धमा स्पष्ट आदेश दिइसक्दा पनि टेलिकममा राजनीतिक हस्तक्षेप गरी कम्पनीको स्वयत्ततामाथि अंकुश लगाएको भन्दै युनियनले त्यसको अन्त्य गर्दै स्वयत्त ढंगले निर्णय एवं कार्यान्वयनको सुनिश्चितिताको माग गरेको छ ।

श्रम ऐन एवं सामाजिक सुरक्षा ऐन कायान्वयनका लागि पनि युनियनले मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ । यस्ता विविध कारणले कम्पनीको वर्तमान अवस्था नाजुक रहेको औँल्याउँदै युनियनले नतिजामुखी काम गर्न सरोकारवाला निकायलाई अनुरोध गरेको छ । अन्यथा ट्रेड युनियन अधिकारको उपयोग गर्दै विभिन्न दबाबमूलक आन्दोलनमा उत्रिने चेतावनीसमेत युनियनले दिएको छ ।

एक उत्तर छोड्न