प्रचण्डले हैसियत बिर्सिएको भन्दै विमलेन्द्रले सुनाए सरकार ढाल्ने योजना

0
369

काठमाडौं, २५ चैत-उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्द आक्रामक बनेका छन् ।

बिहीबार बोलाइएको मन्त्रिपरिषद् बैठक अनाचक आइतबारलाई सारेपछि कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई गृह मन्त्रालय बोलाउँदै निधि प्रधानमन्त्री दाहालविरुद्ध निकै आक्रामक बनेका हुन्, राजधानीमा खबर छ  । छलफलमा उनले आवश्यक परे सरकार छाड्नेसमेतको निर्णय सुनाएको एक मन्त्रीले बताए । ‘प्रधानमन्त्री बनाइदिने कांग्रेसजस्तो सबैभन्दा ठूलो दललाई नै हेपेर मन्त्रिपरिषद् बैठकमा समेत मलाई नराख्ने र कमल थापालाई पहिलो वरीयता दिने योजना बनाएका रहेछन्, यो सूचना पाएर म काठमाडौंबाहिर नगएपछि बैठक नै सारियो,’ बैठकमा निधिको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने । ती मन्त्रीकाअनुसार प्रधानमन्त्रीको योजना थाहा पाएर आफू उपत्यकाबाहिर नगएपछि मन्त्रिपरिषद् बैठक नै सारिएको तथ्य उनले पेस गरेका थिए ।

प्रधानमन्त्री दाहालले आफू उपत्यकामा नहुने पूर्वनिर्धारित कार्यक्रमका आधारमा बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठक राख्ने योजना बनाएका थिए । गृहमन्त्री निधि बिहीबार बिहान जनकपुर जाने र स्थानीय निर्वाचनबारे पार्टीको आन्तरिक छलफलमा जुट्ने कार्यक्रम रहेको थियो । तर, उनले बिहानै आफू काठमाडौंबाहिर नजाने जनाई चाँडो बैठक राख्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । तर, प्रधानमन्त्रीले सो सूचना पाई आइतबारका लागि बैठक सारिएको निधिको आरोप छ ।

‘उपप्रधान तथा गृहमन्त्री बिहीबार बिहान जनकपुर जाने र जनकपुरका कार्यकर्ताहरूसँग दिनभर भेटघाट र निर्वाचनबारे छलफल गरेपछि शुक्रबार सप्तरी जाने कार्यक्रम थियो,’ निधिनिकट स्रोतले भन्यो, ‘बिहानै जनकपुरको कार्यक्रम रद्द गरेपछि प्रधानमन्त्रीले पनि मन्त्रिपरिषद् बैठक आइतबारलाई सार्नुभयो, यसले उहाँलाई बैठकमै नराख्ने प्रधानमन्त्रीको नियत प्रस्ट देखियो ।’ निधिनिकट स्रोतका अनुसार उनी सप्तरीको राजविराजमा एमाले सभा बिथोल्ने क्रममा सुरक्षाकर्मीसँग भएको झडपमा परी ज्यान गुमाएका परिवारलाई शुक्रबार सरकारका तर्फबाट राहत वितरण र बिहीबार बिहानै जनकपुर जाने कार्यक्रम रहेको थियो ।
मन्त्रीसँगको छलफलमा उनले प्रधानमन्त्रीले आफ्नो हैसियत भुलेर प्रधानमन्त्री बनाइदिने कांग्रेसलाई नजर अन्दाज गर्न खोजेको आरोप लगाए । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणदेखि नै प्रधानमन्त्री र गृहमन्त्रीबीच उत्पन्न भएको विवादबीच राप्रपा अध्यक्ष कमल थापालाई आफूपछिको वरीयतामा रहने गरी उपप्रधानमन्त्री दिएपछि विवाद झनै चुलिएको छ ।

LEAVE A REPLY