प्रेम उपन्यास ‘मोनालिसा’ सार्वजनिक

0
151

काठमाडौँ । प्रेमलाई विषय बनाएर लेखिएको देवराज भन्तनाको उपन्यास ‘मोनालिसा’ साहित्यकार राजन मुकारुङले एक कार्यक्रमका बिच आज सार्वजनिक गरेका छन् । सर्वनाम थिएटर अनामनगरमा भएको कार्यक्रममा कवि तथा पत्रकार प्रकाश गुरागाईँले मोनालिसा उपन्यासमाथि सारपूर्ण समीक्षा प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै आख्यानकार मुकारुङ्ले भने– ‘लेखनका क्षेत्रमा नयाँ पुस्ता जन्मिने क्रम निरन्तर हुनुपर्ने र देवराज भन्तनालाई एक आशालाग्दो थालनीका रूपमा लिन सकिन्छ ।’ उपन्यासमाथि समीक्षा गर्ने क्रममा मुकारुङले ‘मोनालिसा भन्तनाको दोस्रो उपन्यास भए पनि आख्यानको बनोट निकै आशालाग्दो भएको कुरा बताए ।

साथै विचारबिना हामीले समाजलाई रूपान्तरण गर्न सक्दैनौं । विचार सहर केन्द्रित हुँदैछ भन्ने उदाहरण उपन्यासका पात्रहरू दिवाकर र पिताम्वरको भूमिकाबाट प्रष्ट भएको कुरा मुकारुङले बताए ।

प्रेमको अङ्ग्रेजी पर्याय ‘लब’ युवापुस्तामा बिस्तारै एउटा बिम्ब बनेर विकास हुँदैछ । फलानोको लव परेछ भन्यो भने र फलानोले प्रेम गर्छ भन्यो भने त्यसको सामाजिक अर्थ बेग्लै लगाउन थालिएको छ । अझ नेपाली समाजमा त यसले आत्मिकतालाई छोडेर पूरै दैहिक स्वरूप धारण गरिसकेको छ ।

नेपाली फिल्ममा समावेश भएका गीत होऊन् वा दोहोरीमा घन्कने नयाँ गायक गायिकाद्वारा गाइएका लोक गीत होऊन् तिनीहरूले पनि प्रेम वा लवलाई केटाकेटीका बिचमा हुने दैहिक सम्बन्धका रूपमा मात्रै विशिष्टीकरण गरेजस्ता देखिन्छन् ।

प्रेमको फराकिलो दायरा र जीवनको महान आधार बिस्तारै शारीरिक भोगमा केन्द्रित भइरहेको  बेलामा मोनालिसाले आत्मिक प्रेमलाई निकै सशक्त बनाएको छ । उपन्यास इन्डिगो इन्कले प्रकाशन गरेको हो ।

एक उत्तर छोड्न