बर्लिनमा आक्रमण भएको बजार खुला

210
Loading...

जर्मनीको बर्लिनमा आक्रमणमा परेर १२ जनाले ज्यान गुमाएको बजार फेरि खुलेको छ र आक्रमण दोहोरिन नदिनलाई प्रहरीले कंक्रिटको घेरा हालेका छन्।

त्यो आक्रमणमा परेर १२ जना मारिएका थिए र ४९ जना घाईते भएका थिए।

आइएसले आफ्नो लडाकुले त्यो आक्रमण गरेको बताएको छ तर कुनै प्रमाण दिएको छैन।

बर्लिनमा आक्रमण गर्न प्रयोग गरिएको लरीमा अनिस अम्रीको परिचयपत्र पाइएको थियो र अब उनको औंलाको छाप लरीको ढोकामा पाइएको जर्मन सञ्चारमाध्यमहरुले बताएका छन्।

प्रहरीले बर्लिन र डोर्टमण्डमा छापा मारेका छन् र डच सिमाना नजिकै अम्री बसेको शरणार्थी केन्द्रको पनि तलाशी गरेका छन्।

खोजी

आक्रमणपछि कतै देखा नपरेका ती संदिग्धको नाममा युरोपभरी पक्राउ पुर्जी जारी गरिएको छ।

ट्युनिशियामा रहेका उनका नातेदारले उनलाई आत्मसमर्पण गर्न आह्वान गरेका छन्।

बिल्ड समाचारपत्रले संघीय अभियोजनकर्ताको कार्यालयलाई उद्धृत गर्दै अम्रीसंग सम्बन्धित ४ जना मानिसलाई गिरफ्तार गरिएको बताएको छ।

तर अभियोजनकर्ताको कार्यालयका एकजना प्रवक्ताले त्यो खबर अस्वीकार गर्दै त्यस्तो कुनै गिरफ्तारी नगरिएको बताएका छन्।

पृष्ठभूमि

अम्रीलाई संयुक्त राज्य अमेरिकामा हवाई यात्रा गर्न निषेध गरिएको, उनले इन्टरनेटमा बमका बारेमा अनुसन्धान गरेको र कम्तीमा एकपटक आइएससंग सम्पर्क गरेको न्यू योर्क टाइम्सले बताएको छ।

अम्रीले आत्मघाती आक्रमणका लागि स्वेच्छिक प्रस्ताव गरेको तर उनको भनाई स्पष्ट नभएको हुनाले उनलाई गिरफ्तार गर्न नसकिएको स्पीगेल पत्रिकाले बताएको छ।

यसै वर्ष केही समय अघि अम्रीले आक्रमण गर्नका स्वचालित हतियार किन्ने उद्देश्यले चोरी गर्ने योजना बनाइरहेको आशंकामा उनीमाथि निगरानी राखिएको थियो।

तर निगरानी गर्दा गम्भीर अपराधको संकेत देखा नपरेपछि निगरानी रोकिएको बताइएको छ।

आपराधिक अभिलेख

उनले विगतमा धेरै अपराध गरेको अभिलेख छ र उनले जानाजान आगो लगाएकोमा इटलीको जेलमा ४ वर्ष बिताएका थिए।

उनको अनुपस्थितिमै उनलाई ट्युनिसियामा हिंसात्मक डकैती गरेको अपराधमा दोषी पाइएको थियो।

अम्री गत वर्ष जर्मनी पुगेको बताइएको छ।

उनी जुन महिनामा देशनिकाला गरिनुपर्ने थियो तर ट्युनिसियाबाट कागजात समयमा नपुगेकाले उनी जर्मनीमै रहेका थिए।

इनामको घोषणा

प्रहरीको एउटा सूचनामा अम्रीले प्रयोग गरेका ६ वटा भिन्नाभिन्नै छद्मनामहरुको सूची दिइएको छ।

उनले बेलाबेलामा आफूलाई इजिप्ट वा लेबननको भएको बताउँथे।

उनले हतियार बोकेको हुनसक्ने र उनी खतरनाक भएको भन्दै जर्मन अधिकारीहरुले उनीसँग सम्बन्धित जानकारी पाएर उनलाई गिरफ्तार गरिएमा त्यस्तो जानकारी दिने मानिसलाई १ लाख डलरभन्दा बढीको इनाम दिने घोषणा गरेका छन्।

लरीका पोलिश चालकसँगको भिडन्तमा अम्री घाईते भएको हुनसक्ने बताइएको छ।

Loading...

LEAVE A REPLY