बाटो विराएको विकास

0
702

 

– श्रीरामसिंह बस्नेत

नेपाली जनताको मुख्य चासोको विषय भनेको विकास नै हो । राष्ट्रिय योजना प्रारम्भ भएकै आधारमा भन्ने हो भनेपनि नेपालमा विकासको एकोहोरो राग अलाप्न थालिएको पनि ६० वर्ष नाधी सक्यो । तर विकासले अझसम्म न त सही बाटो पहिल्याउन सकेको छ, गन्तव्यको त कुरै छाडौं । नेपालमा सबैभन्दा बढि चर्चा हुने विषय सम्भवत विकास नै हो तर विडम्बना सबैभन्दा कम काम हुने क्षेत्र पनि विकास नै हुने गरेकोछ । पञ्चायत कालमा ‘ विकासको मुल फुटाउने ’, ‘ नेपाललाई एसियाली मापदण्डमा पु¥याउने ’, ‘ जनताको आधारभूत आवश्यकता पूरा गर्ने’ आदि नाराले देशव्यापी चर्चा त पाए तर देश र जनताले भने यसबाट खाशै केही पाएनन् । पञ्चायत पछि पनि विकास सधैं चर्चाको शिखरमै रह्यो तर जनताका आकाँक्षालाई समेट्न सकेन ।

मुख्य त नेपाल पहिला पनि र अहिले पनि विकासको मुल सिद्धान्त, नीति वा दर्शननै निक्र्यौल गर्न नसकी अल्मल भईरहेको पाइन्छ । त्यसैले पञ्चायतकाल देखि अहिलेसम्म निरन्तर नेपालको विकासको नाममा ओइरिने वैदेशिक सहयोग, अनुदान वा सहुलीयत ऋणले आशातित् प्रतिफल दिन सकेको देखिदैन । राज्यका नीति निर्माता, योजनाविद्, विकासविद्हरुले नेपाल र नेपालीको वास्तविक समस्या र आवश्यकताको सही आँकलन गर्र्न सकेनन् । यदि सकेको भए आज बन्न सक्ने कर्णाली राजमार्ग आजभन्दा २५ वर्ष अघि पनि त बन्न सक्दो हो ।

सरकार फेरिए पछि विकासको नीति, नियत सबै फेरिने हुनाले नेपालमा अहिलेसम्म विकासको ठोस र स्पष्ट परिभाषा नै स्थापित हुन सकेन । त्यसैले नेपालको विकासले बलियो झन् बलियो हुँदै जाने अनि निर्धो झन् निर्धो हुँदै जाने उल्टो बाटो समातेको पाइन्छ । खाशमा विकासको आधारभूत सिद्धान्त भनेको अत्यावश्यक वस्तुमा आत्मनिर्भर हुनपुर्ने हो । तर बिडम्बना विगतमा हामी आत्मनिर्भर रहेको क्षेत्रमा समेत अहिले परनिर्भर हुन बाध्य भईरहेका छौं । दैनिक उपभोग्य खाद्यान्न जस्तो आधारभूत आवश्यकताको आपूर्तिमा समेत आत्मनिर्भरता गुमाई परनिर्भर हुँदै जानु हाम्रो विकासले बाटो बिराएको ठोस प्रमाण हो । उर्बर खेतबारी बाँझै रहनु तर काम गर्ने जनशक्ति विदेशमा जोखिमपूर्ण काममा व्यस्त रहन बाध्य हुनु हाम्रो विकास नीति पूर्णतया असफल भएको दृष्टान्त हो ।

देशले नै विकासको सही परिभाषा र सिद्धान्त पहिल्याउन नसक्दा आम नेपाली जनता पनि विकासबारे दिग्भ्रमित हुन पुगेका छन् । कतिपयका लागि गाउँघरमा बाटोको ट्रयाक खोलिनु नै विकास भएको छ । एस्काभेटर अन्धाधुन्द कुदाएर बनाइएका ट्रयाकका कारण पहिरो जाने, खेतीयोग्य जमिन नष्ट हुने, पानीको मूल सुक्ने, जमिन भूमाफियाहरुको कब्जामा पर्नेजस्ता विकृति पनि एस्काभेटरको पछि लागेर नै आउने गरेका छन् । यसले गर्दा गाउँघरका रैथानेहरु आफ्नो पुख्र्यौली थातथलोबाट विस्थापित हुन बाध्य भईरहेका छन् । के यसलाई सही विकास मान्न सकिन्छ त ?

कुनै पनि देशले साँचो अर्थमा विकास गर्ने हो भने सर्व प्रथम आफ्नो देशको क्षमताको पहिचान र परिचालन गर्न सक्नु पर्दछ । प्रकृतिले नै दिएको यथेष्ट उर्बर भूमि, अनन्त जलस्रोत, प्राकृतिक सम्पदा र अनुकूल जलवायु नै नेपालको मुख्य क्षमता वा सम्पदा हुन् । यी क्षमतालाई पूर्ण रुपमा परिचालन गर्न सके मात्र नेपालले विकासको सही बाटो पहिल्याउन सक्नेछ । नेपाललाई कृषिप्रधान मुलुक भन्ने गरिएतापनि राज्यका नीति, नियमहरु कृषि केन्द्रित र किसानमैत्री कहिल्यै हुनसकेनन् । फलतः किसानहरु निर्वाहमुखी उत्पादनबाट माथि उठन सकेनन् भने नयाँ पुस्तामा किसान जन्मिनै पाएनन् । अतः विकासलाई सही बाटोमा डो¥याउन सर्बप्रथम यसको सर्वमान्य सिद्धान्त वा दर्शन प्रतिपादन गर्नु जरुरी छ ।
०००

एक उत्तर छोड्न