बुढी गण्डकीको पानी : राजनीतिक लाभ कि हानि ?

0
111

राष्ट्रवादी नारा लगाएर सत्तामा पुगेको वर्तमान सरकारले नेपालीले आफ्नै लगानीमा आफैँले बनाउने घोषणा गरिएको बुढीगण्डकी जलविद्युत् आयोजना फेरि चिनियाँ कम्पनीलाई सुम्पेको छ ।

यसअघि सानातिना आयोजनाका काम लिएर सम्पन्न गर्न नसकेको चिनियाँ कम्पनीलाई नै फेरि आयोजनाको काम सुम्पिएर वर्तमान सरकारले नेपाली जनतालाई आर्थिक भारमा पारेको मात्रै छैन, राष्ट्रिय राजनीतिलाई पनि धमिलो बनाएको छ ।

यसअघि विभिन्न आयोजना भारतलाई जिम्म लगाउँदा नदी बेचेको र देशैको बेचेको आरोप लगाउने कम्युनिष्टको सरकारले राष्ट्रिय गौरवको आयोजना अन्तै सुम्पेर आफ्नो राष्ट्रवादी चरित्र उदांगो पारेको छ । सरकारले १२ सय मेगावाटको बुढीगण्डकी आयोजना घुमिफिरी पुरानै चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड (सिजिजिसी)लाई जिम्मा लगाएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले कम्पनीसँग वार्ता तथा सम्झौता गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।

तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सरकार ढल्नै लाग्दा ऊर्जामन्त्री जनार्दन शर्मामार्फत सो कम्पनीलाई बुढी गण्डकी आयोजनाको जिम्म लगाए पनि त्यसको ५ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सो समझदारी खारेज गरेर नेपाल आफैले बनाउने निर्णय गरेको थियो । अहिलेको सरकारले सम्झौता रद्द भएको १० महिनापछि पुरानै कम्पनीलाई आयोजना जिम्मा लगाउने निर्णय गरेको छ ।

नेपाल सरकार आफैँले आयोजना निर्माणको काम गर्ने भनेर डिजेल पेट्रोलमा थप ५ रुपैयाँ लगाएको थियो । यसरी उठाइएको रकम साढे २३ अर्ब पुगिसकेको छ ।

जनताबाट अतिरिक्त शुल्क लिएर उठाइएको रकम अब विदेशी कम्पनीको हातमा पुग्ने निश्चित भएको छ । सो आयोजना चिनिया कम्पनीलाई जिम्म लगाएपछि एकातिर नेपाली जनताको रोजगारी गुमेको छ भने अर्कोतिर दक्षिणको छिमेकी राष्ट्र नेपालसँग चिढिने सम्भावना बढेको छ ।

नेपालको आयोजना कसलाई दिने भन्ने निर्णय गर्ने अधिकार स्वयं नेपाल सरकारलाई छ । तर, आफ्नै देशले निर्माण गर्ने भनेर एकपटक सम्झौता रद्द गरिसकेपछि फेरि सोही कम्पनीलाई पुरानै मोडेलमा काम गर्ने भनेर जिम्मा लगाउँदा नेपालको स्वाभीमानमा पनि आँच आउन सक्छ ।

वर्तमान सरकारले कसलाई खुसी पार्नका लागि हो वा कसलाई चिढ्याउनका लागि आयोजना सो कम्पनीलाई सुम्पेको हो भन्ने कुरा बिस्तारै खुल्दै जाला । तर, राष्ट्रिय महत्वको आयोजनामा यसरी पटक–पटक खेलबाड गरिँदा कसैको पनि राजनीति सप्रिएला भन्ने सोच्नु दिवासपना मात्रै हुनेछ ।

एक उत्तर छोड्न