माग घटेपछि फुल नष्ट गर्दै व्यवसायी

0
77

चितवन । कुखुराको चल्लाको माग घटेपछि ह्याचरी उद्योगले चल्ला उत्पादन गर्ने फुल(अण्डा) नष्ट गर्ने भएका छन् । देशभरका लेयर्स ह्याचरीले चल्ला उत्पादन गर्ने कुल फुलमध्ये आधा फुल नष्ट गर्ने र आधाको मात्रै उत्पादन गर्ने निर्णय गरेका हुन् । ह्याचरी उद्योग संघ चितवनका अध्यक्ष ज्ञानुराम बिसुरालका अनुसार केन्द्रीय समितिको बैठकले भोलि बुधबारदेखि सबै ह्याचरीले चल्ला उत्पादन गर्ने सेटर मेसिनमा आधा मात्रै फुल राख्ने निर्णय गरेको हो ।

देशभरमा १३ वटा लेयर्स ह्याचरी उद्योग सञ्चालनमा छन् । एउटा सञ्चालनमा आउने तयारीमा छन, जसमध्ये आठ वटा चितवनमा छन् । अठार दिन सेटर मेसिनमा फुल राख्ने गरिन्छ । त्यसपछि तीन दिन ह्याचरी मेसिनमा राखेपछि फुलबाट चल्ला निस्कने गर्दछ । गत महिनासम्म चल्ला प्रतिगोटा १ सय ७० मा बिक्री भइरहेकोमा माग घटेसँगै ७० मा समेत सहज बिक्री हुन छाडेपछि व्यवसायीले यस्तो निर्णय गर्नुपरेको बिसुरालले बताए । हाल लेयर्स चल्लाको लागत मूल्य १ सय रुपैयाँ पर्ने गरेको छ । उनका अनुसार उत्पादन घटाएर १ सय नघटाई चल्ला बिक्री गर्ने निर्णयसमेत भएको छ । एक सातामा २ लाख ५० हजार चल्ला उत्पादन हुने गर्दछ ।

यो मौसममा चिसो हुने भएकाले हुर्काउन कठिन हुने गर्दछ । सँगै खानाका लागि प्रयोग हुने फुलको मूल्यसमेत घटेपछि चल्ला राख्ने कृषक घटेका हुन् । नेपाल फुल उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार देशभर दुई हजार हाराहारी लेयर्स कुखुरा पाल्ने किसान छन् । कँडेलले भने, ‘मलाई ३० हजार चल्ला चाहिएको छ, खोर खाली छ, तर फुलको मूल्य देखेर चल्ला हाल्न सकेको छैन ।’ सबै किसानको अवस्था उस्तै रहेको कँडेलले बताए ।

हाल ह्याचरीमा एक लाख हाराहारी लेयर्सका माउ (प्यारेन्ट) रहेको बिसुरालले बताए । अमेरिका र युरोपबाट माउ ल्याउने गरिन्छ । फार्मसम्म आइपुग्दा एउटा माउको एक हजार २ सय पर्छ । नेपालमा हाइल्यान, लोम्यान र एचएन जातको लेयर्स प्यारेन्ट पालिँदै आएको छ । फुल २२ हप्ताबाट पार्न थाल्ने प्यारेन्टले ८० हप्तासम्म पार्ने गर्दछ ।

एक उत्तर छोड्न