श्रमिकलाई तोकिएभन्दा साढे ११ हजार कम तलब, अतिरिक्त काम गर्दा पनि न्युनतम परिश्रमिक पाएनन

0
79

काठमाडौं, असोज २८ । सुरक्षा गार्ड, घरेलु कामदारलगायतका श्रमिकले अतिरिक्त समय काम गर्दासमेत न्यूनतम पारिश्रमिक पाउँदैनन् आउटसोर्सिङ कम्पनीहरूले श्रमिकहरूलाई न्यूनतम पारिश्रमिक तथा सेवा–सुविधासमेत नदिई काममा लगाउने गरेको पाइएको छ ।

भक्तपुरका दीपेन्द्र पण्डित विगत १ वर्षदेखि साइराम सेक्युरिटी प्रालिमार्फत पुतलीसडकस्थित तिरुपति होटेलमा सेक्युरिटी गार्डका रूपमा दैनिक १२ घन्टा खटिन्छन् । तर, सोबापत उनलाई कम्पनीले मासिक १२ हजार रुपैयाँ उपलब्ध गराउँछ ।

तलब नगदमै बुझ्ने गरेका उनले सञ्चयकोष, उपदान, चाडपर्व खर्चलगायत अतिरिक्त खर्च केही पनि पाउँदैनन् । जबकि दैनिक ८ घन्टा मात्रै काम गर्दा पनि उनले न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ पाउनुपथ्र्यो ।

त्यस्तै, दोलखाका चित्रबहादुर भुजेल विगत ३ वर्षदेखि निसान सेक्युरिटी प्रालिमार्फत राजधानीका विभिन्न ठाउँमा सेक्युरिटी गार्डको काम गरिरहेका छन् । दैनिक १२ घन्टा काम गर्दा उनले मासिक १५ हजार रुपैयाँ मात्रै पाउँछन् ।

सुरक्षा गार्डको काममा खटिने श्रमिक मात्र नभएर आउटसोर्सिङ कम्पनीमार्फत सरसफाइलगायत अन्य काममा खटिने कामदारले पनि न्यूनतम पारिश्रमिक नपाएको बताउँछन् । नुवाकोटकी सानुमाया लामा पुतलीसडक क्षेत्रका बैंक र मलहरूमा दैनिक १२ घन्टा सरसफाइको काम गर्छिन् ।

तर, उनको मासिक पारिश्रमिक भने १२ हजार रुपैयाँ मात्रै छ । फ्यासिलिटी सर्भिस आउटसोर्सिङ कम्पनीमार्फत काम गरिरहेकी उनलाई सञ्चयकोष, उपदान, चाडपर्व खर्चलगायतका बारे जानकारीसमेत छैन । ‘गत महिनादेखि १ हजार रुपैयाँ तलब बढाइदिएपछि १२ हजार रुपैयाँ पुगेको छ,’ उनले भनिन् ।

दैनिक ४ घन्टा अतिरिक्त समय काम गर्दा न्यूनतम २३ हजार ५ सय ३७ रुपैयाँ पाउनुपर्ने अधिकांश श्रमिकले आठ घन्टाको समेत पूरा तलब पाउन मुस्किल परेको देखिन्छ ।

सरकारले १ साउनदेखि लागू हुने गरी दैनिक ८ घन्टा काम गर्दाकै न्यूनतम मासिक तलब १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । हाल मुलुकभर ३ हजारभन्दा बढी त्यस्ता कम्पनीमार्फत सुरक्षागार्ड, सरसफाइ कर्मचारी, कार्यालय सहायक, सवारीचालक, लेबरलगायत गरी चार लाख श्रमिक रोजगारीमा रहेको अनुमान छ ।

रोजगारदाताले श्रमिकलाई प्रतिदिन आठ घन्टा तथा हप्तामा ४८ घन्टाभन्दा बढी समय काममा लगाउँदा अतिरिक्त सुविधा दिनुपर्ने श्रम ऐनमा व्यवस्था छ । त्यसरी अतिरिक्त समय काममा लगाउँदा नियमित पारिश्रमिकको डेढ गुणा पारिश्रमिक दिनुपर्ने हुन्छ ।

रोजगारदाताले रोजगार सम्झौता नगरी कुनै पनि श्रमिकलाई काममा लगाउन पाउँदैनन् । रोजगार सम्झौता गर्दा नै श्रमिकले पाउने पारिश्रमिक, सुविधा, रोजगारीका सर्तलगायत विषय उल्लेख गर्नुपर्ने हुन्छ ।

विभागले नियुक्तिपत्र नदिई वा रोजगार सम्झौता नगरी काममा लगाउने रोजगारदातालाई प्रतिश्रमिक १० हजार रुपैयाँका दरले ५ लाख रुपैयाँसम्म जरिवाना गरी रोजगार सम्झौता गर्न आदेश दिन सक्छ ।

प्रत्येक श्रमिकले काम सुरु गरेकै मितिदेखि पारिश्रमिक तथा सबै किसिमका सेवा–सुविधा पाउने व्यवस्था कानुनले नै सुनिश्चित गरेको छ ।

आफ्नो धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक (न्यूनतम ८ हजार ४ सय ५५ रुपैयाँ) बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ ।

LEAVE A REPLY