सत्तारुढ–विपक्ष चर्काचर्की, सत्तापक्षले एमालेलाई सोध्यो–निर्वाचनमा जान तयार हो कि होइन ?, सरकार जसरी आउँछ, हामी त्यसैगरी प्रस्तुत हुन्छौंः प्रतिपक्ष

0
393

काठमाडौं । सभामुख ओनसरी घर्तिले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा सत्तापक्ष र विपक्षीबीच चर्काचर्की परेको छ ।
बैठकको सुरुमै सभामुखले सहमतिका आधारमा अघि बढ्न प्रस्ताव गरेकी थिइन् । तर एमालेले असंवैधानिक प्रस्ताव फिर्ता नलिएसम्म कुनै पनि विषयमा सहमति कायम हुन नसक्ने अडान राखेको थियो ।
“हामीले असंवैधानिक प्रस्तावको पक्षमा सहमत हुन सक्दैनौं भनेर भन्यौं,” एमाले नेता वामदेव गौतमले बैठकपछि पत्रकारहरुसँग भने, “सत्तापक्षले एमालेसहितको सहमतिमा प्रस्ताव अघि बढाउने प्रस्ताव गरेको थियो हामीले हुँदै हुँदैन भन्यौं ।”
“हामीले राष्ट्र विखण्डन हुने प्रस्तावमा हामी समर्थन गर्न सक्दैनौं भनेर भन्यौं,” गौतमले भने, “उहाँहरुले हामीलाई फेरि सोध्नुभयो । चुनावमा जानुहुन्छ कि जानुहुन्न ? हामी भन्यौं जान्छौं । उहाँहरुले फेरि संविधान संशोधन र निर्वाचनका बारेमा प्याकेजमा सहमति गरौं भन्ने प्रस्ताव ल्याउनुभयो । संशोधन प्रस्तावको पुच्छरमा निर्वाचनको कुरा ल्याइए यसमा पनि सहमत हुन सक्दैनौं भनेर हामीले जवाफ दियौं । संविधान संशोधनको पुच्छरमा निर्वाचनमा जान सकिँदैन ।”
उनले सरकार जसरी आउँछ त्यसरी नै प्रस्तुत हुने चेतावनी पनि दिए ।  “सहमति नभए संसद् बैठक निरन्तर अवरोध गर्छौं,” उनले भने, “सरकार जसरी आउँछ हामी पनि त्यसरी नै प्रस्तुत हुन्छौं ।”
कांग्रेस नेता रामचन्द्र पौडेलले प्याकेजमा सहमति गर्ने गरी वार्तामा बस्ने सहमति भएको बताए । उनले सभामुखले आफ्नो प्रक्रिया अघि बढाउने बताए ।
माओवादी नेता तथा अर्थमन्त्री कृष्ण बहादुर महराले कुनै पनि हालतमा संशोधन प्रस्ताव फिर्ता नहुने बताए ।
उनले पास वा फेल जे भए पनि संसद्बाटै हुने बताए । उनले २ दिन भित्रमा प्याकेजमा सहमति गर्ने गरी छलफल अघि बढेको बताए ।

एक उत्तर छोड्न