सरकारी कार्यालय नै तिर्दैनन् महसुल, खानेपानीको बक्यौता डेढ अर्ब

0
275

काठमाडौं : काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को झन्डै डेढ अर्ब रुपैयाँ महसुल उठ्न बाँकी छ। ०६४ सालदेखि केयुकेएलले खानेपानी वितरणबापतको महसुल उठाउन सकेको छैन। महसुल नतिर्नेमा राष्ट्रपति कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म छ। केयुकेएलका अनुसार सरकारमातहतका निकाय र निजी प्रयोजनका संस्था गरी एक अर्ब ४३ करोड रुपैयाँ महसुल उठ्न बाँकी छ। खानेपानी उपभोग गरेबापत निजी कम्पनीबाट एक अर्ब रुपैयाँ उठाउन बाँकी रहेको केयुकेएलले जनाएको छ। विभिन्न सरकारी निकायबाट २९ करोड १५ लाख सात सय ७०, संस्थानबाट ६ करोड ७५ लाख ९५ हजार ९ सय ८०, स्थानीय निकायबाट ६ करोड ४० लाख ५८ हजार ६ सय ६३ रुपैयाँ बक्यौता उठाउन बाँकी छ। बक्यौता उठाउन नसकेपछि खानेपानी मन्त्रालय गुहारियो पटक–पटक ताकेता गर्दा पनि बक्यौताबापतको रकम सरकारी निकाय र निजी कम्पनीबाट उठाउन नसकेपछि केयुकेएलले खानेपानी तथा सरसफाइ मन्त्रालय गुहारेको छ। खानेपानी तथा सरधसफाइमन्त्री जीवनबहादुर शाहीका प्रेस सल्लाहकार सुनील सापकोटाले खानेपानीको बक्यौता उठाउन केयुकेएलले मन्त्रालयलाई आग्रह गरेको बताए । ‘खानेपानीको बक्यौता उठ्न धेरै बाँकी रहेछ। केयुकेएलले मन्त्रालयलाई आग्रह गरेको छ। झन्डै डेढ अर्ब उठाउन बाँकी रहेछ। यस विषयमा मन्त्रालय गम्भीर भएको छ,’ उनले भने। मन्त्री शाहीले खानेपानीको बिल नतिर्ने सबै निकायको विवरण संकलन भएको जानकारी दिए। ‘खानेपानीको शुल्क नतिर्ने राष्ट्रपति कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म छन्। अब सबैलाई ३० दिनको म्याद दिई पत्र काटिनेछ। सो अवधिमा बक्यौता नबुझाउने जुनसुकै निकायको खानेपानी वितरण रोक्का गरिनेछ,’ उनले भने। यस्तो छ तयारी खानेपानी तथा सरसफाइ मन्त्रालयले खानेपानीको महसुल नतिर्ने सरकारी कार्यालयलाई खानेपानी वितरणमा रोक लगाउने तयारी गरेको छ। महसुल नतिर्ने सबै निकायको विवरण संकलन गरिसकेको मन्त्रालयले जनाएको छ। पत्र काटेको ३० दिनभित्र महसुल नतिर्ने निकायको खानेपानी वितरणमा रोक लगाइनेछ। मन्त्री शाहीले पहिलो चरणमा खानेपानीको महसुल नतिर्ने ३८ सरकारी निकायलाई पत्र काट्ने तयारी भएको जानकारी दिए। ‘खानेपानीको महसुल नतिर्ने सबै निकायको विवरण संकलन भइसकेको छ। पहिलो चरणमा ३८ निकायलाई पत्र काट्न निर्देशन दिइसकेको छु। भोलि नै पत्र सम्बन्धित निकायमा पुग्नेछ। पत्र काटिएको ३० दिनभित्र पनि महसुल तिरेनन् भने खानेपानीको लाइन काटिनेछ,’ उनले भने। यी हुन् खानेपानीको बक्यौता नतिर्ने सरकारी निकाय मन्त्रालयका अनुसार खानेपानीको महसुल नतिर्नेमा राष्ट्रपति कार्यालय, राष्ट्रपति निवास, उपराष्ट्रपति कार्यालय, उपराष्ट्रपति निवास, प्रधानमन्त्री कार्यालय, प्रधानमन्त्री निवास, सभामुख निवास, प्रधानन्यायाधीश निवास, व्यवस्थापिका–संसद् भवन, संसद् सचिवालय, मन्त्री क्वार्टर, सबै मन्त्रालय, सर्वोच्च अदालत छन् । त्यस्तै, राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल विद्युत् प्राधिकरणले पनि खानेपानीको महसुल तिरेका छैनन् । मन्त्रालयमातहतका विभाग र संस्थानहरूबाट समेत खानेपानीको बक्यौता उठाउन बाँकी छ। तीनवटै सुरुक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि खानेपानीको महसुल तिरेका छैनन्।

LEAVE A REPLY