सहुलियत कर्जा दिन राष्ट्र बैंकको निर्देशन

0
73

काठमाडौं । सरकारको घोषणा बमोजिम नेपाल राष्ट्र बैंकले सहुलियत कर्जाका लागि ब्याज अनुदान कार्यविधिमा उल्लेख भएका सबै कर्जा दिन बै‌क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।  राष्ट्र बैंकले बिहीबार सूचनामार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यविधि ०७५ अनुसार सहुलियतको ऋण दिन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले ०७४ सालको व्यवासायिक कृषि तथा पशुपालन र भूकम्प पीडितको घर निर्माणका लागि सामूहिक जमानीको निब्र्याजी ऋणसम्बन्धी कार्यविधि खारेज गरेर नयाँ कार्यविधिअनुसार ऋण दिन पनि निर्देशन दिएको छ ।

अर्थ मन्त्रालयले शैक्षिक प्रमाणपत्र धितो राखेर सुहलियत ऋण पाउने, विदेशबाट फर्केकाहरूले ऋण पाउने, महिला उद्यमको लागि ऋण, शैक्षिक कर्जा, दलित कर्जा, व्यावसायिक कृषि तथा पशुपालन र भूकम्प पीडितलाई सहुलियतमा ऋण दिन कार्यविधि बनाएको थियो ।

शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख रुपैयाँसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख रुपैयाँसम्म, १५ लाख रुपैयाँसम्म महिला उद्यमशील कर्जा, १० लाख रुपैयाँसम्म दलित समुदाय व्यवसाय विकास कर्जा उपलब्ध गराउने भएको हो ।

उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाख र ३ लाख रुपैयाँसम्म भूकम्प पीडितहरूको निजी आवास निर्माण गर्ने कर्जा पनि प्राप्त गर्न सकिनेछ । महिला उद्यमशीलता कर्जामा ६ र बाँकीमा ५ प्रतिशत ब्याज अनुदान सुविधा उपलब्ध हुने कार्यविधिमा उल्लेख छ ।

सहुलियतमा ऋण पाउनेले बैंकहरूले तोकेको आधारदरको घटीमा २ प्रतिशत ब्याजमा ऋण पाउनेछन् । यस्तो कर्जाको ब्याजदर बढीमा ७ प्रतिशतसम्म मात्रै हुनेछ । यस्तो कर्जाको भुक्तानी अवधि बढीमा पाँच वर्षको हुने पनि कार्यविधिमा भनिएको छ ।

उच्च शिक्षा हासिल गरेका युवालाई प्रदान गरिने शिक्षित युवा स्वरोजगार कर्जाका लागि बैंक तथा वित्तीय संस्थामा ऋणीले सक्कल शैक्षिक प्रमाणपत्र धितो स्वरूप राख्नुपर्छ । विदेशबाट फर्किएका युवाहरूलाई उनीहरूको सीपअनुसार परियोजना धितो राखेर ऋण उपलब्ध हुनेछ ।

कार्यविधिमा १० लाखभन्दा कम ऋण दिँदा अनिवार्य निक्षेप सुरक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ । कर्जा सुरक्षण गर्दा लाग्ने शुल्कको ७५ प्रतिशत सरकारले नै तिर्नेछ भने बैंकले २५ प्रतिशत व्यहोर्नेछन् । तोकिएको अवधिसम्म ऋण नतिरिए बैंकले सुरक्षण कोषबाट रकम लिन सक्नेछ ।

LEAVE A REPLY