सिन्धुलीमा फस्टायो गाँजाखेती : प्रहरीद्वारा करिब १५ करोडको गाँजा नष्ट

0
70

तस्करहरूले गाँजाखेतीको विकल्पका रूपमा सिन्धुलीलाई प्रयोग गर्न थालेका छन् । मकवानपुर, रौतहट, बारा र सर्लाहीको विकल्पका रूपमा तस्करहरूले सिन्धुलीलाई प्रयोग गर्न थालेको प्रहरी अधिकारी बताउँछन् । ‘मरिण क्षेत्रलाई ‘गाँजा हब’ का रूपमा विकास गर्न खोजेको देखिन्छ’ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले भने ।

मरिण क्षेत्रमा कुनै घटना भए मात्र प्रहरी पुग्ने गरेको छ । चहलपहलसमेत कम हुने भएकाले तस्करहरूले ‘सेफ जेन’ सम्झिएको उनले बताए ।

अघिल्लो वर्ष नष्ट नगरिँदा गाँजा खेतीले व्यापकता पाएको सामाजिक अगुवाहरू बताउँछन् । २५ देखि २७ पुस ०७३ मा प्रहरीले १६ बिघा जमिनमा लगाएको गाँजाखेती नष्ट गरे पनि ०७४ मा प्रहरीले नष्ट गरेको थिएन् । यस वर्ष भने करिब ६५ बिघा जमिनमा लगाइएको गाँजाखेती प्रहरीले एक साता (३० कात्तिकदेखि ६ मंसिरसम्म) लगाएर नष्ट गरेको छ । मरिण र हरिहरपुरगढी गाउँपालिकामा भारतीय लगानीमा गाँजाखेती भइरहेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ । गाँजाखेतीमा भारतीय नागरिकको लागनी रहेको समेत पाइएको छ ।

भारतीयले महँगो मूल्यमा गाँजा किन्ने र त्यसमा लाग्ने खर्चदेखि प्राविधिक सहयोगसमेत गर्ने गरेको स्थानीय कुमारी माया तामाङले बताइन् । भारतीयले प्रतिकट्ठा २ देखि ३ हजारका दरले जग्गा भाडा लिएर गाँजाखेती गर्ने गरेको र त्यसमा काम गरेबापत स्थानीयलाई ज्याला दिने गरेको उनले बताइन् । ज्यालामा काम गर्ने भएकाले साहुबारे थाहा नभएको उनले बताइन् । मरिण गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा बढी मात्रामा गाँजाखेती हुने गरेको स्थानीयको भनाइ छ ।

फँडानीमा सहभागी सबै प्रहरी बिरामी
निरन्तर एक सातासम्म गाँजा फँडानीमा लागेका ५५ जना प्रहरी बिरामी भएको प्रहरी निरीक्षक जयदेव माझीले बताए । ‘गाँजा फँडानीमा खटिएका मलगायत सबै प्रहरी बिरामी छाैं, हामी सबैलाई घाँटीको समस्या देखिएको छ,’ उनले भने, ‘ठूलो परिणाममा लगाएको गाँजाखेती नष्ट गर्ने काम भयो ।’
अझै करिब ७ देखि १० बिघामा गाँजाखेती बाँकी रहेको सूचना आएको समेत उनले बताए । पहिचान गरी केही दिनमा फडानी गर्ने उनको भनाइ थियो ।

एक उत्तर छोड्न