२८३ स्थानीय तहमा उम्मेदवारी दर्ता आज

0
513

काठमाडौं, १९ वैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत पहिलो चरणको उम्मेदवारी मनोनयन आज (मंगलबार) हुँदै छ । ७ सय ४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते तीन प्रदेशका ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहका लागि निर्वाचन हुन लागेको हो । उम्मेदवारी दर्ताका लागि बिहान १० देखि ५ बजेसम्मको समय तय गरिएको आयोगले जनाएको छ ।  संविधानसभाबाट बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्ने क्रममा हुन लागेको स्थानीय तहको ऐतिहासिक निर्वाचनले डेढ दशकदेखिको जनप्रतिनिधिको रिक्तताको अन्त्य गर्दै स्थानीय सरकार निर्माण गर्नेछ । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट निर्वा्चित हुने जनप्रतिनिधिबाट लोकतन्त्रको स्थानीय तहमै वास्तविक अभ्यास भई जनताले लोकतन्त्रको लाभको उपभोग गर्ने विश्वास आयोगले लिएको छ ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मंगलबार हुने उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारलाई आह्वान गरेका छन् । “पूर्व निर्धा्रित निर्वाचनका कार्यक्रममा कुनै फेरबदल नहुने भएकाले स्थानीय तहको निर्वाचनका लागि मंगलबार सबैको सहभागितामा हुने मनोनयन कार्यक्रमपश्चात् निर्वाचनका बारेमा उठेका शङ्का उपशङ्का र द्विविधा आफैँ हटेर जाने छन्”, उनले भने । उनले निर्वाचनका लागि उम्मेदवारी दर्ता भएसँगै उम्मेदवारलाई निर्वाचन आचारसंहिता लागू हुने भएकाले निर्वाचनको प्रचारप्रसार गर्दा आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिए ।  सरकारले स्थानीय तह निर्वाचनका लागि तीन तहको सुरक्षा व्यवस्था गरेकाले सुरक्षा योजनाको वास्तविक रुपमा कार्यान्वयन गरी सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउन उनले सबै सुरक्षा निकायलाई पनि निर्देशन दिइसकिएको जानकारी दिए ।

एक उत्तर छोड्न