अनलाइन निर्देशिका सच्याउन सरकार तयार

202
Loading...

21062016023811Sherdhan-Rai-1000x0
सरकार अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ सच्याउन तयार भएको छ ।
अनलाइनलाई बन्द नै गर्नेजस्ता संविधानविपरीतका प्रावधानको तीब्र विरोध भएपछि सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सच्याउन तयार रहेको बताए । ‘स्वतन्त्र सञ्चारमाध्यमलाई अंकुश लगाउन र हस्तक्षेप गर्न सरकारले कल्पना पनि गर्दैन,’ नेपाल पत्रकार महासंघको ज्ञापन पत्र बुझेपछि मंगलबार सिंहदरवारमा उनले भने, ‘त्यस्ता बुँदालाई सच्याएर अघि बढौं, यसैमा अलमलिनुपर्ने कारण छैन ।’

सञ्चारमन्त्री राईले अनलाइन सञ्चारमाध्यमलाई व्यवस्थित गर्दै सरकारी सेवासुविधासमेत उपलब्ध गराउने उद्देश्यले निर्देशिका ल्याएको जानकारी दिंदै सुझाव समितिको सुझावका आधारमा संशोधन गरिने बताए । उनले प्रेस काउन्सिलका अध्यक्ष, पत्रकार महासंघका अध्यक्ष र अनलाइन पत्रकार संघका अध्यक्ष रहेको तीन सदस्यीय सुझाव समितिको प्रस्ताव गरे ।

सुझाव समिति बनाउँदै निर्देशिका सच्याउने सञ्चारमन्त्रीको प्रस्तावलाई महासंघ अध्यक्ष डा. महेन्द्र विष्टले सकारात्मक भनेका छन् । ‘सञ्चारमन्त्रीको प्रस्ताव सकारात्मक छ,’ उनले कान्तिपुरसित भने, ‘महासंघ छलफल गरेर विषय टुंग्याउन केन्द्रित हुन्छ ।’

निर्देशिकाको ११ नम्बर बुँदामा उल्लेख भएको अनलाइन सञ्चारमाध्यम बन्द गर्नेसम्मको प्रावधानको महासंघसहित सञ्चारसम्बद्ध संघ संस्थाहरुले गम्भीर आपत्ति जनाउँदै आएका छन् । सञ्चारमन्त्री राईले भने महासंघसहित अनलाइन पत्रकारको मागअनुसार नै निर्देशिका ल्याएको जानकारी दिंदै व्यवस्थित बनाउने सरकारी पहलमा साथ दिन आग्रह गरे ।

महासंघ अध्यक्ष विष्ट नेतृत्वको टोलीले सञ्चारमन्त्री राईलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउँदै अध्यक्ष विष्टले निर्देशिकाले नागरिकको सूचनाको हकलाईसमेत कुण्ठित गर्ने भएकाले तत्सम्बम्धी प्रावधान हटाउन आग्रह गरे । महासंघले अनलाइन सञ्चारमाध्यमलाई सूचीकरण गर्ने प्रावधानमा सकारात्मक रहेको उल्लेख गर्दै तर दर्ता, सूचना विभागबाट अनुगमन र निरीक्षणको व्यवस्थाप्रति पनि असहमति प्रकट गरेको छ ।

महासंघले अनलाइन सञ्चारमाध्यमलाई विद्यमान प्रेससम्बन्धी कानुनी व्यवस्था अन्तर्गत संरक्षण, व्यवस्थापन र सुविधा प्रदान हुनुपर्नेमा सुशासनसम्बन्धी ऐनमा टेकेर प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रावधानप्रति पनि आपत्ति प्रकट गरेको छ ।

LEAVE A REPLY