अमेरिकाको डालसमा कसरी भयो पाँच प्रहरीको हत्या?

248

dallas_attack_ap

अरू दिन जस्तै गएको बिहीबार पनि शान्त नै थियो डालस। दिन भरीको कामको थकान पछि घर फर्किने र त्यही कामको थकान मेटाउन बारहरुमा छिर्नेको भीडले होला सायद – डालसको डाउनटाउन भने अलि व्यस्त थियो। केही घण्टा भित्रै अमेरिकालाई नै तर्साउने गरी डालसमा आईलाग्ने जोखिमका बारेमा पुरै अनभिज्ञताका साथ स्थानीयहरुको रात अघि बढिरहेको थियो।
तर त्यो भयो जसको कल्पना कसैले गरेको थिएन। अमेरिकामा २००१ को सेप्टम्बर ११ मा भएको सबै भन्दा ठूलो आतंककारी हमला पछि दोस्रो ठूलो आक्रमण भयो स्थानीय सुरक्षाकर्मी माथि।
अन्धाधुन्द गोली बर्सियो, कसले कता बाट प्रहार गरेको भन्ने पत्तो नै नपाई पाँच सुरक्षाकर्मीको प्राण गयो। जनजीवन आतंकित बन्यो र सिङ्गो अमेरिका नै सम्भावित थप दुर्घटनाको भयमा चिन्तित बन्यो र त्यो क्रम जारी छ।
कसले सुरक्षाकर्मीको ज्यान लियो भन्ने नाम स्थानीय प्रशासनले सार्वजनिक गरे पनि किन र कसरी भन्ने प्रश्न अझै अनुत्तरित छन्। सतहमा देखिएको र प्रहरी प्रशासनबाट प्राप्त जानकारी अनुसार माईका जेभिएर जोन्सोनले चलाएको लामो दुरीको ‘स्नाइपर राइफल’ ले पाँच जना सुरक्षाकर्मीको प्राण लियो भने अन्य सात सुरक्षाकर्मी र दुई सर्वसाधारण घाइते भएका छन्।
के भएको थियो डालसमा?:
अश्वेत वर्णका दुई युवाहरूलाई प्रहरीले मारेको विरोधमा सयौको सङ्ख्यामा जम्मा भएका डालस क्षेत्रका बासिन्दाहरु बिहीबार साँझ सात बजे स्थानीय ‘बेलो गार्डेन’ मा जम्मा भएका थिए। गत मङ्गलबार लुजियाना राज्यको बाटोन रोग सहरका ३७ वर्षीय आल्तोन स्ट्रालिंग र बुधवार मीनोसोयोटा राज्य स्थित सेंट पउलका ३२ वर्षीय युवा फिलान्डो कास्टिललाई प्रहरीले बिना कारण हत्या गरे पछि त्यसको विरोधमा डालस बिहीबार राति उर्लिएको थियो।
विगत केही महिनादेखि हरेक साता जसो अमेरिकाका कुनै न कुनै सहरमा सामान्य ‘अपराध’ मा समेत प्रहरीको अनावश्यक बल प्रयोगबाट अश्वेत वर्णका युवाले ज्यान गुमाउँदै आएका छन्। सुरक्षाकर्मीको यो कार्यलाई वर्ण विभेदको संज्ञा दिँदै अमेरिकाको अश्वेत समुदाय क्रोधित छ र आफूमाथि राज्यबाट भएको भनिएको अन्यायको विरोधमा उत्रिएको छ।
आफ्नो समुदाय माथि राज्यले गरेको यो अन्याय र दमनका विरुद्ध अश्वेत समुदायले ‘ब्ल्याक लाइभ म्याटर्स’ आन्दोलन नै सुरु गरेको छ जसको समर्थनमा अमेरिका भरीका सबै वर्णका सामाजिक अगुवाहरुले आफ्नो मत जाहेर गरेका छन्।
अश्वेत समुदायका युवाहरूलाई प्रहरी प्रशासन र कानुनले गर्ने व्यवहार अरू भन्दा फरक रहेको आरोप उनीहरूको छ। त्यसो भएर अमेरिकाको वर्तमान कानुनमा नै ‘रिफर्म’ आवश्यक रहेको जिकिर सामाजिक अगुवाहरुले गर्दै आएका छन्। अमेरिकाका विभिन्न सहरहरूमा विरोधका कार्यक्रमहरू भई रहेका छन्, बिहीबार डालसमा आयोजित शान्तिपूर्ण जुलुसको पनि लक्ष्य आफ्नो आवाज बुलन्द पार्नु थियो, आफ्नो गुनासो सुनाउनु थियो।
तर त्यो राति शान्तिका साथ् डालसको ‘मेन स्ट्रिट’ तर्फ लम्कदै गरेको जुलुस अचानक गोलीको आवाजले तितर बितर भयो। पहिले त जुलुसका सहभागीलाई लाग्यो कि गोली प्रहरीले चलायो। ‘सुरुमा त हामीले पुलिसले सुट आउट गर्‍यो भन्ने सोच्यौं तर केही मिनेट पछि एक प्रहरीले आफ्नो वाकीटकी सेटमा ‘अफिसर डाउन’ भनेको सुनेपछि मलाई लाग्यो कि आक्रमण प्रहरी माथि भएको छ’, जुलुसमा सहभागी मध्ये एक टिफिनी एडवार्डले सेतोपाटीलाई आफ्नो अनुभव सुनाइन्।
शान्तिका साथ् अघि बढेको जुलुस अचानक अमेरिकालाई नै तर्साउने गरी अशान्त बन्यो। आफ्नो कर्तव्यमा तल्लिन पाँच निर्दोष प्रहरीले बिहीबारको राति अनाहकमा ज्यान गुमाए।

यो घटनामा ज्यान गुमाउने पहिलो सुरक्षाकर्मी थिए ४३ वर्षीय ब्रेंट थोम्प्सोन। प्याट्रिक ज़ाम्पपरिक थिए दोस्रो प्रहरी जसले बिहीबार यो संसार छोडे। अफगानिस्तानमा समेत सेवा गरेका प्याट्रिक हालै मात्र पिता बनेका थिए।

मिसिगन राज्यबाट केही वर्ष पहिले टेक्सस बसाइ सराई गरेका ४० वर्षीय माइकल क्रोल तेस्रो अभागी प्रहरी थिए जसले बिहीबार रात आफ्नो प्राण गुमाए।
प्रहरीको सेवाबाट ‘रिटाएर’ हुने तयारीमा रहेका ५५ वर्षीय माइकल स्मिथले पनि बिहीबार राति आफ्ना साना दुई छोरीलाई टुहुरो पार्दै संसार छोडे।

डालस प्रहरी विभागमानै अनुसन्धान अधिकृतका रूपमा कार्यरत आफ्नी जवान श्रीमती र १० वर्षीय छोरी अनि ८ वर्षीय छोरालाई एक्लो पार्दै यो संसार छोड्ने पाँचौ र अन्तिम प्रहरी थिए लोर्ने येहरन्स।

कुनै अन्य राज्यमा प्रहरीले अश्वेत वर्णका युवामाथि आन्याय गेरको भए पनि त्यसको सजाय भने डालसका निर्दोष प्रहरीले पाए। उनीहरूका परिवारले पाए।
को हुन् अभियुक्त्त माईका जेभिएर जोन्सोन?:
अश्वेत वर्णका २५ वर्षीय माइक पूर्वअमेरिकी सैनिक हुन् जसले मार्च २००९ देखि अप्रिल २०१५ सम्म अमेरिकी सेनामा सेवा गरेका थिए।
देशका लागि आफ्नो ज्यान समेत बाजी थापेर नोभेम्बर २०१४ देखि जुलाई २०१५ सम्म माइकले अफगानिस्तानमा समेत सेवा गरेका थिए। टेक्ससमा नै रहेको ४२० औं इञ्जिनियरिङ्ग ब्रिगेडबाट सेवा निबृत भएका माइकको यो घटना अघि कुनै पनि ‘क्रिमनल रेकर्ड ‘ नभएको प्रहरीले जनाएको छ।
बिहीबार राति प्रहरीसँग भएको मुठभेडका क्रममा स्वचालित रोबोट बमका माध्यमले प्रहरीले माइकाको हत्या गरेको थियो। डालसका प्रहरी प्रमुख डेविड व ब्राउनका अनुसार माइकालाई आत्मसमर्पणका लागि प्रयाप्त अवसर दिइएको थियो। प्रहरीसँगको दोहोरो बादबिबादका क्रममा माइकाले आफू कुनै पनि ‘समूह’ सँग आबद्ध नभएको बताए तर श्वेत वर्णका प्रहरी नै आफ्नो निशानामा रहेको उनीहरू हत्या नै आफ्नो योजना रहेको बताएका थिए।

LEAVE A REPLY