एथ्लेटिको मड्रिड र वायर्न म्युनिख नकआउट चरणमा

473

काठमाडौँ । स्पेनिस क्लब एथ्लेटिको मड्रिड र जर्मन क्लब वायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समुह चरणको खेलमा एथ्लेटिको मड्रिडले नेदरल्याण्डको पिएसभी एन्थोबलाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोलाइ जिताउन केविन गामेइरो र एन्टोनी ग्रिजम्यानले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औ मिनेटमा गामेइरोले गोल गर्दै एथ्लेटिको मड्रिडलाइ सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६६ औ मिनेटमा ग्रिजम्यानले गोल गर्दै एथ्लेटिको मड्रिडलाई जित दिलाए । पिएसभीमाथिको जितपछि पाँच खेलबाट १५ अंक जोडेको एथ्लेटिको समूह डीको विजेता बनेको छ । एथ्लेटिको मड्रिड समुह चरणको अन्तिम खेलमा पराजित भएपनि समुह बिजेता बन्ने छ ।  किनकी दोस्रो स्थानको वायर्न म्युनिखको मात्र ९ अंक छ ।  यसै समुह अन्तर्गत बुधबार राती भएको खेलमा जर्मन क्लब वायर्न म्युनिखले एफसी रोस्तोभसँग ३–२ को अप्रत्यासित हार व्यहोरेको छ ।  रोस्तोभलाई जित दिलाउन एज्मोउन, पोलोज र नोबोएले गोल गरे । वायर्नका डुग्लस कोस्टा र बेर्नाटले एक एक गोल गरेपनि टोलीको हार टार्न सकेनन ।  रोस्तोभसंग पराजित भएपनि वायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्यो । समुह डी को दोस्रो स्थानमा रहेको वायर्नको ९ अंक छ । वायर्नलाई पराजित गरेपनि तेस्रो स्थानको रोस्तोभको मात्र ४ अंक छ ।

LEAVE A REPLY