कसले लुट्यो आधा अर्बको सौन्दर्य ?

337
Loading...

काठमाडौं–सफा र चाक्ला लेन छुट्ट्याइएका सडक । न खाल्डा न कतै धुलो । हरियाली र गमलाको सजावटयुक्त फुटपाथ । व्यवस्थित बिजुली, टेलिफोन तार । साँझ सोलार बत्तीले झिलिमिली । २०७१ मंसिरताका राजधानीका सडकमा देखिएको यो सौन्दर्य अहिले सम्झनामा मात्र छ । सार्क शिखर सम्मेलनताका फेरिएको राजधानीको सौन्दर्य दुई वर्षमै हराएर फेरि सहर उस्तै कुरुप भएको छ ।

सडकमा खाल्डै खाल्डा छन् । फुटपाथ उस्तै फोहोर देखिन्छ । सडकछेउका पर्खाल नानाथरी नाराले पोतिएका छन् । नाली हेरिसक्नु छैन । काठमाडौं महानगरपालिकाले नियमित सरसफाइ तथा रेखदेख गर्न नसक्दा करोडौंं खर्चिएर गरिएको सजावट बालुवामा पानी भएको छ । महानगरपालिकाकै कमजोरीले सौन्दर्य कायम रहन नसकेको जानकार बताउँछन् ।

सार्क सम्मेलनका बेला महानगरपालिका आफैंले राजधानीको सजावटका लागि भन्दै १८ करोड रुपैयाँको कार्यक्रम तय गरेको थियो । सबैभन्दा बढी रानीपोखरी सजावट गरी संगीतमय पानीको फोहरा सञ्चालन गर्ने भन्दै ५ करोड, तीनकुनेमा पार्क बनाउन १ करोड, झन्डा फहराउन १ करोड ४० लाखका फ्ल्याग पोल, सरसफाइ शीर्षकमा ५० लाख, सरसफाइमा प्रयोग हुने सवारीसाधन खरिदका लागि १ करोड ५० लाख, खुलामन्चको हरियाली प्रवद्र्धनमा ३४ लाख, गमलाका लागि २० लाख, ट्री गार्डका लागि २० लाख, शान्तिवाटिका रङरोगनमा १० लाख, स्वागतद्धार निर्माणमा १० लाख र मर्मतसम्भारमा  ५० लाख तथा विविध शीर्षकमा ३६ लाखसमेत गरी करिब १८ करोडको बजेट तथा कार्यक्रम बनाएको थियो । महानगरपालिकाको नियमित काम भन्दै फास्ट ट्र्याकबाट टेन्डर आह्वानसमेत गरेको थियो ।

अर्थ मन्त्रालयले महानगरको मागअनुसार ०७१ असोजमा ७ करोड ८० लाख उपलब्ध गराएको थियो । महानगरपालिकाले त्यसमा १० करोड बजेट थपेर कायक्रम तय गरेको थियो । तय गरिएका कार्यक्रममध्ये सबै कार्य सम्पन्न भने महानगरपालिका गर्न सकेको थिएन । महानगर वित्त शाखाका अनुसार त्यसबेला ८ करोड ८४ लाख रुपैयाँ खर्च गरेर सजावटका लागि १७ वटा काम गरेको छ ।

यता, काठमाडौं उपत्यका विकास प्राधिकरणले पनि सार्क सम्मेलन बेला ९ करोड रुपैयाँ खर्चिएको थियो । प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीका अनुसार ९ करोड रंगरोगन, सजावट तथा पूर्वाधार निर्माणमा  खर्चिएको हो । ९ करोडमा अहिले देखिने भनेको नारायणचौर पार्क, कमलपोखरीको सजावट र तीनकुने–माइतीघर सडकमा रोपेका बिरुवाबाहेक अन्य केही बाँकी छैन । तीनकुने–माइतीघरका बिरुवा संरक्षण जिम्मा नेपाल टेलिकमले लिएको छ । ‘९ करोडमा अहिले देखिने भनेको यही तीनवटा हुन्,’ तिवारीले भने, ‘अरु सजावट भने महानगरपालिकाले संरक्षण नगरेकाले रहेनन् ।’

त्यसैगरी सडक विभागले पनि सार्क सम्मेलनका बेला पूर्वाधार तथा सजावटका लागि भन्दै अर्थ मन्त्रालयले ३४ करोड विनियोजन गरेको थियो । विभागका सहायक प्रवक्ताका अनुसार ३४ करोडमध्ये ८५ प्रतिशत बजेट खर्चिएर सजावट तथा पूर्वाधार निर्माण कार्य गरेको थियो ।

त्यस्तै, अन्य निकायले पनि सार्क सम्मेलनका लागि भन्दै पूर्वाधार तथा सजावटका काम गरेका थिए । त्यस्तै सहरी विकास मन्त्रालयको सहरी विभागबाट पनि बजेट खर्च भएको छ । मन्त्रालयका अनुसार विभागले करिब १८ करोड रुपैयाँ राष्ट्रिय सभागृहलाई व्यवस्तिथ गर्न मात्रै खर्चिएको छ ।

‘१८ करोड हाराहारी सभागृहमा खर्च भएको थियो,’ सहरी विकास मन्त्रालयका प्रवक्ता शिवहरि शर्माले भने, ‘त्यसका अलावा विभागले अरु रकम पनि सजावटमा खर्चिएको छ ।’ उनका अनुसार त्यसबेला प्राधिकरण, महानगरपालिका, सडक विभाग, सहरी विकास मन्त्रालय लगायत अन्य धेरै संस्थाले सहरी सौन्दर्य बढाउने काम गरेका थिए । सबै संस्थाको हिसाब गर्ने हो भने आधा अर्बभन्दा बढी हुने देखिन्छ । यति धेरै खर्चिएर सिँगारिएको राजधानीमा अहिले केही पूर्वाधार बाँकी रहे पनि सुन्दरता भने बाँकी छैन ।

‘त्यसबेला त राजधानीमा रहँदा विदेशमा छु जस्तो लागेको थियो,’ बानेश्वरका नवराज खत्री भन्छन्, ‘गरे त हुने रहेछ भनेजस्तो लागेको थियो तर धेरै समय रहेन ।’ त्यसबेलाको सुन्दरता महानगरपालिकाको कमजोरीका कारण नरहेको प्राधिकरण प्रमुख आयुक्त तिवारीको ठहर छ । ‘महानगरपालिकाले त्यसबेलाको सुन्दरता जोगाउन सक्नुपथ्र्यो,’ तिवारीले भने, ‘जिम्मेवार निकायको ध्यान नपुग्दा करोडौं खर्चिएर कायम गरिएको सुन्दरता अहिले कमै मात्र बाँकी छ ।’

रोपिएका बिरुवा हुर्काउने, सरसफाइ गरी सुन्दरता कायम राख्ने जिम्मा महानगरपालिका र सडक विभागलाई दिइएको थियो । सार्क सम्मेलन बेला गरिएको सजावट कायम राख्न किन सकिएन भन्नेबारे महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ ‘किन भएन कर्मचारीसँग बुझ्नुपर्ने’ भन्दै पन्छिए ।
‘सार्क सम्मेलनका बेला म आएकै थिइनँ, कुन शीर्षकमा महानगरपालिकाले कति खर्च गरेको छ भनेर सम्बन्धित शाखासँग बुझ्नैपर्छ,’ उनले भने, ‘सोधपुछपछि मात्रै आफूले यस विषयमा बोल्नु उपयुक्त होला ।’

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की सुन्दरता कायम रहन नसक्नुमा महानगरपालिका मात्र दोषी नभएको बताउँछन् । ‘नागरिकमा यो हाम्रो हो र हामीले नै संरक्षण गर्नुपर्छ भन्ने चेतना नै छैन,’ प्रवक्ता कार्कीले भने, ‘बाटो हिँड्दै गर्दा गमलामा लात्ती हान्दै हिँड्छौं, जंक फुड खाएर जता पनि खोल फ्याँक्छौं । घरको फोहोर सडकमा हुत्याउँछौं ।’

नागरिकमा चेतना नभएसम्म महानगरपालिकाले मात्र सुन्दरता कायम राख्न नसक्ने उनी बताउँछन् । कर्मचारी कमीले पनि महानगरपालिकाले गर्नुपर्नेजति काम गर्न नसकेको स्विकार्दै थप गर्न सरकारसँग कुरा भइरहेको कार्कीले बताए ।

महानगरपालिका वातावरण विभागका प्रमुख रविमान श्रेष्ठ पनि सफाइ कर्मचारीले दैनिक सरसरफाइ गरिरहेको, रेखदेख गरिएको दाबी गर्छन् । ‘अहिले सडक विस्तार, आइल्यान्ड बनाउनेलगायत पूर्वाधार कार्य भइरहेको छ,’ श्रेष्ठले भने, ‘यो सकिएपछि महानगरपालिकालाई सार्क सम्मेलनकै बेलाको जस्तो पार्छौं ।’

सहरी विकास मन्त्रालयका प्रवक्ता शिवहरि शर्मा सुन्दरता कायम राख्न महानगरपालिकाले भूमिका नखेलेको बताउँछन् । सहरभित्रको दैनिक क्रियाकलापमा महानगरपालिकाले गर्नुपर्छ भन्दै उनले भने, ‘हामी विकास गर्न हतारिन्छौं तर त्यसको दिगोपन तथा संरक्षणका लागि भने सोच्ने गर्दैनौं ।’ विकासे संस्था धेरै हुँदा तर मर्मतसम्भार बजेट कमी हुँदा यस्तो भएको हुनसक्ने उनको भनाइ छ ।

 

LEAVE A REPLY