कार किनेपछि यी कुरामा ध्यान दिनुहोस्

377
Loading...

k

तपाईंसँग कार छ र त्यसको स्याहार सम्भार तथा सुरक्षामा ध्यान दिनुभएन भने यसको स्वरुप नराम्रो हुनुका साथै बिग्रेर धेरै दुःख दिने र असुरक्षित हुनसक्छ।

कुनै पनि कार किनिसकेपछि यसका बारेमा केही सामान्य कुरामा ध्यान नदिँदा पनि समस्या आउने गरेको टोयोटा नेपालका सेल्स एण्ड मार्केटिङ विभागका सिनियर म्यानेजर महेन्द्र श्रेष्ठ बताउँछन्।

केही सामान्य कुरामा ध्यान दिइयो भने आफ्नो कार सुरक्षित र राम्रो अवस्थामा राख्न सकिने श्रेष्ठको भनाइ छ।

उनी भन्छन्, ‘सामान्य कुरामा पनि हाम्रो ध्यान गइरहेको हुँदैन। जस्तो, हाम्रो संस्कारमा नयाँ सामान किनेपछि पुजा गर्ने चलन छ। कार पुजा गर्दा अबिर, लड्डु र फूल सिधै स्टेरिङमा चढाउने पनि गर्छन्। तर यसो गर्नाले त्यो चढाएको सामानको टुक्राहरु स्पार्क प्लगसम्म पुगेर बिग्रेको धेरै केस छ।’

ससाना कुरा याद नगर्दा र थाहा नहुँदा कारले दुःख दिने सम्भावना बढ्ने श्रेष्ठ बताउँछन्।

‘पुजा गर्दा अबिर, लड्डु र फूल स्टेरिङमा यसरी नचढाउनुहोस् भनेर हामी कार किन्न आउने ग्राहकलाई सुरुमै सल्लाह दिने गरेका छौँ’ उनले भने ‘के समस्या होला लाग्ला, तर यो जटिल बन्न सक्छ। त्यसैले।

आफ्नो र कारको सुरक्षाका लागि जहिले पनि चलाउनु अघि इन्जिन आयल, रेडिएटरको पानी, ब्रेक आयल, टायरलगायत अन्य करा जाँच गर्नुपर्ने यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिका सिनियर टेक्निकल सुपरभाइजर मान श्रेष्ठ सुझाव दिन्छन्।

‘आफ्नो गाडी सधैँ सफा राख्नुपर्छ र यसमा सामान्यभन्दा केही परिवर्तन देखिएमा आफ्नो आधिकारिक सर्भिस सेन्टरमा लगेर देखाइहाल्नु पर्छ। यसले जोखिम न्यूनिकरणमा मद्दत पुर्याउँछ,’ टेक्निकल सुपरभाइजर श्रेष्ठले भने।

त्यस्तै आजभोलिका कार कम्प्यूटर र सेन्सर भएको हुँदा कारमा कुनै किसिमको ‘एक्सटर्नल वाइरिङ’ नगर्न पनि उनले सुझाव दिएका छन्। यसले कम्प्यूटर प्रणाली बिगार्ने सम्भावना हुन्छ। यदि गाडीको कम्प्यूटर प्रणालीमा केही समस्या भए कम्बिनेसन मिटरमा ‘माल्फंसन लाइट’ बल्ने र त्यसो भएमा तुरुन्त आधिकारिक सर्भिस सेन्टरमै गएर बनाउँदा राम्रो हुने उनी बताउँछन्।

सामान्यतया तल उल्लेखित कुरा विचार गर्दा कारको स्याहार सम्भार र सुरक्षा दुवै राम्रो हुनसक्छ।

पार्किङः
कारलाई तातो घाममा सिधै नराख्ने। यसले कारको रङ खुइलिदैँ जान्छ र चमक कम गर्छ। घामले कारको इन्टिरियर पनि बिगार्छ। त्यसैले कार पार्क गर्दा ग्यारेज वा छायाँ पर्ने शितल ठाउँमा गर्ने वा कभरले ढाक्ने।

ब्याट्रीः
कारको विद्युतीय प्रणालीका लागि ब्याट्री प्रमुख छ। धेरै तापक्रममा कारको ब्याट्री बिग्रने सम्भावना बढ्छ। त्यसैले गर्मीमा धेरै लामो समय चलाइसकेपछि केही समय इन्जिन अफ गरी राख्ने।
ब्याट्रीको चार्ज के कस्तो छ भन्ने बारे जानकार हुने र चार्ज गर्दा पनि सही रेटमा गर्ने। त्यस्तै यसमा धुलो जम्न नदिई सफा राख्नुपर्छ।

टायरः
टायरले कारको सुरक्षाका साथै इन्धन खपतमा पनि विशेष भूमिका खेल्छ। त्यसैले यसको अवस्थाबारे थाहा पाइराख्नुपर्छ। टायरमा हावाको चाप (एयर प्रेसर) कम वा बढी भए समस्या आउँछ। यात्रा गर्नु अघि एयर प्रेसर राम्ररी जाँच गरेर मात्र हिँड्ने। त्यस्तै टायरबीच सन्तुलन कायम छ भनेर पनि निश्चित गर्नुपर्छ।

इन्जिन आयल (लुब्रिकेन्ट):
इन्जिन आयलले इन्जिन संचालनमा मद्दत पुर्याउने मात्र नभएर यसले पाटपूर्जा पनि सफा राख्न मद्दत गर्छ। त्यसैले बेला बेलामा इन्जिन आयल जाँच गरी फेर्नुपर्ने भए फेर्नुपर्छ। इन्जिन आयल सधैँ राम्रो ग्रेडको र सकेसम्म आफ्नो कार कम्पनीले सिफारिश गरेको हाल्नुपर्छ। आयल अधिक सूचांकभन्दा बढी पनि हाल्नु हुँदैन।

कूलिङ सिस्टमः
स्पीडमा र गर्मीमा कार चलाउँदा कूलिङ सिस्टममा दबाब पर्छ। त्यसैले यसमा विशेष ख्याल राख्नुपर्छ। कूलिङ सिस्टम जाँच गर्दा इन्जिन सेलाएको बेला गर्ने र तातो हुँदा कहिले पनि रेडिएटर क्याप ननिकाल्ने। कूल्यान्ट लेभल नियमित जाँच गर्ने र सके प्रत्येक वर्ष परिवर्तन गर्ने। यदि कूलिङ सिस्टम बारम्बार भर्नुपर्ने भएको छ भने यो लीक भएको हुनसक्छ।

ब्रेकः
कुनै पनि सवारी साधनको लागि ब्रेक एकदमै महत्वपूर्ण अंगहो। बिग्रेको र राम्ररी काम नगर्ने ब्रेकले जोखिम तथा खतरा बढाउँछ। ब्रेक आयल नियमित जाँच गर्नुपर्छ।

सरसफाइ गर्ने सामानः कार सफा गर्दा राम्रो गुणस्तरीय र सफा सामानले गर्ने। धुलो फोहोर कपडा वा स्पन्जले कार कोरिन सक्छ र जति नै सफा गरे पनि राम्रो हुँदैन। त्यस्तै सकेसम्म घामबाट जोगाउने वाक्स लगाउने।

कारको एयर फिल्टर पनि जाँच गर्नुपर्छ र परेमा फेर्नुपर्छ। रेडिएटर पनि बेलाबखत नरम ब्रसले सफागर्नुपर्छ। त्यस्तै यसमा पानीको लेभल सधैँ जाँच गर्ने।

कारको बाहिरी भागमा चराको दिसा, पेट्रोल वा डिजेल परेमा तुरुन्त सफा गर्ने। चराको दिसामा धेरै एसिड हुने यसले कारको पेन्टीङमा असर पुर्याउने हुनाले तुरुन्त सफा गर्नुपर्छ।

गर्मीमा कार भित्र दुर्गन्ध नहोस् भनेर यसका सिट बेलाबखत सफा गर्ने। कभर हालेको भए धुने। तलको भागमा फ्लोर म्याट ओछ्याउने र त्यसलाई पनि निकालेर सफा गर्ने।

कारका झ्याल, ड्यास बोर्ड, अगाडि पछाडिको सिसा सफा राख्ने। इन्धन हाल्दा जहाँ पायो त्यहीँको, जस्तो पायो त्यस्तै नहाल्ने।

कारको भित्री भाग सफा गर्दा, लाइटहरु खोल्दा, लुबिक्रेन्ट हाल्दा सकेसम्म पन्जा लगाएर गर्ने।

यति मात्र नभएर कार अति तीव्र गतिमा नचलाउने, सुरक्षा मापदण्डअनुसार चलाउने, नियमित सर्भिसिङ गराउने, गरेमा वर्षौँसम्म पनि राम्रो कन्डिसन र सुरक्षित अवस्थामा चलाउन सकिने टेक्निकल सुपरभाइजर श्रेष्ठ बताउँछन्।

त्यस्तै कारबाट कुनै असामान्य वा नराम्रो आवाज आएमा कुनै स्पेयर पार्ट बदल्न पर्ने हुनसक्ने हुनाले बनाउन लगि हाल्नुपर्ने उनी बताउँछन्।

LEAVE A REPLY