केसीको समर्थनमा ‘अर्धनग्न सुतेका’ युवा

213

g

चिकित्सा क्षेत्रमा व्याप्त भ्रष्टाचार अन्त्यको माग गर्दै १४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा हजारौं मानिस सडकमा ओर्लिए।
‘आइएमविथ डाक्टर केसी’, ‘सबै कुरा प्रस्ट छन्, अख्तियारमै भ्रष्ट छन्’ ‘लोकतन्त्र कि लुटतन्त्र?’ ‘माफियाको मिसन, सिटामोलमा पनि कमिसन’ लगायत नारा लेखिएका प्लेकार्ड र ब्यानरसहितको जुलुसमा युवा सहभागिता उल्लेख्य थियो। उनीहरूले केसीको समर्थन र भ्रष्टाचारको विरोधमा नारासमेत लगाएका थिए।
ती हजारौंको भीडमा पाँच जना युवा भने यस्ता थिए, जो मौन थिए।
उनीहरूको मौन सहभागिता मात्र होइन, रूपरंग र विरोधको शैली पनि अन्यभन्दा फरक थियो।

आङमा कालो कट्टु मात्र लगाएका उनीहरूले आफ्नो पैतालादेखि मुडुलो टाउकोसम्म डा. केसीका माग कालो अक्षरमा लेखेका थिए। जुलुसको बीचमा हिँडेका उनीहरूले आँखा चिम्लेका थिए। घरि सडकमै लम्पसार पर्थे, घरि हात समातेर गोलो घेरामा फन्का लगाउँथे। एउटा लड्ने अर्कोले तुरुन्तै समात्ने। आँखा चिम्लिएर एकछिन सालिकझैं टक्क उभिने, अनि भित्तामा टाउको ठोक्काउने।
माइतीघरबाट सुरु भएर नयाँबानेश्वर पुगेको जुलुसमा अरूभन्दा भिन्न क्रियाकलाप गर्ने ती पाँच युवा हुन्, हितमान गुरुङ, मेख लिम्बु, सुवास तामाङ, लवकान्त चौधरी र विकास श्रेष्ठ।

hindionlinenews

त्रिपुरेश्वरस्थित ‘आट्र्री नेपाल’ नामक संस्थामा आबद्ध यी कलाकारले समाजका जल्दाबल्दा विषयलाई कलाका विभिन्न माध्यमबाट विरोध, व्यंग्य र समर्थन जनाउँदै आएका छन्। डा. गोविन्द केसीको सत्याग्रह आन्दोलनमा पनि उनीहरूको समर्थन रहँदै आएको छ।
समूहका एक कलाकार तथा उक्त पर्फमेन्स आर्टका परिकल्पनाकार हितमान गुरुङले केसीका जायज मागमा सम्बन्धित निकायका जिम्मेवार व्यक्तिको मौनताले केसीको ज्यान खतरामा परेपछि कलाका माध्यमबाट विरोध गर्न सडकमा ओर्लिएको बताए।
‘कलाकार भएकाले मात्र हामीले यसो गरेका होइनौं, अन्यायविरुद्ध लड्न सबैले आफूले जानेको काम गर्नुपर्छ भन्ने मान्यताको उपज हो,’ उनले शनिबार सेतोपाटीसँग भने।
डा. केसीको यसअघिका सातवटै अनसनमा ऐक्यबद्धता जनाउँदै आएका उनीहरूले आठौं अनसनको आठौं दिन बितेपछि फरक तरिकाले सहभागिता जनाउने सोच बनाएका थिए।

‘डा. केसीले व्यक्तिगत स्वार्थका लागि अनसन बस्नु भएको होइन,’ गुरुङले भने, ‘सम्पूर्ण जनताको अधिकारका लागि माग उठाउँदा पनि यहाँ ठूलो मौनता देखियो। जसले बोल्नैपथ्र्यो ऊ नै मौन रहनु भनेको ठूलो खतराको संकेत हो। जनतामा जे परे पनि मौन बसिदिने संस्कार रहेको हामीले पायौं। त्यही मौन संस्कारको विरोधमा सामाजिक सञ्जालबाट अभियान थाल्यौं।’
सामाजिक सञ्जालमा उनीहरूले सुरुमा पूरै अँध्यारो पोस्टर सार्वजनिक गरे। दोस्रो दिन त्यही अँध्यारोलाई पृष्ठभूमि बनाएर मधुरो अक्षरमा केसीका माग लेखिएका पोस्टर राखे। तेस्रो र चौथो दिनमा ती माग विस्तारै चहकिलो बन्दै स्पष्ट देखिने भयो।

‘हुन त सबैले आ–आफ्नै ढंगमा कलालाई अथ्र्याउन पाउँछन्,’ सामाजिक सञ्जालका तस्बिरबारे कलाकार गुरुङ भन्छन्, ‘तर, हाम्रो हिसाबले भन्दा बिल्कुलै अँध्यारोको अर्थ मौनता हो। मधुरो हुँदै चहकिलो बनेको अक्षरको अर्थ सम्पूर्ण जनताले केसीको माग जायज हो भन्ने बुझिसके या बुझ्न थालिसके भन्ने हो। मुडुलो टाउको देखिने तस्बिरबाट चाहिँ अब जनता उठ्नेछन् भन्ने अर्थ लगाउन सकिन्छ।’
सामाजिक सञ्जालमा उनीहरूले यस्तो किसिमको विरोध जनाइरहँदा डा. केसीको मागको समर्थनमा सर्वसाधारण सडकमा ओर्लिन सुरु गरिसकेका थिए। शनिबार विशाल जुलुस हुने खबर सुनेपछि कलात्मक ढंगले सहभागी हुने निर्णय गरे।
‘पर्फमेन्स आर्ट मौनतामै किन?’ भन्ने प्रश्नमा कलाकार गुरुङको भनाइ छ, ‘मौनताभित्र आवाज नहुने होइन, झनै ठूलो शक्ति हुन सक्छ। हामीले मौन भाषामा आवाज नै बोलेका हौं।’

उनीहरूको समूहमा फोटोग्राफी, चित्रकला, पर्फमेन्स आर्ट जानेका कलाकार थिए। उनीहरूले जुलुस अवधिभरि ‘पर्फमेन्स आर्ट’ गर्ने तयारी गरेका थिए। त्यसका लागि चार घन्टा लगाएर पैतालादेखि टाउकोसम्म डा. केसीका माग लेखाए।
जब ११ बज्यो, त्रिपुरेश्वरको गल्लीमा रहेको आट्र्री नेपालको स्टुडियोबाट साथीहरूको सहयोगमा ती पाँच युवा मौन र आँखा चिम्लिएर थापाथली, माइतीघर हुँदै बानेश्वर पुगे। अनि व्यंग्य, विरोध र समर्थनका अनेक अमूर्त क्रियाकलाप देखाउन सुरु गरे।
उनीहरू गोलो घेरा बनाएर घरि घुम्थे, घरि आँखा चिम्म पारेर टक्क अडिन्थे, घरि भित्तामा टाउको ठोक्थे। उनीहरूले यसो गरिरहँदा पर्रर ताली र सुइय सिट्ठी पनि बजे।
ती क्रियाकलापका खास अर्थचाहिँ के थिए त?
गुरुङको भनाइमा कलाकारले कुनै प्रस्तुतिको अर्थ ठ्याक्कै यही हो भनेर अथ्र्याउन भन्दा पनि दर्शककै बुझाइलाई प्राथमिकता दिनुपर्ने हुन्छ। ‘कलाको सौन्दर्यपक्ष नै यही हो, सबैले आफ्नो तरिकाले सोच्न पाउँछन्,’ उनी भन्छन्, ‘हामी जब आँखा चिम्लिएर मौनतामा हिँड्यौं तब हाम्रो आँखा मात्र बन्द थियो, हामीले सबै सुनिरहेका थियौं। यसको मतलब सरकार सुनिरहेको छ तर आँखा चिम्लिएको छ र चुप छ भन्ने हो।’
13754266_10208572506624245_3548797394014416748_n

त्यस्तै, भित्तामा टाउको ठोक्काउनुको अर्थ कठोरताका बाबजुद डा. केसी लडिरहेका छन्, लम्पसार पर्नुको अर्थ डा. केसीको अनसन अवस्था, एउटा लड्ने र अर्कोले थाम्नुको अर्थ कोही सकारात्मक व्यक्ति लड्न लाग्दा अरूको साथ, फन्का लगाएर एकछिन टक्क उभिनुको अर्थ डा. केसीका माग आमजनतालाई बुझाउनु भन्ने अर्थ लाग्ने गुरुङले बताए।
पर्फमेन्स आर्ट प्रस्तुतिपछि कलाकार गुरुङले अनुभव साटे, ‘पर्फमेन्स आर्टलाई धेरैले नबुझ्ने भन्छन्। तर नबुझ्ने होइन सबैले आ–आफ्नो तरिकाले बुझ्ने हुन्। यहाँ धेरै मानिसले हुटिङ गर्नु नै बुझेको प्रमाण हो। यसले हामी सफल भयौं भन्ने लाग्यो।’
शनिबारको प्रस्तुति सफल भएकोमा खुसी मान्दै डा. केसीको मागमा सरकार अब पनि चुप बस्छ भने अझै सशक्त कलात्मक प्रस्तुति लिएर सडकमा आउने कलाकार गुरुङको भनाइ छ।

LEAVE A REPLY