गगन थापा मन्त्री बन्दा संसदीय समितिमा चिन्ता !

316
Loading...

gagan-thapa

काठमाडौं, १० भदौ — व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापा मन्त्री बनेपछि व्यवस्थापिका संसदको अर्को समितिको प्रमुखको पद रिक्त भएको छ । मन्त्री बनेपछि सभापति पद स्वतः रिक्त हुने संसद नियमावलीको व्यवस्था छ । संसदीय समितिको सभापति बनेर गगन थापाले जलस्रोत समिति र संसद सचिवालयमै राम्रो छाप छाडेर गएका छन् । ‘मिनि पार्लियामेन्ट’ भनिने संसदीय समितिको कामलाई गगनले नयाँ गति र ऊर्जा दिएका थिए । संसदीय समितिको सभापतिका रूपमा गगनले उत्कृष्ट कार्यसम्पादन गरेको समितिका सदस्यहरू र समितिका अधिकारीहरू बताउँछन् । संसदीय समितिको सभापतिका रूपमा गगनको भूमिका अतुलनीय रहेको एमाले सांसद काशीनाथ अधिकारी बताउँछन् । ‘संसदीय समितिको सभापतिका रूपमा गगनजीको भूमिका एकदम महत्वपूर्ण थियो । वास्तममै सृजनशील ढंगले काम भइरहेको थियो,’ अधिकारीले लोकान्तरसँग भने, ‘सरदरभन्दा माथिको भूमिका हो । मन्त्री भएपछि पनि फरक भूमिका अपेक्षा गरिएको छ ।’ एमाले सांसद अधिकारी गगनको आवश्यकता मन्त्रीभन्दा पनि समितिका लागि बढी आवश्यक रहेको टिप्पणी गरे । ‘उहाँको नेतृत्व समितिमा समितिले केही राम्रा कामको थालनी गरेको थियो, ती एजेन्डा अलपत्र पर्छन् कि भन्ने चिन्ता छ । राम्रो सपना भएको नेता हो । मन्त्री भएपछि हामीले सक्षम सभापतिलाइ ‘मिस’ गरेका छौं,’ सांसद अधिकारीले भने । जलस्रोत समितिको सभापतिको हैसियतमा थापाले ५० वर्षे ऊर्जा सुरक्षा नीति निर्माणका लागि अवधारणापत्र तयार गरेका थिए । यस्तै लोडसेडिङ अन्त्यका लागि उपसमिति बनाएर विद्युत् विकासको प्रगतिको बारेमा नियमित छलफल चलाइराखेका थिए । ‘माननीय गगन थापाले विषयवस्तुप्रति पूर्वजानकारी र राख्नुहुन्थ्यो, विषयवस्तुमा गहिरो अध्ययन गर्नुहुन्थ्यो,’ समिति सचिव आनन्द अधिकारीले भने, ‘विषयवस्तुप्रतिको पूर्वअध्ययनका कारण संसदीय समितिका बैठक तार्किक र सान्दर्भिक देखिन्थ्यो ।’ समिति सचिव अधिकारी अरूको कुरा सुन्ने र छिटो कुरा बुझ्ने भएका कारण गगन थापासँग काम गर्न सजिलो भएको बताउँछ । ‘कृषि र ऊर्जाको क्षेत्रमा केही गरौं भनेर उहाँ लाग्नुभएको थियो, उहाँको कामबाट हामी प्रभावित छौं,’ सचिव अधिकारीले भने । अब सभापति को बन्ला ? थापा मन्त्री भएपछि जलस्रोत समितिको सभापतिको पद स्वतः रिक्त भएको छ । काँग्रेसको भागमा परेको जलस्रोत समितिमा काँग्रेसका तर्फबाट रामेश्वर ढुङ्गेल, कमल पंगेनी, तप्तबहादुर विष्ट वा किरण यादवमध्येबाट एकजना सभापति बन्ने काँग्रेस स्रोतले बतायो । जनार्दन शर्मा ऊर्जामन्त्री बनेपछि संसदको लेखा समितिको सभापति पनि रिक्त छ । दुवै समितिमा सभापति निर्वाचन प्रक्रिया छिट्टै अघि बढ्ने सचिवालय स्रोतले जनायो

LEAVE A REPLY