गाईलाई अब चुनाव चिन्ह बनाउन नपाउने, राप्रपा नेपालको चुनाव चिन्ह खोसिने निश्चित

846
Loading...

राष्ट्रिय जनावर गाईलाई अब कुनै पनि राजनीतिक पार्टीले आफ्नो चुनाव चिन्ह बनाउन नपाउने भएका छन्।

राजनीतिक दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३ मा राष्ट्रिय चिन्हलाई कुनै पार्टीको झण्डा र चुनाव चिन्ह बनाउन नपाउने प्रावधान राखिएको छ।

प्रस्तावित कानुन पारित भए चौथो शक्ति राप्रपा नेपालले प्रयोग गर्दै आएको गाई चुनाव चिन्ह गुम्नेछ।

विधेयकको दफा ६ को दल दर्ता हुन नसक्ने व्यवस्थाको उप दफा (ङ) ले ‘दलले प्रयोग गर्ने झण्डा वा चिन्ह नेपालको राष्ट्रिय झण्डा वा राष्ट्रिय चिन्ह वा अन्तराष्ट्रिय संस्थाको झण्डा वा चिन्ह अनुरुप हुने वा मिल्ने देखिएमा’ भनेर उल्लेख गरेको छ।

यही दफाको उपदफा (छ) ले पनि ‘दलको उद्धेश्य नाम चिन्ह वा झण्डा नेपालको धार्मिक वा साम्प्रदायिक एकतामा खलल पार्ने वा बिखण्डित गर्ने प्रकृतिको भएमा वा सार्वजनिक नैतिकता प्रतिकुल भएमा’ दर्ता गर्नै प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ। नेपालको संविधानको धारा २६९ को उपधारा ५ मा यस्तो व्यवस्था गरिएको छ।

‘कुनै राजनीतिक दलको नाम उद्धेश्य, चिन्ह वा झण्डा देशको धार्मिक वा साम्प्रदायिक एकतामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको रहेछ भने यस्तो राजनीतिक दल दर्ता हुने छैन।’

निर्वाचन आयोग सम्बन्धी कानुन पारित भए पछि मात्रै लागू हुने भएकोले लागू नहुँदासम्म निर्वाचन आयोगले कुनै प्रतिक्रिया दिन नमिल्ने आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले सेतोपाटीलाई बताए। ‘सांसदहरुले कानुनको मर्यादा बुझ्नुभएको छ उहाँहरूले कानुन बनाएपछि त्यसलाई आयोगले कार्यान्वयन गर्छ,’ उनले भने।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले राष्ट्रिय जनवार गाई राख्नका लागि आफूहरुले संघर्ष गरेको भन्दै प्रस्तावित कानुन पारित भए मात्रै यस बिषयमा प्रतिक्रिया दिने बताए।

‘कानुन बनेपछि कार्यान्वयन गर्नुपर्छ त्यो भन्दा पहिलानै हामी हाम्रा कुरा राख्छौ,’उनले भने।

आफूहरूको चुनाव चिन्हका रुपमा गाई स्थापित भइसकेकोले यसलाई सबैले बुझ्ने उनको बिश्वास छ। ­­­

LEAVE A REPLY