गृहमन्त्रीको प्रस्तावमा सुजातालाई ५० लाख, स्वास्थ्यमन्त्री थापाको असहमति

1084

सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई उपचार खर्च स्वरूप ५० लाख दिने निर्णय गरेकोमा स्वास्थ्यमन्त्री गगन थापाले असहमति जनाएका छन् ।

उनले उपचार खर्च स्वरूप १५ लाख भन्दा बढी दिन नपाइने कार्यविधि विपरीत कोइरालालाई पैसा दिने निर्णय सरकारले गरेको उनले बताए ।

उनका अनुसार स्वास्थ्य मन्त्रालयले विशिष्ट व्यक्तिहरूलाई उपचार खर्च दिनुपरेको खण्डमा के कसरी उपचार खर्च दिने भनेर मन्त्रिपरिषदमा केही दिन अघिनै प्रस्ताव लगेको छ ।

शुक्रवारको मन्त्रिपरिषदको नियमित बैठकमा उक्त कार्यविधि बारे अन्तिम टुंगो लगाउने कार्यतालिका रहेको भए पनि सो दिन मन्त्रिपरिषद बैठक नभएको र आइतवार आफू नभएको समयमा चोरबाटो बाट पैसा दिने निर्णय गरिएको उनले बताए ।

‘पैसा दिन परेको खण्डमा पनि त्यो प्रस्ताव स्वास्थ्य मन्त्रालयले लैजाने विषय हो,’ उनले भने, ‘आज म पोखरामा भएको अवस्थामा बैठक बसेर चोरबाटोबाट पैसा दिने निर्णय भएको छ ।’ उनले मन्त्रीमण्डलमा रहेका सबै सदस्यलाई उक्त कार्यविधि र त्यो भन्दा अघि संसदको अर्थ समितिले दिएका निर्देशनको बारेमा जानकार रहेको समेत बताए ।

संसदको अर्थ समितिले विशिष्ट व्यक्तिलाई उपचार खर्च दिनुपनुपरेको खण्डमा १५ लाख भन्दा बढी नदिन सरकारलाई निर्देशन दिइसकेको छ । सरकारले गृहमन्त्री विमलेन्द्र निधिको प्रस्तावमा कोइरालालाई ५० लाख दिने निर्णय गरेको लोकान्तरलाई जानकारी प्राप्त भएको छ ।

मन्त्रिपरिषद स्रोतका अनुसार निधिले सहयोगका लागि प्रस्ताव गरेका थिए । यस अघि संसदको अर्थ समितिले सरकारलाई १५ लाख भन्दा बढी उपचार खर्च कसैलाई पनि नदिन निर्देशन दिएको थियो ।
कोइरालालाई केही हप्ता अघि स्तन क्यान्सर भएको पुष्टि भएको थियो ।

उनले उपचारका लागि एक करोड सहयोग गर्न सरकारलाई अनुरोध गरेकी थिइन् । हाल उनी उपचारका लागि सिंगापुर प्रस्थान गरेकी छिन् ।

LEAVE A REPLY