चिकित्सक पक्राउ प्रकरणको अद्योपान्त: लहरो तान्दा पहरो खस्यो

810
Loading...

d

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले नक्कली प्रमाणपत्रधारी चिकित्सकविरुद्ध अपरेसन क्वाक सञ्चालन गरिरहेको छ । नेपाल मेडिकल काउन्सीलसितको समन्वयमा उसको अभियान अघि बढेको हो ।

मेडिकल काउन्सीलका एक पदाधिकारीले चिकित्सक पक्राउ प्रकरणको इतिवृत्तान्त बताएका छन् । आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा उनले भने, ‘पक्राउ परेकाहरुलाई नक्कली प्रमाणपत्रधारी भन्न मिल्छ, नक्कली डाक्टर भन्न मिल्दैन ।’

उनको वर्णन जस्तो तस्तैः

डाक्टर नक्कली होइनन्

नक्कली डाक्टर भन्ने कुरा मिडियाले लेखेको कुरा हो । हामीले त नक्कली प्रमाणपत्र लिएका मात्र भनेका हौं । नक्कली प्रमाणपत्र लिएका धेरै चिकित्सक सक्कली छन् । उनीहरुले अरुसरह एमबिबिएस र मेडिकल काउन्सीलको जाँच पास पनि गरेका छन् । आइएस्सी वा एसएलसीको प्रमाणपत्र नक्कली भएकै आधारमा उनीहरुलाई नक्कली डाक्टर नै भन्ने त ? पक्कै पनि मिल्दैन ।

नेपाल मेडिकल काउन्सिलमा झण्डै सत्र हजारको हाराहारीमा चिकित्सक दर्ता छन् । काउन्सिलमा दर्ता हुनका लागि कुनै पनि चिकित्सकले काउन्सिलको परीक्षा पास गरेकै हुनुपर्छ । बिना जाँच पास कसैले पनि काउन्सिलको लाइसेन्स लिन नपाउने हुँदा उनीहरुलाई नक्कली डाक्टर पक्कै भन्न मिल्दैन ।

त्यसो भए मिडियाले उनीहरुलाई किन नक्कली डाक्टर भनिरहेको छ त ?

कुनै पनि चिकित्सकले नेपाल मेडिकल काउन्सिलको परिक्षा दिनु पुर्व एसएलसी, आइएस्सी तथा एमबिबिएसको प्रमाणपत्र बुझाउनु अनिवार्य हुन्छ । त्यही प्रमाणपत्र बुझाउने क्रममा कतिपयले एसएलसी र आइएस्सीको प्रमाणपत्र नक्कली देखाउनु नै अहिलेको मुख्य समस्या हो । कसै-कसैकोे भने एमबिबिएसको सर्टिफिकेट नै नक्कली फेला परेको छ । र, त्यही प्रमाणपत्रका आधारमा अहिले सिबिआईले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गर्दै अनुसन्धान अगाडि बढाइरहेको छ ।

नक्कली प्रमाणपत्र लिएकाहरुमध्ये पनि कोही एसएलसी पास छन् तर उनीहरु आइएस्सी फेल भएकाले नक्कली प्रमाणपत्र किनेर एमबिबिएस गरेका छन् । केही आइएस्सीमै फेल भए तापनि उसको प्रमाणपत्रमा प्रथम श्रेणीमा पास भएको देखिएको छ, त्यो पनि अब्बल नम्बरका साथ । त्यस्तै, कतिपय पास त भएका छन् । तर थोरै नम्बर आएकाले नम्बर बढाउन नक्कली सर्टिफिकेटको सहारा लिएका छन् ।

जस्तैः डाक्टर पढ्न आइएस्सीमा कम्तीमा ५० प्रतिशत अंक ल्याउनुपर्छ । तर, उसको जम्मा ४५ प्रतिशत मात्र आयो । त्यसैले उसले ७०/८० प्रतिशत अंक देखाउन नम्बर बढायो । त्यस्तै कसैले ५१ प्रतिशत पनि ल्याएका छन् । तर, राम्रो कलेजमा भर्ना हुन पनि नम्बर बढाएका छन् । अझ केही त एसएलसीदेखि एमबिबिएससम्म नै फेल भएका पनि छन् ।

यसरी तानियो लहरो

नेपाल मेडिकल काउन्सिलमा जाँच दिन बसेका दुई नक्कली विद्यार्थीको पक्राउ लगत्तै यो कुरा बाहिर आएको हो । पहिले-पहिले काउन्सिलको परिक्षाको फारम अनलाइन भर्ने चलन थिएन । जसले गर्दा कुनै पनि विद्यार्थीले एउटाको परिचय पत्रमा अर्कोको फोटो टाँसेर जाँच दिनसक्थ्यो । त्यो प्रक्रियालाई बन्द गर्न हामीले करिब एक वर्ष पहिले अनलाइन फारम भर्ने व्यवस्थाको सुरुवात गरेका थियौं । अनलाइनमा फारम भर्दा प्रमाणपत्र पनि अनलाइन नै बुझाउनु पर्ने भयो । यसले सबै कुरा पारदर्शी गरायो ।

त्यही पारदर्शिताकै कारण हामीले अरुको नाममा जाँच दिन खोज्ने दुईजना विद्यार्थी पक्राउ गर्न सफल भयौं । उनीहरुलाई अनुसन्धान गर्ने क्रममा उनीहरुले एउटा आठ पटक र अर्को १३ पटक फेल भएका चिकित्सकको नाममा जाँच दिन आएको फेला पार्‍यौं ।

उनीहरुलाई प्रहरीमा पनि बुझाइयो । मुद्दा अदालतसम्म पुग्यो । तर अदालतले यस्ता गल्तीको लागि कुनै कानुनी व्यवस्था नभएको भन्दै भोलिपल्टै छोडिदियो । यसले काउन्सिललाई झक्झकाउन मद्दत मिल्यो । बुझ्दै जाँदा एसएलसीमा संलग्न हुने नक्कली विद्यार्थीलाई सजाय दिने कानुनी व्यवस्था भएपनि नेपाल मेडिकल काउन्सिलको जाँचमा बस्ने नक्कली विद्यार्थीलाई सजाय हुनै कानुनी व्यवस्था नै रहेनछ ।

त्यही त्रुटीलाई अविलम्ब सच्याउन काउन्सिलले कानुनविद् सहितको एउटा कमिटी नै गठन गरिससकेको छ । साथै कानुन संशोधधन गर्ने जिम्मा समेत सुम्पिसकेको छ । संशोधित कानुनलाई यथाशिघ्र मन्त्रिपरिषदबाट पास गराउन कमिटी क्रियाशील छ ।

कसरी दिइन्थ्यो लाइसेन्स ?

पहिले कुनै लाइसेन्स प्राप्त डाक्टरले प्रमाणित गरेको आधारमा लाइसेन्स दिने व्यवस्था थियो । अर्थात् एउटा डाक्टरले उसको प्रमाणपत्र सक्कली हो भनेर सर्टिफाई गरिदिएको खण्डमा उसले लाइसेन्स पाउथ्यो । यसमा विकृति आएपछि काउन्सिलको परीक्षा पनि पास गर्नुपर्ने व्यवस्था गरिएको हो । तर, त्यसरी जाच दिँदा पनि एउटाको प्रवेश पत्रमा अर्कैको फोटा चिप्काउने चलन हावी भयो । त्यसैले अनलाइन सिस्टममा गइयो ।

यसरी खस्यो पहरो

काउन्सिलको परीक्षामा ८ पटक र १३ पटकसम्म फेल भएका विद्यार्थी फेला पारेपछि यस्ता विद्यार्थी अरु कति रहेछन् भनेर काउन्सिलले पाँच वर्ष यता जाँच दिने सबै विद्यार्थीको विवरण छानबिन गर्‍यो । छानबिन गर्ने क्रममै काउन्सिलले करिब १६० को हाराहारीमा त्यस्ता विद्यार्थी फेला पार्‍यो । उनीहरुको प्रमाणपत्र स्क्रिनिङ गर्दै जाँदा उनीहरुको प्रमाणपत्र नै नक्कली भएको पत्ता लागेको थियो ।

यसबारे थप अनुसन्धानका लागि काउन्सिलले स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्‍यो । मन्त्रालयले काउन्सिलसित समन्वय गरी यसको छानबीनको जिम्मा केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी) लाई दिएको हो ।

सिआईबीले नेपाल मेडिकल काउन्सिल र उच्च माध्यामिक शिक्षा परिषद्सितको समन्वयमा अनुसन्धान अघि बढायो । काउन्सिलसित भएको प्रमाणपत्र सक्कली हो वा हैन भनेर जाँच्ने काम परिषद्ले गर्‍यो ।

त्यसैगरी उपलब्ध भएका प्रमाणपत्र नक्कली ठहर भएमा उनीहरुलाई पक्राउ गर्ने तथा उनीहरुबारे थप अनुसन्धान गर्ने अधिकार प्रहरीमा निहीत हुन्छ । त्यही आधारमा व्युरोले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गर्न ‘क्वाक’ अपरेशन नै सञ्चालन गर्दै आएको छ ।

उक्त अपरेसनमार्फत व्युरोले ६ महिनाको अन्तरालमा ५० जना भन्दा बढी नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई पक्राउ गरिसकेको छ । उनीहरु हाल अनुसन्धानको दायरामा छन् भने उनीहरुको मुद्दामा अदालतमा छ ।

अन्य नक्कली प्रमाणपत्रधारीलाई कारवाही गर्न काउन्सिललाई थप दवबव सिर्जना भएको छ । पक्राउ परेका तिनै समूहले ‘यस्ता व्यक्ति नेपालमै कति छन्, हामीलाई मात्र किन पक्राउ गरेको ?’ भनेपछि थप अनुसन्धान गर्नु पर्ने आवश्यक्ता महसुस भएको छ । सिआईबी तथा उच्च शिक्षा माध्यामिक परिषदमार्फत यस्ता व्यक्तिहरुको खोजी तथा अनुसन्धान तिव्र गतिमा भइरहेको छ ।

बिहारबाट प्रमाणपत्र लिएका नौ सय

काउन्सिलले अनुसन्धानकै क्रममा विहारबाट प्रमाणपत्र लिएका मात्र नौ सय चिकित्सक फेला पारिसकेको छ । जसमध्ये एक सय नौ जनाको प्रमाणपत्र प्रमाणित हुन बाँकी छ ।

त्यसैगरी नेपालकै त्रिभुवन विश्वविद्यालयबाटै नक्कली प्रमाणपत्र लिएका ३/४ जना डाक्टर फेला पारिसकेको छ । फेला परेका कतिपय डाक्टरमा चिकित्सा विज्ञान सम्बन्धि ज्ञानै छैन ।

कतिपय बाहिर पढ्नै नसकेर नेपाल आएर लाइसेन्स लिएका तथा कति पढ्नै नसकेर बाहिर गएको पनि फेला परेको छ । त्यसैगरी युपी लगायत भारतका अन्य शहर तथा अन्य मुलुकबाट प्रमाणपत्र लिएका डाक्टरको प्रमाणपत्रलाई पनि काउन्सिलले छानबिनको दायरामा राखेको छ ।

हामीले त खाली यस क्षेत्रमा भइरहेका विकृतिलाई सुधार्न खोजेका हौं । सही डाक्टरले सही ठाउँ पाओस् र विरामीले पनि सही डाक्टरबाट उपचार पाओस् भन्ने हाम्रो लक्ष्य हो, काउन्सिल स्रोतले भन्यो । त्यही लक्ष्य प्राप्तिका क्रममा आउँदा दिनमा गल्ती गर्ने डाक्टरले आफैँ आएर गल्ती सुधारे यसले सबैको भलो गर्ने काउन्सिलले बताएको छ ।

सामान्यतया काउन्सिलबाट लाइसेन्स लिएका चिकित्सकहरुले भविष्यमा आफूबाट कुनै कमी कमजोरी भएमा उक्त लाइसन्स खारेजसम्म हुनसक्ने प्रावधानलाई स्वीकार गर्दै एउटा फारममा हस्ताक्षर गरेका हुन्छन् । सोही हस्ताक्षरलाई आधार मानेर कारवाही अगाडी बढाउन सक्ने अधिकार काउन्सिललाई प्राप्त छ ।

LEAVE A REPLY