पक्राउ परेका ३६ नक्कली डाक्टरलाई काठमाडौं जिल्ला अदालत लगियो

269
Loading...

timthumb (1)

नक्कली प्रमाणपत्र पेश गरेर उपचारमा संलग्न रहेका ३६ जना नक्कली डाक्टरलाई प्रहरी काठमाडौं जिल्ला अदालत लगेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले न्यायीक हिरासतमा राख्न अनुमति माग्न जिल्ला अदालत काठमाडौं लगेको ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले बताए।
काठमाडौंबाट समातिएका १५, पोखरा, चितवन, ललितपुर, विराटनगर लगायतका ठाउँबाट समातिएका डाक्टरहरु गरेर ३६ जनालाई अदालत उपस्थित गराएको हो।
पक्राउ परेका डाक्टरहरूले एमबिबिएस अध्ययनको लागि नक्कली प्रमाणपत्र पेश गरेको ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले बताए।
पक्राउ पर्ने ३६ मध्ये ३० जना पुरुष र ६ जना महिला नक्कली डाक्टर छन्।
ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालका अनुसार काठमाडौंबाट सबैभन्दा बढी १३ जना डाक्टर पक्राउ परेका छन्। ‘क्वाक अप्रेशन’ नाम दिएर थालिएको यो अभियानमा वीरगञ्जबाट ९ जना पक्राउ परेका छन्।

सिलवालका अनुसार पाटनबाट २, सुनसरी १, विराटनगर ३, झापा १, जनकपुर २, चितवन ३, पोखरा १ र दाङबाट एक जना डाक्टर पक्राउ परेका छन्।

राजधानी बाहिरबाट पक्राउ परेका सबै डाक्टरलाई ब्युरो ल्याएर अनुसन्धान सुरू गरिएको सिलवालले बताएका छन्।

सिलवालका अनुसार पक्राउ परेका डाक्टरको नक्कली सर्टिफिकेट हो भन्ने प्रशस्तै आधार भेटिएको छ। ‘हामीले त्यतिकै कसैलाई पनि पक्राउ गरेका छैनौं,’ सिलवालले भने।

नेपाल चिकित्सक संघले डाक्टर पक्राउ परेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। उसले छानविन गर्ने विभिन्न निकाय हुँदाहुँदै कार्यक्षेत्रबाट गिरफ्तार गरेर प्रहरीले चिकित्सा पेशाको अपमान गरेको दाबी गरेको छ।

‘चिकित्सा पेशाको अपमान हुनेगरी हामीले कसैलाई गिरफ्तार गरेका छैनौं,’ सिलवालले भने। उनका अनुसार क्वाक अप्रेसनमा डाक्टर पक्राउ गर्ने क्रम जारी रहने छ। प्रहरी त्यस्ता केही डाक्टरको नजिक पुगिसकेको सिलवालले बताए।
यसअघि पनि ब्युरोले १९ जना नक्कली डाक्टरलाई पक्राउ गरेको थियो जसमा १८ जना धरौटी बुझाएर रिहा भएका थिए।

LEAVE A REPLY