प्रचण्डको पहिलो विदेश भ्रमण भारत

242

Prachand-PM

काठमाडौं: नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग चिसिएको सम्बन्ध सुधार्न आफ्नो विदेश भ्रमण गर्ने सूचीमा भारतलाई पहिलो नम्बरमा राखेका छन् । सात वर्षपछि दोस्रोपटक नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका ६१ वर्षीय दाहालले भारतलगत्तै चीन भ्रमण गरेर कूटनीतिक सन्तुलन कायम गराउने योजना बनाएका हुन् । यसअघि प्रधानमन्त्री हुँदा दाहालले पहिलो विदेश भ्रमण चीनबाट गरेका थिए ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिँदै भारत भ्रमणको निमन्त्रणा गरेका छन् । प्रधानमन्त्री पदमा शपथग्रहण गरी पदभार नसमाल्दै मोदीले दाहाललाई दिएको भारतको औपचारिक भ्रमणको निमन्त्रणापत्र केही दिनभित्रै भारतीय राजदूत रन्जित रेले दाहाललाई भेटेर हस्तान्तरण गर्ने स्रोतले बतायो ।
दाहालले बिहीबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएलगत्तै सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् । नेपालमा आवश्यकताको एकतिहाइ पेट्रोलियम पदार्थ चीनबाट ल्याउने समझदारी, चीनसँग गरिएको पारवहन सम्झौता, नेपाल र चीनबीच विद्युत् प्रसारण लाइन निर्माण गर्ने समझदारी, चिनियाँ सहयोगमा केरुङ–काठमाडौं–पोखरा र लुम्बिनीसम्म रेलमार्ग निर्माण गर्ने समझदारीपछि नेपालमा रहँदै आएको भारतको एकाधिकार तोडिन लागेकोप्रति भारतीय अधिकारी नेपाल मामिलामा गम्भीर बन्दै आएका थिए ।
मधेस आन्दोलनलाई आधार बनाएर लगाएको नाकाबन्दीले नेपालमा बढेको भारतविरोधी भावना र चीनको नेपालमा बढेको प्रभावका बारेमा भारतीय राजनीतिक र कूटनीतिक क्षेत्रमा बहस हुँदै आएको थियो । स्रोतका अनुसार नेपालमा बढेको चिनियाँ लगानीले नेपाली राजनीति र प्रशासनिक तहमा दीर्घकालीन रूपमा पर्न सक्ने प्रभावबारे भारतीय कूटनीतिक वृत्तमा गम्भीर छलफल हुने गरेको छ ।
दाहाल प्रधानमन्त्रीमा निर्वाचित नहुँदै पनि भारतीय अधिकारीहरूले पहिलो विदेश भ्रमण भारतबाटै गर्न अनौपचारिक रूपमा निमन्त्रणा दिँदै आएका थिए । दाहालले पनि आफूले पहिलो विदेश भ्रमण भारतबाटै गर्ने आश्वासन उनीहरूलाई दिँदै आएका छन् । केही दिनअघि आफू निकटका नेता र विज्ञहरूसँगको छलफलमा दाहालले आफूलाई प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाटै गर्न निम्ता आइरहेको बताएका थिए ।
स्रोतका अनुसार आन्तरिक छलफलमा दाहालले पहिलो विदेश भ्रमण भारतबाट गरेर कूटनीतिक सन्तुलन कायम गर्नुपर्ने धारणा राख्दै आएका छन् । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार विघटन र दाहाल नेतृत्वमा नयाँ सरकार गठन गर्नमा माओवादी केन्द्रका तर्फबाट अग्रणी भूमिका निर्वाह गरेका कृष्णबहादुर महरा र वर्षमान पुनले पनि दाहाललाई पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने सुझाव दिएका छन् । ‘उहाँले पहिलो विदेश भ्रमण भारतबाटै गर्नु हुन्छ,’ दाहाल निकट एक नेताले भने ।
भारतीय प्रधानमन्त्री मोदीले दाहाललाई पूर्ण सहयोग रहने टेलिफोनबाट जानकारी गराए पनि भारत र दाहालबीचको सम्बन्ध त्यति ‘सुमधुर’ नरहेको स्रोतको दाबी छ । स्रोतका अनुसार भारतीय बुझाइमा दाहाल ‘नेपालका अविश्वसनीय र अस्थिर नेता’ हुन् । दाहालले बुधबार व्यवस्थापिका संसद्मा आफूलाई विरोधीहरूले अस्थिर नेताका रूपमा आलोचना गर्ने गरेको पनि बताएका थिए ।
२०६६ साल वैशाखमा प्रधानमन्त्री पदबाट राजीनामा दिँदा भारतप्रति लक्षित गरी दाहालले ‘विदेशी प्रभुसँग नझुक्ने’ बताएका थिए । भारतसँग कूटनीतिक रूपमा चिसो सम्बन्ध बनाएर प्रधानमन्त्री पदबाट बाहिरिएका दाहालले भारतसँग ‘न्यानो सम्बन्ध’ बनाएर नै प्रधानमन्त्रीमा निर्वाचित भएको विश्लेषण एमाले वृत्तबाट भइरहेको छ । स्रोतका अनुसार दाहाललाई ‘अस्थिर र अविश्वसनीय नेता’ का रूपमा चित्रण गर्नेमा चीन र अमेरिकासहित पश्चिमा राष्ट्रका कूटनीतिज्ञ पनि छन् ।

चिनियाँ राजदूत ऊ चुन्ताईले फूलको गुच्छा लिएर लाजिम्पाटस्थित दाहाल निवास पुगेर बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री निर्वाचित भएपछि दाहाललाई भेटेर बधाई दिने पहिलो कूटनीतिज्ञ चिनियाँ राजदूत हुन् । ऊ दाहाल परिवारसँग फोटो खिचेर हिँडेका थिए । दाहाललाई पहिलो विदेश भ्रमण चीनबाट गर्न उनका सहयोगीले सल्लाह दिएका छन् ।
ओली प्रधानमन्त्री रहेका बेलामा पनि दाहाललाई चीन भ्रमण गराउने चिनियाँ अधिकारीहरूले प्रयास गरेका थिए । स्रोतका अनुसार ओली नेतृत्वको सरकारले आफूहरूसँग गरेका समझदारी, सहमति र सम्झौतालाई नयाँ सरकारले कसरी ग्रहण गर्नेछ भन्नेमा चिनियाँ कूटनीतिज्ञले सूक्ष्म रूपमा केही समय नियाल्नेछन् ।
आफूलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई संसद्मा निर्णयार्थ प्रस्तुत गर्नुअघि दाहालले नेपालको हितमा भारत र चीनसँग भएका सन्धिसम्झौता लागू गर्ने बताए । केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि वैदेशिक सहायता आवश्यक हुने, त्यो सहायता ऋण वा अनुदान कस्तो हुने भन्ने बारेमा छलफल गर्नुपर्ने, फास्ट ट्र्याक र हुलाकी मार्ग पनि निर्माण गरिने बताउँदै ओलीलाई लक्षित गरी दाहालले भने, ‘त्यसका लागि तपाईंको पनि साथ चाहिन्छ ।’
आफू पहिलोपटक प्रधानमन्त्री भएर चीनमा भएको ओलम्पिक खेलको समापन समारोहमा जाँदा त्यहाँका प्रधानमन्त्री, राष्ट्रपति र नेताहरूसँगको छलफलमा नेपाल, चीन र भारतबीच रणनीतिक साझेदारी विकास गरेर अगाडि बढ्नुपर्ने प्रस्ताव अगाडि बढाएको स्मरण गराउँदै दाहालले त्यसका लागि रेल र सडक सञ्जालबाट जोड्नुपर्ने धारणा व्यक्त गरे । ‘मैले त्यतिबेला नै नेपालको रणनीतिक महत्त्व स्थापित गर्न भूमिका खेलेको छु । ती परियोजनालाई कुन स्रोतबाट कसरी पैसा जुटाएर अगाडि बढाउने हो ? जनता र राष्ट्रको हितका काममा निरन्तर अगाडि बढाइनेछ,’ दाहालले भने ।
ओलीप्रति लक्षित गर्दै दाहालले भने, ‘तपाईंले देखाएका स्रोतबाट विकास निर्माण गरिनेछ । मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय र आन्तरिक स्रोतबाट जुटाइनेछ ।’ आफू अस्थिर भएकै कारण एमाले नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र केपी ओलीलाई प्रधानमन्त्री बनाएको, सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याएको र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएको उल्लेख गर्दै दाहालले भने, ‘त्यही अस्थिरताले कहिले धेरै फाइदा पुर्‌याएको छ । म राष्ट्र र जनताको हितमा लडिराख्छु ।’
दाहाललाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले भारत र चीनसँग राम्रो सम्बन्ध राख्नु नेपालको राष्ट्रिय हितमा हुने बताए । ‘साथी बदल्न सकिन्छ तर छिमेकी बदल्न सकिँदैन । हामीले दुईवटा ठूला राष्ट्रको बीचमा खेल्नु हुँदैन,’ देउवाले भने, ‘सन्तुलित विदेश नीति बनाएर अगाडि बढनुपर्छ ।’ देउवाले संविधान सर्वस्वीकार्य बनाएमात्रै कार्यान्वयन हुने, शान्ति प्रक्रिया निष्कर्षमा पुर्‌याएर मात्रै स्थायी शान्ति ल्याउन सकिने, शान्ति र स्थिरताले आर्थिक विकास हुने धारणा व्यक्त गरे ।

LEAVE A REPLY