प्रचण्डको पाँचौं महाभूल !

1598
Loading...

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिखेर अत्यन्त अस्थिर देखिन्छन् । उनी यति उद्वेलित देखिएका छन् कि कतिखेर के गर्ने भन्ने नै ठम्याउन सकिरहेका छैनन् । यसै साताको सुरुमा उनी वीरगन्ज गए । राष्ट्रपति विद्या भण्डारी गएर उद्घाटन गरेको योग शिविरमा प्रधानमन्त्री प्रचण्ड किन गएका होलान् ? त्यसको सन्देश देश/विदेशमा के जान्छ ? न उनलाई यसबारे पर्वाह भएको देखियो न त उनका सल्लाहकार तथा पार्टी नेतृत्वले नै भेउ पाए ।

त्यसमाथि नांगा स्वामी रामदेवसँग सुट, टाई, कालोटोपी लगाएर र गम्छा काँधमा भिरेर पलेंटी कसेर दायाँ नाकको प्वाल बन्द गरेर बायाँ प्वालबाट स्वाँफ्वाँ गरेको देखियो । अहिले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल बनेको छ यो तस्बिर । सोमबार काठमाडौं विश्वविद्यालयपरिसर धुलिखेलमा पनि त्यस्तै हर्कत दोहोर्‌याए । त्यहाँ आयोजित दीक्षान्त समारोहमा चान्सलरको हैसियतमा उनी कार्यक्रममा सहभागी त भए तर कार्यक्रम नै नसकीकन हतारहतार महत्त्वपूर्ण काम छ भन्दै फर्किए । उनलाई हतार हुँदो हो त समयमै कार्यक्रम सकेर उनी फर्कन सक्थे किनभने दस बजे कार्यक्रममा उपस्थित गराइएका विद्यार्थी र तिनका अभिभावक घन्टौं प्रचण्डलाई कुरेर बस्न बाध्य बनाइएको थियो ।

यी दुई प्रचण्ड रन्थनिइरहेका उदाहरण मात्र हुन् । उनका गतिविधिलाई मिहिन रूपमा केलाउने हो भने उनको छटपटी जतासुकै र जहिलेसुकै देखिनेछ । के गरौं, कसो गरौं ? कसरी अगाडि बढौं ? के निकास दिऊँ ? कुन बाटो हिँडौं ? के गरेर आफ्नो साख जोगाऔँ ? प्रचण्ड यही रफुचक्करमा रिँगिरहेका छन् । जसरी एउटा लक्ष लिएर हिँडेको डुंगालाई आँधीबेहरीले अन्यत्रै पुर्‌याइदिन थाल्यो भने त्यसको चालक नाभिक रनभुल्लमा पर्छ सायद प्रचण्डलाई त्यस्तै भएको छ ।

आँधीले अन्यत्रै पुर्‌याइरहँदा नाभिक जसरी डुंगा समातेर हल्लिरहेको हुन्छ, प्रचण्ड त्यस्तै निरिह बनेर देश चलाइरहेका त छैनन् ? प्रचण्डको अवस्था ठ्याक्कै नाभिकको जस्तो पनि देखिँदैन, किनभने उनी जानाजान देशरूपी डुँगालाई भुमरीमा पुर्‌याउने असफल चालक सावित हुँदैछन् ।

सत्ताको चाहनाले प्रचण्डलाई कहाँ पुर्‌यायो, पुर्‌यायो ? कहाँ जान हिँडेका प्रचण्ड कहाँ पुगे ? यसको चेतसमेत उनमा हराएजस्तो पो देखिन थाल्यो, एक विश्लेषकले भने । उनले आफैंसँग प्रश्न गरे, के प्रचण्डको सारतत्व नै बिलाइसकेको हो ? नबिलाउँदो हो त राजनेता बन्न खोजेको आफ्नो छविलाई उनले आफ्नै भूल र गलत कदमका कारण यसरी मटियामेट पार्न नलाग्नुपर्ने हो !

हुन पनि प्रचण्ड राजनेता हुँदा हुन् त उनका निर्णय पनि राजनेताका जस्तै आमजनतालाई प्रभाव पार्ने, बाटो देखाउने, अगुवाइ गर्दै सबैलाई हिँडाउने हुनुपर्ने थियो । जिम्मेवारी, सौम्यता हुनुपर्ने नेता शून्यबराबरका देखिँदैछन् । एकपछि अर्को भूल दोहोर्‌याइरहेछन् । पाँचौं प्रदेशको नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियालाई बेग्लै राज्य बनाउने र पहाडका पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुमको पूर्वी भाग, रोल्पा र प्युठानलाई प्रदेश नम्बर चारमा हालिदिने बहुलठीपूर्ण प्रदेश विखण्डनको विवादास्पद मस्यौदा लिएर देखा पर्ने थिएनन् ।

जुन संविधान कार्यान्वयन नै हुन पाएको छैन, त्यो संशोधनको तुक के ? ठीक छ, कार्यान्वयनका क्रममा संविधान संशोधन गर्नुपर्ने अवस्था आयो भने गर्नु पनि पर्छ । संविधान संशोधन नै गर्नु हुन्न भन्ने होइन । तर कार्यान्वयन नै हुन नपाएको संविधान संशोधन गर्न खोज्नुको अर्थ लगाउँदै नलगाएको जुत्ताले खुट्टा दुखाउँछ भने जस्तो भएन र ?

प्रचण्ड पाँचौं प्रदेशको भूल सच्याउने भनेर महाभूल गर्दैछन् । यसले उनी कहाँ गएर पछारिने हुन्, ठाउँ भन्न नसके पनि उनी नारायणहरि बन्ने पक्का छ तर उनले आफूसँगै सारा देशलाई लठिबज्र बनाएर गणतन्त्र, समावेशी र संघीयताको उपलब्धिलाई पनि खाल्डामा लगेर जाक्ने तरखरमा देखिन्छन् । सबैलाई चेतना होस्, यतिखेर मुलुक, दलहरूसँगै प्रचण्डलाई पनि जोगाउन जरुरी छ । प्रचण्ड र उनका हनुमानहरुको चेत खुलोस्, प्रचण्डले सही मार्ग समाते भने उनको उपयोगिता अझै यो मुलुकमा हुन सक्छ कि ? त्यसैले पाँचौं प्रदेशको बेतुक कदमबाट उनी मुक्त हुन र उनका सहयोगीले उनलाई मुक्त पार्न सहयोग पुर्‌याउनु नै उनीहरूको देशभक्ति र अझ प्रचण्डको सच्चा भक्ति हुन सक्छ !

एक समय थियो, कांग्रेसमा शैलजा आचार्य र चक्र बास्तोलालाई भारतको राजदूत बनाउने, एमालेमा सुशीलचन्द्र अमात्यलाई सांसदको पगरी झिकेर राजदूत बनाउने, प्रधानमन्त्रीका भाइ र ज्वाइँलाई वाणिज्य दूत बनाउने, फलानालाई डाइरेक्टर, फलानालाई योजना आयोगको उपाध्यक्ष बनाउने, राम्रो आयस्रोत हुने अड्डामा फलानाको छोरा÷छोरीलाई पठाउने जस्ता पारिवारिक, आर्थिक लाभका लागि बचकना निर्णय लिएर सिंगो राजनीतिक शक्ति, पद्धति र प्रणालीमै विश्वास गुम्ने खालका काम गरेजस्तै प्रचण्ड पनि पाँचौं प्रदेश टुक्र्याउने कुरा लिएर आएका छन्, जो समय सान्दर्भिक छैन ।

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने हो भने कांग्रेस, एमाले र माओवादी तीन दल मिलेर राष्ट्रिय चुनावी सरकार बनाएर अगाडि बढ्नुको विकल्प छैन ।

यो विभाजन र गाभ्ने कुराले गम्भीर अवस्था उत्पन्न हुने देखिँदैछ । कांग्रेस र एमाले मात्र होइन, स्वयं मधेसी पनि संशोधनसँग सहमत देखिएका छैनन् । तर प्रचण्ड कन्दनी कसेर यसैमा लागेका छन् । माओवादी पार्टीभित्र पनि यसको विरोध सुरु भइसकेको छ । त्यसो भए प्रचण्ड कसको रणनीतिक योजनामा यता लागेका होलान् ? एकपछि अर्को गर्दै प्रचण्ड पाँचौं भुलको भुलभुलैयामा परिरहेका छन् ।

प्रचण्डका पाँच महाभूल

पहिलो भूल- गिरिजाप्रसाद कोइराला जसले प्रचण्डलाई हात दिएर लोकतान्त्रिक दुनियाँमा तानेनन् मात्र, उनले प्रचण्डलाई टेको पनि दिएर ०६२/६३ को जनआन्दोलन पार लगाए । गणतन्त्र नेपाल घोषणा भयो । खासमा गणतन्त्र ल्याउने टेको बनेकै हुन्, गिरिजाप्रसाद । तर प्रचण्डले उनलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्न दिएनन्, धोका दिए । गिरिजाप्रसादलाई पहिलो राष्ट्रपति बनाएको भए, नेपाली गणतन्त्र यतिबेलासम्म न बरालिन पाउँथ्यो न त देश र जनताले सकस नै पाउनुपथ्र्यो । बेलैमा गणतन्त्र संस्थागत पनि हुने थियो ।

प्रचण्डको यो पहिलो भूल थियो र यसलाई सच्याउन चाहेर पनि अब सकिँदैन । राजनीतिक भूलहरू यस्तै हुन्छन् । जसरी बगेर गएको वस्तुले भँगालो पार गरेपछि फेरि त्यो माथि आउन सक्दैन किनभने त्यसले अर्कै गति र स्वरूप लिइसकेको हुन्छ । त्यसले एक अवस्थितिबाट अर्को रूप लिइसकेको हुन्छ । कुखुराको फुलबाट चल्ला निस्किसकेपछि त्यसलाई जसरी अन्डाभित्र हाल्न सकिँदैन राजनीतिमा पनि राजनीतिज्ञले ख्याल गर्नैपर्ने र चुक्न नहुने यस्तैमा हो ।

दोस्रो भूल- प्रचण्डको दोस्रो महाभूल हो, कटवाल प्रकरण । तीन महिना पनि समयावधि बाँकी नरहेको सेना प्रमुख (सेना भनेको राज्यको मेरुदण्ड नै हो) लाई खण्डित गरे प्रचण्डले । सेनालाई व्यावसायिक रूपमा चल्न दिइएन भने त्यसले धेरै कुरालाई अपांग गराउने सामथ्र्य राख्छ । राख्यो पनि ।

एक राजनीतिशास्त्रका प्राध्यापकले भने, नेपाली सेना न भारत न त चीनसँग युद्ध लड्न बनाइएको हो । यो त अखण्ड, स्वतन्त्र, सार्वभौम र स्वाधीन नेपाली भूमिको रक्षा र जनताको सुरक्षाको अनुभूति दिने संयन्त्र हो । बर्सेनि अर्बौं रुपैयाँ खर्चेर ब्यारेकमा राखेर व्यावसायिक तालिमदेखि स्कुल, अस्पताल, बाटो खन्नेदेखि पेट्रोलपम्प चलाउनेसम्म, विद्युत् गृह रक्षादेखि टेलिफोनका टावर सुरक्षा गर्नेसमेतको जिम्मेवारीमा सेना परिचालन गरिएको छ । तर यस्तो सेनालाई हठात हस्तक्षेप गरी बच्कनापन देखाए प्रचण्डले । यो उनको दोस्रो महाभूल थियो । यसैको कारण राजीनामा गरेर प्रचण्ड सत्ताच्युत हुन पुगे ।

यही घटनामा उनले पाएको सत्ता फर्कनै नसक्ने गरी गुम्यो । त्यही भूलका कारण माओवादी पार्टी फुटेर पाँच टुक्रा भयो । प्रचण्डले प्राप्त गरेको साख भविष्यमा नफर्किने गरी गुम्दै गयो । कद घट्दै गयो । प्रचण्ड यति बाउन्ने बने कि शेरबहादुर देउवाको वैशाखीमा चढेर उनले आफ्नो विगतको उचाइ कायम गरेर अग्लो देखिने उद्योगमा लागे । जबकि यसअघि ओलीको काँधमा बसेकाले टावरिङ बनेका थिए प्रचण्ड । उनले त्यतिबेलै मुख खोलेर गिरिजाप्रसादपछिको सर्वमान्य मै हुँ भन्न पाएका थिए ।

तर यो सबै ओलीले काँध थापिदिएको कारण थियो । शेरबहादुरले बूढानीलकण्ठबाट उत्तिसको वैशाखी देखाएका के थिए, प्रचण्ड धेरै अग्लो हुन्छु भनेर त्यतैतिर लहसिए । यसले गर्दा प्रचण्ड पिँध नभएको लोटाको अवस्थामा आइपुगेका छन् । एक व्यंग्य चित्रकारले त कार्टुन नै बनाए, शेरबहादुरले प्रचण्डलाई पगाहा लगाएको !

तेस्रो भूल- दोस्रो संविधानसभा चुनावको मतपरिणाम आइनसक्दै प्रचण्डले पेरिसडाँडामा बाबुराम भट्टराईलाई साक्षी राखेर जनअभिमतको धज्जी उडाएर तेस्रो भूल गरे । चुनावमा धाँधली भयो भने । त्यसैले हामीले हार्‌यौं अब चुनाव बहिष्कार गर्छौं भन्दै मतगणनास्थल बहिष्कार गर्ने बौलठी देखाए । यसको कारण जनताबीच प्रचण्डको केही प्रभाव रहेनछ र चुनाव गर्ने हो भने प्रचण्डका उम्मेदवार हार्छन् भन्ने प्रभाव देशव्यापी रूपमा पर्‌यो ।

यो राजनेताले गर्नै नहुने गल्ती हो । यस्तो गल्ती गर्ने राजनेताले आफ्नो अस्तित्व मात्र गुमाउँदैन । उप्रति आम जनतामा रहेको सम्मान ह्रास भइ शून्यमा झर्न पुग्छ ।

चौथो भूल- प्रचण्डको चौथो भूल केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनु हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पार्टीलाई ओलीले सरकारमा सहभागी मात्र बनाएका थिएनन्, स्वयं प्रचण्डलाई राजनीतिक संयन्त्रको संयोजक पनि बनाएका थिए । सरकार र पार्टीहरूका हरेक निर्णयमा प्रचण्डको सहमति लिएर मात्र अगाडि बढ्ने गरेका पनि थिए । कतिपय सन्दर्भमा त आफूलाई अप्रिय र नाफा–नोक्सानको भाषामा आफ्नै पार्टीलाई नोक्सान पुर्‌याउने निर्णय गरे भनेर ओलीले आफ्नै पार्टीको आलोचना खेप्नुसमेत पर्‌यो । ओलीको शासनकालमा प्रचण्डले कतिसम्म छुट पाएका थिए भने प्रधानमन्त्रीका दलभन्दा उपप्रधानमन्त्रीदेखि आकर्षक मन्त्रालय प्रचण्डकै रोजाइमा परेका थिए ।

प्रचण्डले ओली सरकारलाई आफ्नो अविश्वास नजनाउँदासम्म सबैभन्दा धेरै ओलीका सल्लाहकारको रूपमा ओलीसँग समय व्यतीत प्रचण्डले नै गरेका थिए ।

कतिपय प्रसंगमा ‘एजेन्डा ओलीको, निर्णय प्रचण्डको’ भनेर पनि टीकाटिप्पणी हुने गथ्र्यो । भारतीय नाकाबन्दीका बेला यी दुई एक ठाउँमा रहे भने भनिन्थ्यो, मुलुकको स्वाभिमान र राष्ट्रियता अझ बलियो हुन सक्छ र परचक्री तथा आत्मघातीहरूबाट मुलुकलाई जोगाउन सकिन्छ । जस्तै कष्ट पनि सहन जनता तयार छन् भन्ने सञ्चार भएको थियो ।

राजनीतिक वृत्तमा त यतिसम्म हल्ला चल्यो कि एमाले र माओवादी एकीकरण गरेर केपी ओलीले प्रचण्डलाई आफ्नो उत्तराधिकारी बनाउँदैछन् भन्ने जनमत वामपन्थी र नेपाली कम्युनिस्ट कित्तामा एउटा तरंग नै सिर्जना भएको थियो । अब प्रगतिशील—वामपन्थीको एउटा पार्टी र अर्को कांग्रेस पार्टीको दुईदलीय धु्रवीकरणमा नेपाल जान लागेको परिदृश्यहरूको प्रक्षेपण विश्लेषक गर्न थालेका थिए । त्यसपछि देशमा भ्यागुताको धार्नी, मुसा प्रवृत्ति र सांसद खरिदबिक्री प्रकरण सदाको लागि अन्त्य हुन्छ भन्ने विश्वास जागृत हुँदै थियो । तर यी सबै सम्भावनालाई प्रचण्डको ओली सरकारबाट माओवादी छुट्टिने निर्णयले जबर्जस्त घात गर्‌यो ।

पाँचौं भूल- पाँचौं प्रदेशलाई खण्डित गर्ने प्रचण्डको प्रस्ताव र संविधान संशोधनको नाउँमा मुलुकलाई नै एकत्रित हुन नदिने अभियानमा लागे । एजेन्डाको मतियार पनि बने, हतियार पनि बने ! उनको पछिल्लो कार्यले आपसी किचलोबाट तंग्रिन लागेको देशलाई फेरि थुप्रै असन्तुष्टिको दलदलतिर लैजान खोजेको देखिँदै छ । प्रचण्डको यो महाभूलप्रति उनकै पार्टीका जेन्युइन नेता तथा कार्यकर्ता सहमत छैनन् । उनीहरू प्रचण्डसँग विमति राख्दै प्रस्तुत भइरहेछन् ।

जसको लागि प्रचण्ड पाँचौं प्रदेश टुक्र्याउने कदम उठाए, यसलाई तिनीहरू पनि जो आफूलाई ‘लाभग्राही’ सम्झन्छन्, यसकार्यमा सहमत छैनन् । कसको रणनीतिक लाभको लागि प्रचण्ड पाँचौं प्रदेशमा मधेस र पहाड छुट्ट्याउँदैछन् ? अब के गर्ने ?

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने हो भने कांग्रेस, एमाले र माओवादी तीन दल मिलेर राष्ट्रिय चुनावी सरकार बनाएर अगाडि बढ्नुको विकल्प छैन । ०७२ असोज ३ गत कांग्रेस सभापति सुशील कोइराला, एमालेका अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष प्रचण्ड एक भएर नेपालको संबिधान जारी गर्दै देशलाई अस्थिरता, अन्योल र आशंकाको भ्रामरीबाट त्राण दिएर एकता प्रदर्शन गरेका थिए ।

अब त्यसैगरी तीनै दल र त्यसका नेताहरू केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड मिलेर राष्ट्रिय सरकार बनाएर चुनाव घोषणा गर्नुपर्छ र मुलुकलाई चुनावमय बनाउन लाग्नुपर्छ । यसको लागि पहिलो स्थानीय चुनाव, दोस्रो प्रादेशिक र तेस्रो संसदीय चुनावको घोषणा अविलम्ब हुनुपर्छ ।

LEAVE A REPLY