फेरि सशस्त्र युद्ध गर्ने वैद्यको तयारी

214
Loading...

Baidhya

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पुनः सशस्त्र विद्रोहमार्फत राज्यसत्ता कब्जा गर्ने रणनीति अघि सारेको छ । तत्कालीन नेकपा माओवादीका नाममा १० वर्षसम्म सशस्त्र युद्ध लडेका वैद्यले माओवादी आन्दोलन, जनवादी क्रान्ति पूरा नभएकोे निष्कर्षका साथ आफनो पार्टी फौजी कार्यदिशाका साथ अघि बढने योजना तय गरेका छन । महासचिव रामबहादुर थापासहित ठूलो समूहले एकीकृत नेकपा माओवादीसँग एकीकृत भई नेकपा माओवादी केन्द्र गठन गरेपछि राष्ट्रिय सम्लेनमा होमिएको क्रान्तिकारी माओवादीले सशस्त्र जनविद्रोहको कार्यदिशामा अघि बढनेबारे छलफल तीव्र बनाएको छ ।

राजधानीमा जारी पार्टीको राष्ट्रिय सम्मेलनको बन्दसत्रमा अध्यक्ष वैद्यले नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहको कार्यदिशासहितको राजनीतिक प्रतिवेदन पेस गरेका छन । प्रतिवेदनमाथि छलफल जारी रहेको पार्टीले जनाएको छ । बन्दसत्रमा सहभागी एक नेताका अनुसार जनविद्रोह सशस्त्र स्वरूपबाट नै सम्भव हुने भएकाले अबको रणनीति सशस्त्र फौजीमा आधारित हुने बताए ।

अध्यक्ष वैद्यले जनवादी कार्यदिशा सम्पन्न गर्न फौजी रणनीति अघि सारे पनि पार्टीभित्रै ठूलो संख्यामा नेता तथा कार्यकर्ताले भने विश्वास गर्न नसकेको बताइन्छ । क्रान्तिकारी माओवादी नेता हरिभक्त कँडेलले जनविद्रोहको तयारी तथा फर्म कस्तो हुने भनेर बन्दसत्रमा छलफल भइरहेको बताए ।

मंगलबारको बन्दसत्रमा अध्यक्ष वैद्यले यसअघि एमाओवादी विभाजन हुँदा राजधानीको कमलादीमा आयोजित सातौं महाधिवेशनको कार्यदिशाभन्दा पनि केही अघि बढेर फौजी रणनीतिलाई अघि सारेका हुन् । सातौं महाधिवेशनमा जनयुद्धको जगमा जनविद्रोह भनिएको थियो भने अहिलेजस्तो सशस्त्र र फौजी स्वरूप खुलाइएको थिएन ।

क्रान्तिकारी माओवादी प्रवक्ता तथा निवर्तमान उपाध्यक्ष सीपी गजुरेलले जनवादी कार्यदिशा हासिल गर्न सांगठनिक स्वरूप फौजी अपनाएर जान सकिने बताए । ‘कार्यदिशालाई ठोस पारेर जानुपर्छ भन्ने छ,’ गजुरेलले राजधानीसँग भने, जनवादी कार्यदिशालाई हासिल गर्न फौजी स्वरूपहरू अपनाएर जान सकिन्छ, कसरी जाने भन्ने छलफल भइरहेको छ ।

क्रान्तिकारी माओवादीबाट नै विभाजन भएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पनि सशस्त्र क्रान्तिलाई कार्यदिशाका रूपमा अघि सार्दै आएको छ । वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले चन्द नेतृत्वको माओवादीको कार्यदिशालाई माक्र्सवाद र माओवादमा आधारित नै नभएको दाबी गर्दै आएको छ ।

‘विप्लव (चन्द) को कार्यदिशा नै छैन, एकीकृत क्रान्तिको कार्यदिशा भन्नुभएको छ, यो के हो ? उहाँलाई नै थाहा छैन, यो त माओवाद, माक्र्सवाद नै होइन,’ क्रान्तिकारी माओवादी नेता हरिभक्त कँडेलले राजधानीसँग भने । बन्दसत्रमा अध्यक्ष वैद्यले २१ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन् । प्रवक्ता गजुरेलले नवसंशोधनवादीको भण्डाफोर गर्ने र नेकपा माओवादी केन्द्रसँग एकताको एजेन्डा नै खारेज गरेर अघि

बढ्ने बताए । फागुनमा महाधिवेशन गरेर कार्यदिशालाई थप स्पष्ट पार्दै जाने जनाएको माओवादीले बन्दसत्रमा ठूलो सांगठनिक हेरफेर नगर्ने जनाएको छ । आवश्यक परेको खण्डमा केन्द्रीय समिति बैठकले सांगठनिक हेरफेर गर्ने माओवादीको भनाइ छ । बैठकमा २० वटा समूहमा विभाजन गरेर राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

LEAVE A REPLY