बालुवाटारबाट सांसदलाई दाम चढाउ अभियान

911
Loading...

वरिष्ठ चिकित्सक गोविन्द केसीको मागमा सांसद चुप बसेको भन्दै केसी समर्थकले सांसदलाई दाम चढाउ अभियान सुरू गरेका छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्न गएका दर्जनौं समर्थकले सांसदलाई भेटी चढाउ अभियान सुरू गरेका हुन्। उनीहरुले बालुवाटारअगाडि एक घन्टा धर्ना दिएका हुन्।

सोलिडारिटी फर गोविन्द केसी अलाइन्सका सदस्य तथा केसी आन्दोलनमा निरन्तर सहयोगी बन्दै आएका डा. जीवन क्षेत्रीका अनुसार स्वस्फूर्त भेला भएका चिकित्सक, विद्यार्थी तथा सर्वसाधारणले सांसदलाई तलब-भत्ताका लागि सहयोग होस् भनेर भेटी संकलन गरेको बताए।

केसीका मागमा चुप लागेर बसेको भन्दै अहिले सांसदहरूको आलोचना भइरहेको छ। ‘सांसदलाई आलोचनात्मक रुपले दाम दिनका लागि भेटी संकलन गरिएको हो,’ क्षेत्रीले भने, ‘संकलन भएको भेटी लगेर सभामुखलाई बुझाइन्छ।’ समर्थकले पाँच र दस रुपैयाँका नोट संकलन गरेर थुपारेका थिए।

चिकित्सा नीति संसदको यही अधिवेशनबाट पारित हुनुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने, चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा वरिष्ठताका आधारमा डिन नियुक्ति गर्नुपर्नेलगायत माग राखी डा. केसी ९ दिनदेखि टिचिङ अस्पतालमा अनसनरत् छन्। उनका माग पूरा गर्न सरकारले अहिलेसम्म पहल नगरेको भन्दै समर्थकले सरकारविरुद्ध नाराबाजी गरेका थिए।

बालुवाटारमा प्रदर्शनका क्रममा समर्थकले एक युवालाई सांसदको नमूना बनाएर एक हजार रुपैयाँका नोटको माला लगाएर व्यंग्य गरेका थिए।

LEAVE A REPLY